काठमाडौं (हाम्रो खेलकुद) – शिवम् न्यु डायमण्ड एकेडेमी राजधानीमा जारी १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।
प्रतियोगिताको सातौं दिन सकिँदा न्यु डायमण्डले अपराजित रहँदै लिगको शीर्ष स्थानमा उक्लन सफल भएको हो । सातौं चरणको खेलमा न्यु डायमण्डले भक्तपुरको स्प्रिङडेल स्कुललाई २५–७, २५–१ र २५–३ को सोझो सेटमा पराजित गर्न सफल भयो । जितपछि न्यु डायमण्डको ७ खेलबाट अपराजित रहँदै २१ अंक पुगेको छ । एक खेल कम खेलेको एपीएफ १८ अंकसहित दोस्रो स्थानमा रहेको छ । बुधबारको लागि तय भएको एपीएफ र त्रिभुवन आर्मी बीचको खेल वर्षाका कारण हुन सकेन ।
बुधबारै पोखराको टप्स उच्च माविले पारामाउन्ट हाई स्कुललाई सोझो सेटमा पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । टप्सले पारामाउन्टमाथि २५–१०, २५–७ र २५–७ को सहज जित निकाल्यो । लगातार चौथो जित निकालेको टप्सले तेस्रो र चौथो स्थानमा रहेको नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरेको छ । ६ खेल खेलेको आर्मी र पुलिसको १२ अंक रहेको छ भने दुई खेल कम खेलेको टप्सले पनि अपराजित रहँदै १२ अंक जोड्न सफल भएको छ । यस्तै दाङको श्रीगाँउले न्यु डायमण्ड स्पोर्टस् क्लबलाई २५–४, २५–१६ र २५–१० को सोझो सेटमा हरायो । लिगमा दाङको यो तेस्रो जित हो ।
प्रतियोगिता अन्तर्गत बुधबारका लागि ६ खेल तय भएपनि वर्षाका कारण तीन खेल खेलाउन नसकिएको रेफ्री कमिटीका शान्ति गुरुङले जानकारी गराए । बुधबारको लागि तय भएको खेलहरु माघ १५ गते खेलाउने रेफ्री गुरुङले जानकारी गराईन् । बुधबार पारामाउन्टले पूर्वाञ्चल क्षेत्रीय भलिबल संघ, एपीएफले त्रिभुवन आर्मी क्लब र टप्सले स्प्रिङडेलसँग प्रतिस्पर्धा गर्ने खेल तालिका रहेको थियो ।
प्रतियोगिता अन्तर्गत बिहिबार पनि ६ खेल हुने आयोजकले जनाएको छ । दिनको पहिलो खेलमा आर्मी र थ्री स्टार एकेडेमी, मेघौली स्पोर्टस् क्लब र पूर्वाञ्चल क्षेत्रीय भलिबल संघ, शिवम् न्यु डायमण्ड र पारामाउन्ट, टप्स र नेपाल पुलिस क्लब, एपीएफ र श्री गाउँ दाङ र टप्स र न्यु डायमण्ड स्पोर्टस् क्लबबीच खेल हुँदैछ । प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । प्रतियोगिताको शीर्ष सात टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् ।