काठमाडौं (हाम्रो खेलकुद)- न्यु डायमण्ड एकेडेमी र पश्चिमाञ्चलले मंगलबारबाट शुरु भएको केएनपी जापान राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छन् । शेरबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा राखेप कबर्डहलमा शनिबारबाट शुरु भएको प्रतियोगितामा न्यु डायमण्डले विभागीय नेपाल पुलिस क्लब र पश्चिमाञ्चलले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुआत गरेको हो ।

राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यू डाइमन्ड र नेपाल पुलिसबीचको खेल ।
शिवम् सिमेन्टको साथ पाएको डायमण्डले पुलिसमाथि २५–१९, २५–१७ र २५–१० को सहज जित निकालेको हो । पुलिसले तीनै सेटमा कुनैपनि समय खुलेर खेल्न सकेनन् । यस्तै मंगलबारै भएको अर्काे खेलमा पश्चिमाञ्चलले आर्मीमाथि २५–२१, २५–१८ र २५–२१ को सहज जित निकाल्यो ।
लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब, उपविजेता न्यु डायमन्ड एकेडेमी, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल भलिबल संघ, त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहने छ ।
प्रतियोगिताका विजेताले १ लाख ५० हजार दोस्रो हुनेले ७५ हजार र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । बहुराष्ट्रिय रंग कम्पनी केएनपी जापान प्रालिको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगिताका खेलाडीलाई प्रोत्साहन गर्न विभिन्न ब्यक्तिगत पुरस्कार पनि राखिएका छन् ।
प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीले नगद १५ हजार रुपैयाँका साथै काठमाडौं मलेसिया, काठमाडौंको आतेजाते हवाई टिकट प्राप्त गर्नेछन् । त्यस्तै केएनपी जापान बेस्ट स्पाइकर, केएनपी जापान बेस्ट क्वीकर, केएनपी जापान बेस्ट सेटर, केएनपी जापान बेस्ट ब्लकर, केएनपी जापान बेस्ट डिफेन्स, केएनपी जापान बेस्ट सर्भर र उत्कृष्ट प्रशिक्षकले पनि जनही ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै केएनपी जापान राइजिङ प्लेयरबाट ३ हजार रुपैयाँसहित एक प्रतिभावान खेलाडी पुरस्कृत हुनेछन् । यसैगरी एक खेलाडी शेरवहादुर खड्का स्पेशल अवार्डबाट जनही १० हजार रुपैयाबाट सम्मानित हुनेछ ।

केएनपी जापान राष्ट्रिय महिला भलिबल प्रतियोगिता उद्घाटन गर्दै उप राष्ट्रपति नन्दकिशोर पुन ।

उप राष्ट्रपतिलाई टोकन अफ लभ हस्तान्तरण गर्दै शेरबहादुर स्मृति प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्का । साथमा प्रतिष्ठानकी संरक्षक गमली खड्का ।

राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यू डाइमन्ड र नेपाल पुलिसबीचको खेलपछि उप राष्ट्रपति नन्दकिशोर पुनसँग सामूहिक तस्बिर खिचाउँदै दुवै टोलीका खेलाडी ।