default_image

2 years ago

July 12, 2022

सेटर अभावमा जम्दो प्रगतिको प्रभाव

भुपेन्द्र जिसी, काठमाडौं अभावको समयमा सानो योगदानले पनि धेरै प्रभाव छाड्छ । अभावले नै नयाँ विकल्प खोज्न बाध्य पार्छ । र कहिलेकाहिँ अभावले निम्त्याएको विकल्प नै दीर्घकालीन समाधान बन्छ । नेपालको महिला भलिबलमा पनि पछिल्लो समय यस्तै उदाहरण अघि आएको छ । महिला भलिबलमा एकपछि अर्को युवा प्रतिभा उत्पादन गरिरहेको न्यु डायमन्डकी सेटर प्रगति नाथको […]

233 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

अभावको समयमा सानो योगदानले पनि धेरै प्रभाव छाड्छ । अभावले नै नयाँ विकल्प खोज्न बाध्य पार्छ । र कहिलेकाहिँ अभावले निम्त्याएको विकल्प नै दीर्घकालीन समाधान बन्छ । नेपालको महिला भलिबलमा पनि पछिल्लो समय यस्तै उदाहरण अघि आएको छ । महिला भलिबलमा एकपछि अर्को युवा प्रतिभा उत्पादन गरिरहेको न्यु डायमन्डकी सेटर प्रगति नाथको रुपमा ।

उमेरले मात्र १७ वर्ष पुगेकी प्रगतिले छोटो समयमा आफूलाई क्लबको नयाँ भूमिकामा स्थापित मात्र गरिनन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमै स्थान बनाउन सफल भएकी छिन् । यसैपनि न्यु डायमन्ड र नेपाली भलिबलको अन्योन्याश्रित सम्बन्ध छ । उक्त सम्बन्धको नयाँ कडीको रुपमा प्रगतिको उदय भएको छ । यसमा सबैभन्दा महत्त्वपूर्ण भूमिका सदाबहार प्रशिक्षक कुमार राईको नै छ ।

नेपाली महिला भलिबलमा राईलाई सर्वाधिक मिहिनेती र सफल प्रशिक्षकको उपमा दिँदा सायदै दुइमत होला । राईको योगदान विना नेपाली महिला भलिबल यो अवस्थामा सायदै आइपुग्ने थियो । विगत एक दशकयता नेपाली महिला भलिबलमा सफलताका विभिन्न अध्याय लेखेको न्यू डायमण्डका मुख्य प्रशिक्षक राईले आफ्नो प्रशिक्षणमा नेपाली महिला भलिबललाई तीन दर्जन भन्दा बढी खेलाडी दिएका छन् । राष्ट्रिय टोलीबाट खेल्ने खेलाडी नै आधा दर्जन पुगिसके । हालसम्म बन्द प्रशिक्षणमा मात्र त दर्जन बढी । त्यसैले पनि जो कोही खेलाडी राईसँग प्रशिक्षण लिन चाहन्छन् ।

नेपाली महिला भलिबल टोलीकी स्टार प्रतिभा माली, रेश्मा भण्डारी, रमिला तण्डुकार, कृपा अधिकारी, सलिना श्रेठ, झरना श्रेष्ठ, ललिता नाथ लगायतका थुप्रै खेलाडी राईकै प्रशिक्षणमा अघि बढेका हुन् । यस सुचिमा घरेलु भलिबलमा न्यु डायमन्डबाट खेल्दै आएका वाल्मिका आचार्य, रिमा कुँवर, पनामिका राई, एन्जिला प्रधान लगायत खेलाडी पनि छन् ।

