6 years ago
January 23, 2020
भनिन्छ १२ वर्षपछि बगेको खोला फर्कन्छ । ४७ वर्षीय बलभद्र राई (मणि) को खेल जीवनमा पनि करीअरको दोस्रो उपाधि जित्न १२ वर्ष नै प्रतीक्षा गर्नुपर्यो । सन् २००८-०९ को टुरमा वेस्टर्न ओपनको उपाधि जितेपछि बिहीबार धरानस्थित निर्भाना कन्ट्री क्लबको घरेलु कोर्षमा इस्टर्न ओपन जित्दै मणिले लामो प्रतिक्षा तोडे । झन्डै ३ दशक लामो गल्फ करीअरमा उनले घरेलु कोर्षमा उपाधि जित्ने सपना अन्तत: पूरा गरेका छन् ।

लाहुरे बन्ने लक्ष्य लिएर मणि वि.सं २०४५ सालमा धरानको ब्रिटिस क्याम्पमा प्रवेश गरेका थिए । उमेरका युवाहरु त्यसबेला लाहुरेमा भर्ति हुने लहड चलेको बेलामा उनी पनि अछुतो रहेनन् । त्यसबेला उनले क्याम्पभित्र रहेर डेढ वर्षसम्म लगातार क्याडी ब्वाई बने । बेलाबखत आफैं पनि क्लब समातेर हान्न थालेका उनी डेढ वर्षपछि क्याम्प बन्द भएपछि गल्फबाट टाढिए । मणिले गल्फ छाडेपनि उनी त्यसै रहन सकेनन् ।
झन्डै ७ वर्षपछि उनले निर्भाना कन्ट्री क्लबमा मेम्बरसिप नै लिएर गल्फ यात्रालाई पुनर्जीवन दिए । यसबीचमा विवाह बन्धनमा बाधिएँ पनि । सन् १९९७ देखि नियमित गल्फमा होमिएका उनले १९९९ को सुर्य नेपाल मास्टर्सको एमेच्योरतर्फ नेटतर्फ उपाधि जिते । काठमाडौंमा टुर अन्तर्गत प्रतियोगिता खेल्न जान थालेपछि उनलाई झन् गल्फप्रतिको लगाव बढ्न थाल्यो । विशेषगरी गोकर्णको कोर्षले उनलाई गल्फप्रति आकर्षण गरेको थियो । गल्फबाट उनले व्यक्तिगत रुपमा पनि धेरै राम्रो मान्छे चिनेको बताउँछन् ।

सामान्यतया उपत्यकाबाहिर खेल्ने व्यावसायिक गल्फर आफ्नो क्षेत्रको प्रतियोगितामा मात्र सहभागिता जनाउँछन् । मणि भने व्यावसायिक टुरको हरेक प्रतियोगितामा सहभागिता जनाउन पश्चिम पोखरा होस् या काठमाडौं, आएकै हुन्छन् । लगातार अपेक्षित नतिजा हासिल नगर्दा पनि उनले विश्राम लिनेबारे सोचेनन् । उनी नेपालमा गल्फको विकासका लागि नै आफ्नो स्तरबाट सक्दो सहयोग गर्ने हिसाबले यो कदम चालेको बताउँछन् ।
‘ नेपालमा सूर्य नेपालको प्रायोजनको कारण नै एनपीजीएले यसरी निरन्तर रुपमा व्यावसायिक गल्फरको लागि टुर आयोजना गरेको छ । यसले समग्र नेपाली गल्फको नै उत्थान गरेको छ । म आफैंले त यसका लागि हरपल आफ्नो स्तरबाट साथ दिनै पर्छ, साथसाथै अन्य गल्फरलाई पनि प्रतियोगितामा सहभागी भएर सहयोग गर्न अनुरोध गर्दछु,’ उनले भने ।

