6 years ago
May 28, 2020
कप्तान कथन
अञ्जु श्रेष्ठ (नेपाली महिला भलिबल टोलीकी पुर्व कप्तान)
मेरो जन्म २०३४ सालमा ललितपुरको मानभवनमा भएको हो । बुबा लक्ष्मी नारायण श्रेष्ठ भलिबल प्रशिक्षक हुनुन्थ्यो । बुबाले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरमा सिकाउनु हुन्थ्यो । जावलाखेल भलिबल ट्रेनिङ सेन्टर घर देखि नजिकै थियो ।

म बुबासँग प्रशिक्षणमा जान्थें र खेल्ने गर्दथें । म सानै थिएँ । भलिबल २०५० साल देखि नियमित अभ्यास गर्न थाले । त्यो बेला म ८ कक्षामा पढ्थें । घरमा पनि भलिबल खेलाडी आउने जाने गर्दथे । भलिबलमा प्रेरित हुनुमा बुबाकै हात छ । जावलाखेल भलिबलको जग भएको हुँदा पहिला देखिनै एउटा छुट्टै क्रेज थियो । मैले सानै देखी त्यहिँ ट्रेनिङ गरे । त्यहिँबाट खेले ।
मदन स्मारक स्कुल पढेको हुँ । २०५१ सालमा विरेन्द्र शिल्ड प्रतियोगिता खेलें । भलिबल खेल्नको लागिनै मदन स्मारक स्कुल रोजेको थिएँ । २०५३ सालमा धनगढीमा भएको दशौं राष्ट्रिय भलिबलमा जयन्ती जोशीको कप्तानीमा उपाधि जित्न सफल भयौं । म उत्कृष्ट अलराउन्डर खेलाडी घोषित भएको थिएँ ।
मेरो बुबाको एउटा सपना थियो । नेपालमा महिला भलिबलको राम्रो स्कोप छ र दक्षिण एसियाली खेलकुदमा पहिलो अन्तर्राष्ट्रिय पदक ल्याउन सक्छन् । यहि सपनाका साथ धेरै मिहिनेत गर्नु भएको थियो । उहाँले त्यहि सपनाका साथ जावलाखेलमा ट्रेनिङ गराउँनुहुन्थ्यो । त्यसैले गर्दा हामी राम्रो प्रशिक्षण र सेवा सुविधाका साथ गएको हुँदा स्वर्ण जित्न सफल भयौं । त्यो क्षण एकदमै खुसि र गर्व महसुस हुन्छ । त्यहाँ हामीले महिला टोलीले अवसर पाएँमा अन्तर्राष्ट्रिय पदक ल्याउन सकिन्छ भन्ने प्रर्दशन गरेका थियौं ।

सन् १९९८ मा श्रीलंकामा पाँच टोलीको सहभागिता रहेको रुपाबाहिनी सुपर लिग भलिबलमा म पहिलो पटक राष्ट्रिय टोलीमा परें र कप्तानी गरें । श्रीलंका हामी भन्दा धेरै बलियो टोली थियो । माल्दिभ्सलाई हराएका थियौं । पहिलो पटक कप्तानीमा देशबाहिर गएर अनुभव ल्याउने अवसर पाएँ । बलियो टोलीसँग खेलेका थियौं । उनीहरुबाट धेरै कुरा सिक्न पायौं ।
सन् १९९९ मा काठमाडौंमा भएको आठौं साफमा सुष्मा दिदी कप्तान हुनुभयो । म खेलाडी थिएँ । आठौं साफ हाम्रो नेपालले महिला टोली पहिलो पटक सहभागिता भएको थियो । हामीले बंगलादेशलाई हराएर ऐतिहासिक कास्य पदक जित्यौं । जुन महिला भलिबलमा पहिलो अन्तर्राष्ट्रिय पदक थियो ।
सन् २००६ मा नेपालमै भएको दशौं साफमा कप्तानी गरेको थिएँ । कास्य जित्यौं । बीच भलिबल पनि खेले । सन् २००४ र २००५ मा बंगलादेशमा भएको पेप्सी बीच भलिबलमा कप्तानी गर्दै स्वर्ण पदक जितेका थियौं । २००४ को बीच भलिबलमा उत्कृष्ट प्लेयर घोषित भएँ ।