प्रगतिले पछिल्लो समय सेटर भूमिकामा सानदार प्रदर्शन गर्दै सिनियर टोलीमा स्थान नै बनाउन सफल भइन् । प्रगतिको उच्च प्रदर्शनमा न्यु डायमण्डले यस वर्ष झापा र चितवनमा दुई ठूला प्रतियोगिता जित्यो । यसै महिना प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगितामा प्रगति प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिइन् । १९ औं एसियाडको लागि पहिलो पटक सिनियर टोलीको बन्द प्रशिक्षणमा परेकी प्रगति न्यू डायमण्डकी पहिलो रोजाइमा लगातार खेल्ने भइसकेकी छिन् ।

तीन वर्षअघि रुकुम पश्चिममा प्रशिक्षण दिन गएको बेला कुमारले प्रगतिको शारीरिक उचाइबाट प्रभावित हुँदै टपक्क टिपेर न्यु डायमण्डमा ल्याएका थिए । नियमित प्रशिक्षणसँगै न्यु डायमन्ड टोलीमा खेलेकी उनले छोटो समयमा नै सिनियर राष्ट्रिय टोलीको ढोका ढक्ढकाएकी छिन् ।

पारिवारिक नाताले प्रगति न्यु डायमण्डकी कप्तान ललिता नाथकी काकाकी छोरी हुन् । २०७६ सालमा प्रशिक्षक राई भलिबल खेलकै प्रशिक्षणको लागि पूर्वी रुकुममा गएका थिए । उनले त्यहाँ प्रशिक्षण सकाए । नवमीको दिन घर फर्किन खोजेपनि सावारी साधन पाएनन् । फुलमालाका साथ बिदाई भएपछि सवारी अभावकै कारण फर्कन नपाउँदा कता कता जाउँ र के गरौं भन्ने भयो । पछि उनले ललिताको घरमा जाने निर्णय लिए । ललिता पनि दशैं मान्न घर गएकी थिइन् ।

ललिता र प्रगतिको घर रुकुम पश्चिमको बाफिकोट गाउँपालिका– लामाचौरमा पर्छ । ललिता साइला दाई र प्रगति कान्छाकी छोरी हुन् । माओवादी जनआन्दोलनको समयमा सर्वाधिक प्रभावित पर्ने जिल्ला मध्यको एक रुकुम भौगोलिक र आर्थिक विकास हिसाबमा धेरै पछि परेको छ । त्यहाँ खेलेर नै जीवन बनाउछु भन्दा धेरैले हाँसोमा उडाउछन् । त्यसमा पनि अझ महिला खेलाडीलाई थप कठिन हुन्छ ।

ललिताको घरमा गएपछि प्रशिक्षक राईले प्रगतिलाई देखे । सुरुमा उचाइ देखेको कारण नै भलिबलमा ल्याउने निर्णय लिएको राई बताउँछन् । ‘मैले प्रगतिलाई देखेपछि यो हाइट (उचाइ) भएको मान्छे । दिदीपनि मसँग प्रशिक्षणमा बसेको छ । तिमीपनि हिँड्नुपर्छ भनें । उनीहरु आर्थिक समस्या यस्तै छ भन्न थाले । अनि आर्थिक समस्या नै नभन । मसँग भएपछि बस्ने खाने चिन्ता भएन भनें । त्यसो भनेपछि उनीहरु तिहार लगत्तै यता आए’, प्रशिक्षक राईले सम्झिए ।

‘त्यसपछि यतै पढ्न पनि थालेकी थिइन् तर लकडाउन भयो । लकडाउनमा उनलाई लक्षित गरेर राम्रो प्रशिक्षण गर्ने अवसर पाइन् । उनी छोटो समयमा राम्रो भएको कारण पनि त्यहि हो’, राईले थपे ।

राईले सुरुवातमा प्रगतिलाई देख्ने समयमा उन्म खासै भलिबलको ज्ञान भने थिएन । ‘मैले सुरुमा देख्दा भलिबल खेल्ने गरेकी थिइनन् । खेलेको जानेको मान्छे होईन । जानेको भए यता आइहाल्थें । किनभने दिदी खेल्छ भन्ने उनलाई थाहा थियो । त्यता तिर स्कुलमा खेलेको बेला जथाभावी बल हान्ने काम त गरेको होला । तर भलिबल कसरी खेल्ने भन्ने कुरा सिकाएको यहाँनै हो,’ राईले भने ।

‘यहाँ होस्टेलमा मेरो छोरीसँगै र छोरिछोरीजसै गरि बसेका छन् । एक किसिमले निशुल्क जस्तै छ’, उनले भने ।

अभावमा प्रभाव जमाएपछि..

