3 years ago
February 8, 2023
सुबास हुमागाईं, काठमाडौं
नेपालमा नयाँ सरकार विस्तार भएको तीन साता बितिसक्दा पनि युवा तथा खेलकुद मन्त्रालय रिक्त रहेको छ । मन्त्रालय बाँडफाँडमा सधैं कोटा पुरा गर्ने नजरमा हेरिने यस मन्त्रालयलाई पार्टीहरुले उपेक्षा गर्नुले पनि खेलकुदप्रति प्राथमिकता निराशाजनक रहेको अनुमान लगाउन सकिन्छ । अझ खेलकुदकै माध्यमबाट राजनीतिलाई बढावा दिने व्यक्तिहरुले अन्य मन्त्रालय रोज्नुले खेलकुद क्षेत्रलाई उपेक्षा गरिएको छ भन्दा सायदै दुइमत होला ।

आम जनमानसमा खेलकुदप्रति अत्यधिक रुची रहेपनि सरकार निर्माण र योजना निर्माणका क्रममा प्राथमिकतामा पर्न नसकेको यस क्षेत्र दिन प्रतिदिन धराशायी बन्दै गएको छ । प्रचुर सम्भावना बोकेको खेलकुदमा विभिन्न आर्थिक, सामाजिक, सांस्कृतिक आयाम छन् । तर नीतिगत तहले खेलकुदलाई गम्भीर रुपमा नलिँदा यी सम्भावना कुरामै सिमित भएका छन् ।
नेपालमा सधैं उपेक्षित भएपनि खेलकुदमा देखिएको सम्भावना विदेशी नजरबाट भने लुकेको छैन । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआइडी) प्रमुख समान्था पावर दुई दिने भ्रमणका लागि नेपालमा छिन् । मंगलबार नेपाल आएकी पावरले दुई दिने बसाइँमा दुई फरक खेलकुदको कार्यक्रममा सहभागिता जनाइन् । अमेरिकाबाट २० वर्षयता भएको औपचारिक भ्रमणमा यो नै उच्च तहको भ्रमण हो । सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेल आएयता पावरको भ्रमण निकै महत्त्वका साथ हेरिएको छ ।
प्रशासक पावरले मंगलबार नेपाल आएलगत्तै भक्तपुरस्थित आदर्श विद्यालयका छात्रा टोलीसँग बास्केटबल खेलिन् । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको उक्त विद्यालय पुनर्निर्माण गर्न र त्यहाँ पढ्न सक्ने विद्यार्थीहरूको सङ्ख्या दोब्बर बनाउन यूएसएआइडीले स्थानीय समुदायसँग साझेदारी गरेको थियो ।

पुनर्निर्माण पश्चात विद्यालय अवलोकन गर्न पुगेकी पावरले खेलमार्फत विद्यार्थीसँग जोडिने अवसरको सदुपयोग गरिन् । खेलकुदलाई युवा पुस्तामाझ जोडिने माध्यम बनाएकी उनले विद्यार्थीहरूबाट उनीहरूको भविष्यका योजना र लक्ष्यहरूबारे पनि भलाकुसारी गरिन् ।
मंगलबार नै अन्य कार्यक्रममा सहभागी पावर बुधबार विहानै कपनस्थित जगडोल डाँडामा पुगिन् । अल्ट्रा म्याराथनमा विश्व च्याम्पियन बनिसकेकी धाविका मिरा राईसँग पावरले झन्डै २ किलोमिटर दौडीइन् । मिरासँग पहिलो भेटको क्रममा पावरको मुहारमा देखिएको उत्साहले धेरै कुरा बयान गरेको थियो । ५२ वर्षकी पावरले मिरा, मिराकै एकेडेमीका दुई युवा धाविकासँग दौड पूरा गरिन् । यसक्रममा दुईले झन्डै २ घण्टा समय बिताए ।

दौड पूरा गरेपछि पावरले नेपालले खेलकुदलाई पर्यटनसँग जोड्न सक्ने सम्भावनाबारे चर्चा गरिन् । ‘मैले आज कहिल्यै सम्भव नहुने सोचेको पाठ सिकें । मलाई थाहा भयो केही मान्छे यस्ता छन् जो समथर जमिन नभएर उकालो कुद्न मन पराउँछन् । मलाई मिरा (राई) र उनको चेली भेटेर अचम्म लाग्यो जो डाँडाकाँडा कुद्छन् । हामीले दौडको बेला राम्रो समय बितायौं र मलाई ठाउँ ठाउँमा केही गाह्रो पनि भयो । तर यस दौरान मैले नेपालको सुन्दरता पनि देख्न पाएँ,’ पावरले भनिन् ।
पावरले खेलकुदले पर्यटन प्रवर्द्धन मात्र होइन, रोजगार सिर्जना गर्ने र आर्थिक विकासमा पनि भूमिका खेल्ने पक्षमा जोड दिइन् । ‘ट्रेल दौडले नेपालको प्राकृतिक सुन्दरतालाई थप बढावा दिएको छ । हामी निकै उत्साहित छौं । पर्यटनको प्रवर्द्धन गर्दै हामी थप रोजगार सिर्जना गर्न चाहन्छौं । विशेषगरी युवामाझ आर्थिक वृद्धि र विकासबारे काम गर्न हामी उत्साहित छौं,’ उनको भनाइ थियो ।
‘विश्वभरका पर्यटकलाई हामी नेपालको सौन्दर्य ट्रेल दौडको मार्फत चिनाउन चाहन्छौं । मलाई लाग्छ प्राकृतिक-पर्यटनको भविष्य उज्ज्वल छ । नेपालको कुल ग्राह्यस्थ उत्पादनमा ८ प्रतिशत पर्यटनले ओगटेको छ । आउने दिनमा त्यो अझ बढ्न सक्छ ।’