म जावलाखेल र मध्यमाञ्चलबाटै खेले । नेपाल कमर्सबाट कलेज स्तरिय खेलेको थिएँ । म प्राय कप्तान हुन्थें । २०५९ सालमा पोखरामा भएको १२ औं वुमन्स तथा २१ औं पुरुष प्रतियोगितामा उत्कृष्ट ब्लकर र प्लेयर चुनिएँ । २०६१ सालमा नयाँ बसपार्कमा भएको राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्लेयर घोषित भएँ ।
२०६२ सालमा काठमाडौंमा भएको ५९ औं ज्ञानेन्द्र विर विक्रम शाह शुभजन्मोत्सव कपमा उत्कृष्ट खेलाडी घोषित भएँ । मेरो राष्ट्रिय खेलको सुरुवात र अन्त्य दुवै धनगढीबाटै भयो । धनगढीमामा भएको छैटौं वृहत राष्ट्रिय खेलकुदपछि सन्न्यास लिएको थिएँ ।
भलिबलबाट धेरै कुरा सिकें । बुबाको देशका लागि पदक जित्ने सपना पुरा गर्नुनै भलिबलमा सबैभन्दा ठुलो उपलब्धि र खुसी हो । दुर्भाग्य हामीले आठौं साफमा कास्य जित्नुअघि नै २०५५ सालमा बुबाले संसार छाड्नुभएको थियो । त्यसैले बुबाले नेपाली महिला भलिबल टोलीले जितेको पहिलो ऐतिहासिक पदक देख्न पाउनु भएन ।

भलिबल टिम खेल हो र जितको लागि टिमको एकताको आवश्यक पर्छ । मैले बंगलादेशविरुद्ध पदक जितेको खेलमा लगातार ३–४ प्वाइन्ट बटुल्दै कास्य जितेका थियौं । भलिबलले नाम दियो । आज मलाई जतिले चिन्छन् त्यो भलिबलकै कारण हो । जीवन शैली सिकायो । आत्माविश्वासी बनायो ।
आठौं साफमा कास्य जित्दा राजा विरेन्द्रबाट गोर्खा दक्षिण बाहुबाट सम्मानित हुन पाएँ । हामीले पहिलो कास्य जित्दाको क्षण बुबाले देख्न पाउनु भएन, यो चाहिं साह्रै नरमाइलो लाग्छ ।
नेपालमा महिला भलिबल उहाँको एउटा परिकल्पना हो । सायद बुबाले सुरुवात नगरेको भए भलिबल पुरानै स्थानमै रहन्थ्यो होला । भलिबल आज राष्ट्रिय खेल भएको छ । पछिल्लो समय राम्रो गति पनि लिएको छ । यो सब बुबाले देख्न पाउनु भएको भए कति खुसी हुनुहुन्थ्यो होला । बुबाको सपना पूरा गरेपनि उहाँलाई देखाउन पाइन, भलिबलमा नराम्रो लाग्ने यहि हो ।