प्रगतिलाई सुरुवातमा अलराउन्डरको भूमिकामा खेलाउने राईको सोच थियो । सुरुवात पनि त्यसरी नै भयो । तर २०७८ सालको टाइगर कपअघि न्यु डायमन्डकी नियमित सेटर अरुणा शाहीले आयोजक टाइगर ग्रुपबाट खेल्ने भइन् । क्लबमा दोस्रो सेटर रहेकी प्रतीक्षा गुरुङ पनि उपस्थित नहुँदा राईले प्रगतिलाई सेटर खेलाउने प्रयत्न गरे ।

प्रगतिको फिंगरिङ राम्रो रहेको र उचाइले थप फाइदा हुने देख्दै राईले उनलाई नै दीर्घकालीन रुपमा सेटर खेलाउने मनमनै सोचे । पहिलो प्रतियोगितामा नै राम्रो प्रदर्शन गरेपछि राईले दोमन गरेनन् ।

‘पहिला मैले प्रगतिलाई अलराउण्डर स्पाइकरको रुपमा सोचेको थिए । अनि बीचमा जाँदै जादा सेटरको खाँचो भयो । अनि सेटरमा ल्याएको हो’,राईले सम्झे, ‘हाइट राम्रो थियो । ओभर हेड पास एकदम राम्रो दिने । बेलाबखतमा मिल्यो भने हान्न पनि सक्ने । त्यसैले यहिँ मान्छे फिट हुन्छ भन्ने लाग्यो । पोखरापछि उनकै प्रदर्शनमा झापा र दमकमा उपाधि जित्यौं ।’

राईको लक्ष्य प्रगतिलाई नेपालको नम्बर वान सेटरको रुपमा हेर्ने छ । ‘नेपालको नम्बरबाट सेटर बनाउने मेरो लक्ष्य छ । यो एकै पटक हुने कुरा भने होईन । २-३ वर्षभित्रमा नेपालको अप्रत्याशित क्षमता भएको खेलाडी बनाउने लक्ष्य छ । हेर्दै जाउँ सायद नेपालको सबैभन्दा राम्रो खेलाडी होलान् । उमेर छ । अहिले सम्म नेपालले नदेखेको सेटर बनाउने लक्ष्य छ । नेपालले देखेको भन्दा पुरै फरक बनाउने मेरो लक्ष्य छ’, राईले भने ।

त्यसो त हाल राष्ट्रिय टोलीमा रहेका दुवै सेटर राईकै उत्पादन हुन् । कप्तान अरुणा शाहीले न्यु डायमन्डबाट नै नियमित सेटरको रुपमा खेल्न थालेकी थिइन् । उनले राईकै प्रशिक्षणमा सो भूमिकामा अब्बल भएकी थिइन् । आर्मीकी कप्तान कृपा अधिकारी पनि न्यु डायमन्डमा राईबाट नै भलिबल सिकेकी हुन् । यसकारण राईले गरेको दावी सफल हुनेमा सायदै शंका हुन्छ ।

नेपालमा उपलब्ध सेटरहरु मध्य प्रगति सबैभन्दा बढी उचाइ भएकी खेलाडी हुन् । सेटर अग्लो कदको हुँदा टोलीको आक्रमण मात्र नभएर रक्षात्मक रणनीति बुन्न पनि प्रशिक्षकलाई सहज हुन्छ । नेपालमा अधिकांश टोलीका सेटर छोटो कदको हुँदा ब्लकमा असर पर्ने गरेको तथ्य सर्वविदितै छ । छोटो समयमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेकी प्रगतिसामु आफ्नो खेल सुधार गर्न पर्याप्त समय छ । यसबाहेक आउने दिनमा अझै शारीरिक रुपमा र खेलमा पनि उनले आफ्नो स्तर उकास्ने नै छिन् ।

