काठमाडौं (हाम्रो खेलकुद) – शिवम् न्यु डायमण्ड र टप्स उच्च मावि पोखराले ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग’ भलिबल प्रतियोगितामा विजयी यात्रा जारी राखेका छन् ।
शिवम् न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै आफ्नो विजयी यात्रा कायमै राखेको हो भने टप्सले मेघौलीमाथि ३–० को सहज जित निकाल्दै आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा मंगलबार भएको खेलमा शिवम् न्यु डायमण्डले पुलिसलाई पहिलो र दोश्रो सेटमा २५–१७ र २५–१५ ले हराएको थियो । प्रतिस्पर्धात्मक बनेको तेश्रो सेट पुलिसले ३१–२९ ले जित्यो । चौथो सेटमा भने शिवम् न्यु डायमण्डले पुलिसलाई २५–१७ को स्कोरमा हराउँदै महत्वपूर्ण ३ अंक जोड्न सफल भयो । अर्को खेलमा पश्चिमाञ्चलको टप्सले मघौली स्पोर्टस्लाई २५–८, २५–१३ र २६–२४ को सोझो सेटमा पराजित गर्न सफल भयो ।
जितसँगै न्यु डायमण्डले शीर्ष स्थानमा रहेको नेपाल एपीएफसँग अंक बराबर बनाएको छ । एपीएफ ६ खेलबाट १८ अंकसहित लिगको शीर्ष स्थानमा रहँदा न्यु डायमण्डले पनि ६ खेल बाटै अपराजित रहँदै १८ अंक नै बनाएको छ । यस्तै टप्सले ३ खेलबाट ९ अंक जोडेको छ ।
पूर्वाञ्चल क्षेत्रिय भलिबल संघ र श्रीगाउँले पनि जित निकालेका छन् । पूर्वाञ्चल क्षेत्रिय भलिबल संघले न्यु डायमण्ड स्पोर्टस् क्लबलाई २७–२५,२५–२२,१८–२५,२१–२५ र १५–५ को सेटमा हराउँदा श्रीगाउँले पारामाउण्ट हाईस्कुललाई २५–१२,२५–१७ र २५–२० को सोझो सेटमा हरायो । १३ औं संस्करणमा अपराजित रहेका शिवम् न्यु डायमण्ड र एपीएफको ६ खेलबाट समान १८ अंक सहित सयुक्त रुपमा शिर्ष स्थानमा रहेका छन् ।
प्रतियोगितामा ६ खेलबाट ४ सफलता हात पारेका नेपाल पुलिस र नेपाल आर्मीको समान १२ अंक रहेको छ । पश्चिमाञ्चलको टप्स माविको पनि अपराजित यात्रा कायम छ । उसले ३ खेलबाट ९ अंक जोडेको छ ।
प्रतियोगिताको चार विधामा उत्कुष्ट खेलाडीले युएम पावरम्याक्स स्कुटर पाउने छन् । बेष्ट प्लेयर, राइजिङ प्लेयर, प्लेयर अफ दि इयर र प्लेयर अफ दि सिरिज बन्ने खेलाडीले स्कुटरका हकदार हुनेछन् । प्रतियोगिताका बेष्ट स्पाईकर, डिफेन्स, सेटर, सर्भर, ब्लकर, उत्कुष्ट क्वीकर र उत्कुष्ट कोचलले जनही ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिता शुरु भएको दिनदेखि अन्तिम समयसम्म टिकट काटेर खेल हेर्न आउने दर्शक मध्ये लक्की ‘ड्र’ बाट एक जनाले पावरम्याक्स स्कुटी प्राप्त गर्नेछन् । प्रत्येक दिन एक दर्शकले लक्की ड्रबाट डाइमण्ड मोबाइल पनि पाउनेछन् ।
प्रतियोगिताको विजेताले ३ लाख २५ हजार, उपविजेताले १ लाख ७० हजार र तेस्रो हुनेले ८० हजार नगद पुरस्कार पाउने छन् । यस्तै चौथौ हुनेले ५० हजार, पाँचौंले ४० हजार, छैठौंले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद प्राप्त गर्नेछन् ।