युएसएआइडीले नेपालको ग्रामिण भेगका जनताले भोगेका कठिनाइलाई सहज पार्न पावरले प्रयास गर्ने अभिव्यक्ति दिइन् । ‘हामी माथि डाँडामा कुदिरहँदा मिराले मलाई ग्रामिण भेगमा कसरी जीविकोपार्जन गर्न कठिन हुन्छ बताइरहेकी थिइन् । अझ प्रतिकुल मौसममा थप कठिन हुन्छ । त्यसैले नेपालको आर्थिक अवस्थामा थप विविधता ल्याउन हाम्रो संस्था यूएसएआईडीले यस क्षेत्रमा लाग्ने विभिन्न व्यक्ति र संस्थालाई सहयोग गर्नेछ । थप पर्यटक ल्याउन यो सही कदम हुनेछ,’ उनले थपिन् ।
नेपालमा उपलब्ध अन्य खेल र खेलाडी हुँदा हुँदै किन मिरा राई भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘मिरा एक लेजेण्ड हुन् । उनी विश्व प्रसिद्ध धाविका हुन् । नेपालको लागि मात्र विश्वभरकै महिलाले उनलाई रोल मोडलको रुपमा हेर्न सक्छन् । त्यसैले म मिरा राईलाई नभेटी नेपाल छोड्न चाहन्नथें । म मिरासँग कुद्न पाउँदा एकदम विशेष महसुस गरिरहेको छु ।’

पावरले खेलकुदमार्फत विविध क्षेत्रमा लगानी गरेर पर्यटन प्रवर्द्धन गर्न सकिनेमा थप जोड दिइन् ।’यो अवसरलाई आर्थिक विकासबाट पनि हेर्न सकिन्छ । हामी सबै एकै बाटोमा हिड्नु भन्दापनि यो विविधता पछ्याउन सक्छौं । सबैलाई थाहा छ नेपालमा हिमाल चढ्न धेरै पर्यटक आउँछन् । तर धेरैलाई ट्रेल दौडको सम्भावनाबारे थाहा नहुन सक्छ । अरु धेरै खेल यहाँ खेल्न सकिन्छ ।’
‘अब यहाँबाट निजि संस्थालाई लगानी गर्ने अवसर दिने होस् वा नेपालमा केहि गर्ने प्रयास गर्न लागिपरेका व्यावसायी होस्, नयाँ खेल र नेपालको संस्कृतिलाई आर्थिक विकासमा जोड्न सकिन्छ,’ उनले टुंग्याइन् ।
यता मिराले पावरसँग कुद्न पाउनु राम्रो अवसर रहेको बताइन् । ‘मैले खेलकुदको प्रतिनिधित्व गरेर वहाँसँग कुद्न पाएको छु । यसलाई ठूलो अवसरको रुपमा लिएको छु । जसले खेल पर्यटनमा लाग्नुभएको छ, वहाँहरु सँग काम गर्न उत्साहित छु । हाम्रो क्षेत्रमा आउनुभएकोमा युएसएआइडीलाई धन्यवाद भन्न चाहन्छु । यो अवसर सिर्जना गर्नुभएकोमा पनि आभारी छु,’ मिराले भनिन् ।

अमेरिकाको उच्च पदस्थ अधिकारीले नेपालको छोटो भ्रमणमा पनि खेलकुदकै वरपर रहेर आफ्नो कार्यक्रम गर्दा नेपालमै भने खेल गतिविधिमा नीतिगत तहबाट उत्साहजनक प्रस्तुति हुन सकेको छैन । बजेट निर्धारण होस् या योजना निर्माण गर्ने कार्यक्रम, खेलकुद एक परिधिभित्र नै सिमित रहेको छ । प्रचुर सम्भावना हुँदाहुँदै पनि नेपालको खेलकुद वृतले फड्को मार्न नसक्नु यो पनि कारण हुन सक्छ । आउने दिनमा खेलकुद मन्त्रालयको जिम्मेवारी लिएपछि नयाँ नेतृत्वले कम्तिमा यस क्षेत्रमा ध्यान पुर्याउनु आवश्यक छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]