प्रगति आफैं पनि राष्ट्रिय टोलीमा प्रशिक्षण गर्न पाउँदा खुसी व्यक्त गर्छिन् । ‘राष्ट्रिय टोलीमा प्रशिक्षण राम्रो नै भएको छ । सिनियर दिदीहरुसँग अभ्यास गर्दा आफूले थाहा नपाएको कुरा सिक्न पाएको छु । सिनियर दिदीहरुले साथ सहयोग गर्नु भएको छ’, प्रगतिले पहिलो प्रशिक्षणको अनुभव भनिन् ।

प्रगति आउने दिनमा यसैलाई निरन्तरता दिन चाहेको बताउँछिन् । ‘अहिलेको प्रदर्शन सुधार्दै अघि बढ्ने सोच छ । राष्ट्रिय टोलीबाट खेल्ने सपना त छँदै छ, मिहिनेत गर्न पनि छोड्ने छैन । सिनियर टोलीको प्रशिक्षणले गर्दा खेलमा केही फरकपन पाएको छु’, उनले भनिन् ।

को हुन् प्रगति ?

बुबा वीरजित र आमा खिमकुमारीको कोखबाट २०६२ सालमा भदौ १४ मा पहिलो सन्तानको रुपमा प्रगतिको जन्म भएको हो । उनका दुई भाई र एक बहिनी छन् । बुबा रोजगारको लागि मलेसियामा छन् ।

प्रगतिले गाउँमा रमाइलोका लागि भलिबल खेल्ने गर्थिन् । १४ वर्षको उमेरदेखि खेल्न सुरु गरेको उनी बताउँछिन् । उनले जनकल्याण माध्यामिक विद्यालय जिपुमा पढ्दा भलिबलबारे थाहा भएको र पछि प्रशिक्षक राईले न्यू डायमण्ड ल्याएपछि खेलमा लागेको बताइन् ।

कोरोना भाइरसका कारण लकडाउन दौरान न्यु डायमन्डमा प्रशिक्षणरत टोली | प्रगति माथिको पंक्तिमा बायाँबाट चौथो

प्रगतिले न्यू डायमण्डमा आएपछि राम्रो प्रशिक्षण र खेल्ने वातावरण पाइन् । उनले २०७७ सालमा भएको टाइगर कपको पहिलो संस्करणबाट घरेलु भलिबलमा पाइला टेकेकी हुन् । पाँचौं संस्करणको एनभिए भलिबल च्याम्पियनमा न्यु डायमण्डले उपाधि जित्दा प्रगति टोलीकी सदस्य थिइन् । फाट्टफुट्ट मैदान प्रवेश गर्दै अनुभव बटुलेकी उनले दोस्रो टाइगर कपमा सेटर अरुणाले नभएपछि लगातार अवसर पाइन् । न्यु डायमन्डमा सेटरको अभावलाई उनले प्रभावशाली प्रदर्शन गर्दै सदुपयोग गरिन् ।

टोलीकी कप्तान रहेकी दिदी ललिता पनि प्रगति नेपालको धेरै राम्रो खेलाडी बन्ने क्षमता देख्छिन् । ‘सबैको लक्ष्य प्रगतिलाई नेपालकै टिमबाट धेरै उत्कृष्ट बनाउने छ । त्यसै अनुसार अभ्यासमा पनि ध्यान दिएका छौं । पहिलो पटक प्रशिक्षण परेको छ । प्रशिक्षणले अलि फरक पारेको आभास भएको छ’, ललिताले भनिन् ।