पहिला भलिबल खेल एकदमै कम हुन्थ्यो । अहिलेको रफ्तारमा प्रतियोगिता भएको भए हामी धेरै माथि जान सक्थ्यौं होला । अहिले विभागमा अनुबन्धन हुन्छन् र सबै सुविधा पाउछन् । त्यो बेलामा त्यस्तो थिएन । बाहिरबाट आएका खेलाडी कोठा लिएर होस्टेल बसेर मिहिनेत गर्दथे । अहिले भलिबलले जुन गति लिएको छ त्यो एकदमै राम्रो छ । तर अझै हुनुपर्ने विकास भने भएको छैन ।
हाम्रै स्तरका विदेशी टोलीहरु योजना र सोचका साथ अघि बढेका छन् । तर नेपालमा भएको छैन । विभागिय टोली बाहेक अन्यको अवस्था पुरानै छ । स्थानियस्तरमा राम्रो स्तरको बलकै लागि समस्या छ । शहरका टोली हेरेर मात्र हुँदैन । ग्रामिणमा त अवस्था दयनियनै छ ।
म दुई दशक अघि म्याग्दीको पर्वतमा खेल्न जादा त्यहाँका खेलाडीसँग जुत्ता र लगाउने किट हुँदैन थियो । गाउँमा अहिले पनि अवस्था त्यस्तै छ । हामीले ग्रासरुटदेखि परिवर्तन गर्नुपर्छ । अन्यथा हामी माथि उठ्न सक्दैनौं । अर्कोतर्फ हरेक खेलाडीलाई खेल जीवनपछि पनि भविष्य राम्रो छ भन्ने वातावरण देखाउन सक्नुपर्छ ।

बुबाको निधनपछि लक्ष्मी नारायण श्रेष्ठ भलिबल मेमोरियल ट्रष्ट खोलेका छौं । विनोद सिंह बनेतको अध्यक्षतमा २०५८ मा दर्ता गर्यौ । अहिले लक्ष्मी नारायण ट्रष्ट मेरो अध्यक्षतामा अघि बढाइरहेका छौं । यसबाट हामीले विभिन्न कार्यक्रम गर्दै आएका छौं । राष्ट्रिय वर्षको उत्कृष्ट खेलाडीलाई प्रोत्साहन गर्नको लागि हामीले नगद पुरस्कार प्रदान गर्दै आएका छौं । यसले नयाँ खेलाडी पहिचान गर्नको लागि ट्यालेन्ट हन्ट जस्ता आयोजना पनि गर्दै आएका छौं ।
अहिले जावलाखेल भलिबल सेन्ट्ररमा प्रशिक्षकको काम गरिरहेको छु । भलिबलमा नयाँ राम्रो खेलाडी दिन प्रयास गर्ने छु । जावलाखेल भलिबल ट्रेनिङ सेन्टर त मेरो घर, परिवार, सबै हो । सानै उमेर देखी अहिले सम्म जावलाखेलमा छु । दिउँसभर त्यहि बिताउँछु । त्यहि जावलाखेलको कारण म आज अञ्जु भनेर चिनिन्छु ।

बुबाले जग बनाउनुभएको छ । । मैले त्यसैको विकास र बिस्तारलाई ध्यान दिने छु । आफुले सक्दो भलिबलमा सहयोग गर्ने छुँ । जहाँ खेल हुन्छ म त्यहाँ जान्छु । राष्ट्रिय रेफ्री पनि हुँ । भलिबलबाट टाढा रहन सक्दैन । विवाहपछि कतिपय खेलाडीले भलिबल छोड्छन् । मैले विवाहपछि पनि परिवारको राम्रो साथ पाएँ ।
जुन माया र नाम पाएको छु त्यो अरु क्षेत्रमा लागेको भए सायदै पाउथें होला । भलिबल मेरो लागि एक परिवारको रुपमा रहेको छ । श्रीमानको साथले पनि मलाई अगाडी बढ्न धेरै मदत पुगेको छ । मैले भलिबल बाहेक अरु जीवनमा केहि पनि सोचिन । भलिबलबिना मेरो जिन्दगी पूरा हुन पनि सक्दैन । मलाई यस अवस्थामा पुर्याउन विशेष सहयोग मेरो भाई अनुप श्रेष्ठ र परिवार, सम्पुर्ण गुरुहरु, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर परिवार र नेपाल भलिबल संघलाई विशेष धन्यवाद दिन चहान्छु ।
नेपालका राष्ट्रिय टोलीका कप्तानहरुको संस्मरण समेट्ने क्रममा हाम्रो खेलकुदले कप्तानहरुको खेल जीवन प्रतिविम्बित गर्ने प्रयास गर्नेछ । यसअघि अन्य कप्तानहरुको संस्मरण पढ्न यहाँ थिच्नुहोस ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]