काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको होङवान्जी न्यु डायमण्ड कप दोश्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि चिर प्रतिद्धन्द्धी नेपाल एपीएफ क्लब र आयोजक न्यु डायमण्ड एकेडेमीबीच उपाधि भिड्न्त हुने भएको छ ।

यसअघि पहिलो संस्करणमा पनि प्रतिस्पर्धा गरेका थिए । जसमा आयोजकले एपीएफलाई पराजित गर्दै उपाधि जितेको थियो । त्यस यताका खेलमा भने डायमन्डले एपीएफलाई पराजित गर्न सकेको छैन । चन्द्रागिरी नैकापस्थित न्यु डायमण्ड एकेडेमीको भलिबल कोर्टमा शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले नेपाल पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुग्न सफल भयो ।
राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्यस समेत रहेका सरस्वती चौधरीको उत्कृष्ट प्रदर्शनमा एपीएफले पुलिसमाथि पहिलो सेटमा २७–२५ को रोमाञ्चक जित निकालेको थियो । दोस्रो सेटमा पुलिस निरिह देखिदा एपीएफ २५–९ ले विजयी भएको थियो । तेस्रो सेटमा खेलमा फर्किएको पुलिसले २५–२२ ले खेल आफ्नो पक्षमा पारेपछि खेल २–१ को रोमाञ्चक मोडमा पुगेको थियो । तर, चौथो सेटमा एपीएफ २५–२१ ले हुन सफल भयो ।
शुक्रबारै भएको दोस्रो सेमिफाइनलमा साविकको विजेता न्यु डायमण्ड एकेडेमीले टप्स मावि पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा एपीएफसँगको भेट पक्का ग¥यो । डायमण्डले पहिलो र दोश्रो सेटमा २५–१० र २५–११ को सहज जित निकाल्यो । तेश्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दा न्युडायमण्डका प्रशिक्षक कुमार राईले स्टार खेलाडी प्रतिभा माली र पनामिका राईलाई कोर्टमा उतारेका थिएनन् ।
सेमिफाइनलमा पराजित पुलिस र टप्सले तेश्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । होङवान्जी बौद्ध समाज नेपालको मुख्य प्रायोजन संचालन भएको प्रतियोगिताको बिजेताले ३ लाख १ हजार र उपविजेताले २ लाख १ हजार रुपैयाँ पाउनेछन । तेस्रो हुने टिमले एक लाख एक हजार र चौथोले ५१ हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ र ब्यक्तिगत विधाका उत्कृष्टले जनही ५-५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । बुधबारदेखि शुरु भएको प्रतियोगितामा ८ टोलीले सहभागिता जनाएका छन् ।