ललिताले खेलमा सम्बन्धले कुनै असर नगर्ने बताउँछिन् । ‘दिदी बहिनी भएर त्यस्तो सजिलो भन्ने हुँदैन । हाम्रो लागि टिम महत्त्वपूर्ण हुन्छ । मेरो बहिनी भएर उसलाई छुट्टै सजिलो भन्ने छैन । गल्ति हुँदा कतिपय कुरामा भन्न सहज हुन्छ र यसले सहयोग हुन्छ’, उनले भनिन् । ललिता प्रशिक्षणमा गर्ने मिहिनेत र प्रदर्शनले नै सुधारमा भरपर्ने बताउँछिन् ।

महिला भलिबलका मुख्य प्रशिक्षक जगदिश भट्ट प्रगति नेपालको भविष्य रहेको बताउँछन् । ‘हामी सिनियर र जुनियर खेलाडीलाई सँगसँगै लगेर नेपालको टोली राम्रो बनाउने भन्ने सोचमा छौं । सायद प्रगति हाम्रो टोलीमा परेको सबैभन्दा जुनियर खेलाडी होला । उसको भविष्य धेरै राम्रो छ । उसले दशौं वर्ष नेपाल टोलीबाट खेल्न सक्छ’, भट्टले भने ।

त्यसैमा उनले थपे, ‘प्रगतिले खेल्नको लागि मिहिनेत गरेको छ । मैले पनि अरुभन्दा ध्यान दिएर हेरेको छु । समग्रमा उसको भविष्य राम्रो छ । राम्रो गर्नको लागि उ आफैंमा निर्भर हुन्छ ।’

प्रगति आफूले खोजेजस्तो प्रतिभा भएको भट्ट बताउँछन् । ‘प्रशिक्षणमा धेरै राम्रो भएको छ । खेलाडी टोलीमा पर्ने-नपर्ने उनीहरुको मिहिनेतमा भर पर्छ । पहिलो पटक टोलीमा परेको हो । उसको इच्छाशक्ति र प्यासन भलिबलमा केहि गरौं भन्ने छ । त्यो नै हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो’, भट्टले भने ।

प्रगति उमेरले कलिलै छिन् । उमेर बढ्दै जाँदा खेलमा झनै निखारिने छिन् र शारीरिक रुपमा पनि बलियो हुनेछिन् । उनमा भरपुर प्रतिभा छ । त्यो प्रतिभालाई समयसंगै निखारता ल्याउनुपर्छ । आगमी दिनमा उनले देखाउने अनुशासन,कडा मिहिनेत र धैर्यताले उनी कुन स्तरको खेलाडी बन्ने आफैंमा निर्भर गर्छ ।

नेपाली महिला भलिबलले अर्को स्तरमा पुर्याउने हो भने प्रगति जस्ता युवा खेलाडीलाई समयमै तयार पार्न सक्नुपर्छ । यस्तै युवा जोश र जाँगरले नेपाली भलिबललाई फड्को मार्न सहयोग गर्छ । यसका लागि संघ र सम्बन्धित निकायले आवश्यक प्रतियोगिता र प्रशिक्षणसँगै खेलमा भविष्य छ भन्ने प्रत्याभूति भने दिनुपर्छ ।

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

April 30, 2024

दौड प्रशिक्षण यसै साता सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)– एनआरएस स्पोर्टस फाउन्डेसनको आयोजनामा दोस्रो योर पेस किप फिट सक्र्रिट यसै साताबाट सुरु हुने भएको छ । एनआरएस फाउन्डेसनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले स्वस्थ रहनका लागि दौड आवश्यक रहेको निष्कर्ष निकाल्दै नयाँ पुस्तालाई प्रेरित गर्न प्रशिक्षण सुरु गरिएको बताइएको छ । बिहीबारबाट सुरु हुने प्रशिक्षण जेठ १४ गते सम्म सन्चालन हुने मंगलबार पत्रकार […]

Success

Thank you for your time.