‘ प्रो कार्ड लिने ६० को हाराहारीमा भएपनि सहभागिता त्यसैअनुसार हुन सकेको छैन । हरेक ठाउँमा भएको गल्फ खेल्नुपर्छ । मैले पनि काठमाडौं जाँदा आर्थिक रुपमा घाटा हुन्छ सोचेको भए सायद खेल्दिनथें होला । तर हामीले त्यसरी हेर्नु हुँदैन । गल्फको लागि लगानी गर्नेलाई प्रोत्साहन गर्नकै लागि पनि उल्लेख्य सहभागिता जनाउनुपर्छ,’ उनले थपे, ‘ मेरो शरीरले साथ दियो भने अझैपनि १० वर्षसम्म टुर खेल्ने आशा छ ।’
नेपालले गत महिना मात्र दक्षिण एसियाली खेलकुद (साग) मा गल्फतर्फ टिम इभेन्टमा स्वर्ण पदक जित्दा ३ खेलाडी सुनसरी जिल्लाकै थिए । त्यसमध्य शुक्रबहादुर राई र निरज तामाङले मणिसँग रहेर निर्भाना मै नै प्रशिक्षण गर्थे । टंकबहादुर कार्की सुनसरीकै भएपनि नियमित प्रशिक्षण भने त्यहाँ लिएनन् । शुक्र र निरजसँगै पूर्वका सम्भावना बोकेका खेलाडीलाई मणिले व्यक्तिगत तवरबाट पनि सहयोग गर्ने गरेका छन् ।

‘ मैले आफूले सम्भावना देखेको खेलाडीलाई गल्फमै लाग्न प्रेरित गर्न सहयोग गर्दै आएको छु । काठमाडौं जाने बेलामा होस् या प्रतियोगिताको सहभागिता जनाउन नै, आर्थिक र अन्य भौतिक रुपमा मैले सहयोग गरेको छु । आफ्नो क्षेत्रका खेलाडी गल्फमा आउँदा आफैंलाई फाइदा हुने हो,’ उनले भने ।
‘ मैले आफ्नो सुरुवाती दिन सम्झेर पनि उनीहरुलाई सहयोग गरेको छु । गल्फमा भर्खर प्रवेश गर्दा दर्ता शुल्क तिर्न पनि निकै कठिन हुने गर्दथ्यो । त्यसैले अहिले सम्भावना बोकेका खेलाडीलाई यसमा लाग्न समस्या नहोस् भनेर सहयोग गर्दै आएको छु । उनीहरुलाई खुलेर सहयोग माग्न भनेको छु, आफूले सकेको सहयोग त गर्ने पर्यो,’ मणिले थपे ।

यसपटक मणिको लागि इस्टर्न ओपन उपाधि जित्नुले विशेष त रहयो नै, एमेच्योर तर्फ पनि स्थानीय गल्फर निरजले उपाधि जिते । अन्तिम दिनको खेलअघि शीर्ष ३ खेलाडी नै धरानका थिए । शुक्रबहादुर राईले अन्तिम दिन कमजोर प्रदर्शन गरेपछि शिवराम श्रेष्ठ दोस्रो स्थानमा आएका थिए । मणिका अनुसार नियमित प्रशिक्षणका कारण नै यो सम्भव भएको बताउँछन् । उनले स्थानीय कोर्षमा नै प्रशिक्षण गर्न पाउँदा केहि फाइदा भने भएको स्वीकारे ।
उपाधि जित्ने क्रममा मणिले अन्तिम दुई दिन पटिङमा उत्कृष्ट प्रदर्शन गरे । प्राय सबै गल्फरको पट कमजोर हुँदा मणिले भने लामो दुरीबाट पनि पट छिराइरहेका थिए । अझ निकै दवाव रहने अन्तिम होलतिर उनको प्रदर्शन गजबको थियो । दोस्रो दिन १७ औं होलमा झन्डै ३० फिट टाढाबाट पट गरेका उनले अन्तिम दिन पछिल्लो चारै होलमा दर्शनीय प्रदर्शन गरे । दवावका बीच सोचेजस्तो प्रदर्शन भएकाले पनि उनले उक्त समय आफ्नो मनोभावनालाई रोक्न सकेनन् र मज्जाले खुसी व्यक्त गरे ।

गल्फमा उत्कृष्ट नतिजा हासिल गर्न मानसिक रुपमा चुस्त रहनुपर्ने उनको बुझाइ छ । पछिल्ला केहि वर्ष त्यसैकारण पनि उनले सफलता हात पार्न नसकेको अनुभव सुनाए । ‘ गल्फमा सफलता हात पार्न मानसिक रुपमा बलियो हुनुपर्छ । मेरो व्यक्तिगत अनुभवमा पनि पारिवारिक समस्याले गर्दा मैले राम्रोसँग ध्यान दिन सकेको थिइन । अहिले सबै ठिक भएकाले पनि मेरो नतिजा राम्रो आएको हो । अब आउने दिनमा पनि यसैलाई निरन्तरता दिने योजनामा छु,’ उनले थपे ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]