2 years ago
September 24, 2023
सुबास हुमागाईं, हाङ्गचौ, चीन
सुटर श्लिषा भण्डारीले १९ औं एसियाली खेलकुद अन्तर्गत १० मिटर एयर राइफलको महिलातर्फ राष्ट्रिय कीर्तिमान तोडेकी छिन् ।

१९ वर्षीय श्लिषाले आइतबार फुयाङ यिन्हु स्पोर्ट्स सेन्टरमा भएको छनोट चरणमा कुल ६१६.९ अंक जोड्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । यसअघि यो कीर्तिमान ओलम्पियन कल्पना परियारको नाममा रहेको थियो । कल्पनाले टोकियो ओलम्पिक २०२० मा ६१६.८ अंक जोड्दै कीर्तिमान कायम गरेकी थिइन् ।
पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै कीर्तिमान कायम गरेपनि श्लिषा आफ्नो प्रदर्शनबाट सन्तुष्ट भने थिइनन् । ‘राष्ट्रिय कीर्तिमान बनाउँदा खुसी हुनु स्वभाविक हो तर मैले अझ राम्रो गर्न सक्थें । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले केहि नर्भस पनि भएँ । त्यसले पनि समग्र नतिजामा असर गर्यो,’ उनले भनिन् ।
श्लिषाले सुरुवाती तीन चरणमा १०१.१, १००.३ र १०२.५ को कमजोर प्रदर्शन गरेकी थिइन् । तर त्यसपछिको तीन चरणमा भने उनले १०५.०, १०४.८ र १०३.२ को स्कोर दर्ता गरिन् । उनले प्रतियोगिताको सुरुवातमा केही नर्भस भएको बताउनु नतिजाले पनि चित्रण गरेको थियो । यसका बाबजुद यो अनुभवले आफ्नो करिअरमा निकै सहयोग पुग्ने श्लिषाले बताइन् ।
‘आज सुरुवातमा राम्रो नहुँदा नतिजा राम्रो देखिएन । बिस्तारै खेलमा भिजेपछि आफ्नो स्वभाविक प्रदर्शन गर्न सकें । तर अझ राम्रो गर्न सक्छु भन्ने विश्वास छ । आजको अनुभवले थप फाइदा पुग्नेछ,’ श्लिषाले भनिन् ।
राष्ट्रिय कीर्तिमान बनाएकी श्लिषा घरेलु प्रतियोगिता खेलेको पनि धेरै भएको छैन । गत वर्ष सम्पन्न नवौं राष्ट्रिय खेलकुदबाट घरेलु प्रतियोगितामा प्रवेश गरेकी उनले छोटो समयमा नै उडान भरेकी छिन् । त्यसबेला व्यक्तिगततर्फ चौथो र टिम इभेन्टमा स्वर्ण जितेकी उनले आउने दिनमा अझ प्रदर्शन सुधार्ने लक्ष्य बनाएकी छिन् ।

‘प्रशिक्षणमा राम्रो गरेकै कारण आर्मीले मलाई आधुनिक हतियार दियो । नेपालमा हुँदा प्रशिक्षणको व्यक्तिगत उच्च स्कोर ६३०.१ थियो । यहाँ आएपछि कम्तिमा त्यो हासिल गर्न चाहन्थें । तैपनि यो प्रदर्शनले अझ मिहिनेत गर्न मनोबल बढेको छ,’ उनले थपिन् ।
आर्मी परिवारमै हुर्केका कारण उनीलाई हतियारसँग सानो उमेरदेखि नै लगाव थियो । त्यसैले परिवारबाट पनि खेलमा लाग्न उनलाई सहयोग पुगेको बताउँछिन् । ‘सानोदेखि नै आर्मी सेरोफेरोको परिवारमा हुर्केर होला हतियार देखें । सुटिङमा लाग्छु भन्दा पनि साथ पाएँ । अझ प्रशिक्षणमा राम्रो गरेपछि आर्मीबाट पनि विश्वास भयो । त्यसले मनोबल अझै बढ्यो,’ उनले भनिन् ।
आर्मीकै सेकेन्ड लेफ्टिनेन्टमा लड्ने तयारी गरिरहेकी श्लिषाले सुटिङमै ध्यान दिन एक वर्ष कुरिन् । आर्मीमा लगेर खेल र देशको सेवा गर्ने हुटहुटी उनीमा छ । अर्को वर्ष हुने पेरिस ओलम्पिक २०२४ खेल्ने सपना बोकेकी उनले छोटो समयमा गरेको प्रगतिले नेपाली सुटिङमा आशालाग्दो प्रतिभाको आगमन भएको संकेत दिन्छ ।
‘मेरो लक्ष्य ओलम्पिकमा देशको प्रतिनिधित्व गर्ने हो । त्यसका लागि छनोट प्रतियोगिता खेल्नुपर्ने हुन्छ । अहिलेको स्कोरले पनि महिलातर्फ ओलम्पिक खेल्न पुग्ने छ । आशा छ यसलाई अझ सुधार गरेर ओलम्पिकमा देशको नाम राख्न सक्नेछु,’ उनले टुंग्याइन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]