default_image

2 years ago

December 8, 2021

ए डिभिजन लिगमा दर्शकको बढ्दो आकर्षण

85 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

खेलकुदमा दर्शकको भूमिका अर्थपूर्ण मानिन्छ । दर्शकको उपस्थितिले खेललाई सुनमा सुगन्ध थपे जस्तै हुन्छ । अझ फुटबलमा त दर्शकलाई १२ औं खेलाडीका रुपमा मानिन्छ । त्यसको अर्थ मैदानमा ११ खेलाडीको जतिक्कै दर्शकलाई पनि स्थान दिएको बुझ्न सकिन्छ । फुटबल नेपालको लोकप्रिय खेलमध्ये एक हो ।

साना ठूला सबै खाले प्रतियोगितामा हुने दर्शकको उल्लेख उपस्थितिकै आधारमा पनि फुटबल लोकप्रिय खेल मान्न सकिन्छ । अझ नेपालले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगितामा दर्शकको उत्साहजनक उपस्थिति त लोभ लाग्दो नै हुने गरेको छ । अझ कतिपय घरेलु फुटबल ए डिभिजन लिग होस् वा नकआउटमा पनि दर्शकको मजबुत उपस्थिति रहने गरेको इतिहास छ । तर, पछिल्ला केहि वर्ष लिगमा दर्शकहरुको चासो कम रहने गरेको दृष्टान्त छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि २०७६ को लिगमा दर्शकका लागि दिएको अफरबाट पनि दर्शक घटेको बलियो उदाहरण हो । एन्फाले दशरथ रंगशालाको भिआइपी र साधारण प्यारापिटतर्फ रहेका दर्शकका लागि अलग अलग अफर दिदा पनि त्यसले खासै आकर्षित गर्न सकेको थिएन ।

दुई वर्षपछि कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग यसै महिनाको सुरु भएको छ । लिगमा यसपटक हुने ९१ मध्ये १९ खेल सम्पन्न भइसकेको छ । पहिलो देखि १९ खेलसम्मको दर्शकको उपस्थितिलाई हेर्ने हो भने दर्शक रंगशालामा फर्केको संकेत मिल्छ ।

अघिल्लो संस्करणका विजेता मछिन्द्र क्लब र उपविजेता त्रिभुवन आर्मी क्लबबीच लिगको १४ औं खेल भएको थियो । एन्फाले उपलब्ध गराएको उपस्थितिलाई आधार मान्दा त्यो खेलमा टिकट काटेर त्यो खेल हेर्ने दर्शकको संख्या ४ हजार थियो । त्यसैलाई मात्र आधार मान्ने हो भने पनि घरेलु फुटबलमा पनि दर्शकको आकर्षण पुनः बढ्न सक्ने सम्भावना देखिएको छ ।

दर्शकलाई नै केन्द्रमा राखेर एन्फाले पनि यसपटकको लिगमा पहिलाको भन्दा नयाँ अभ्यास गरेको छ । अफर राख्नुको सट्टा आयोजनाको शैलीमा नै केहि फेरबदल गर्दा त्यसले दर्शकलाई आकर्षित गरेको देखिन्छ ।

लिगका निर्देशक सञ्जिव मिश्रको भनाई मान्ने हो भने विगतमा भन्दा गरिएका केहि फरक प्रयोगले रंगशाला पुगेर फुटबल हेर्ने दर्शकको संख्यामा वृद्धि भएको हो । ‘पहिलो पटक हामीले विकेन्ड (सप्ताहन्त) को अवधारणमा जाने प्रयास गर्यौं । अर्को टिकट दरमा कमी, पहिलो पटक लिगमा फ्लड लाइटको प्रयोग गरेका छौं’, मिश्रले भने, ‘अघिल्ला लिगहरुमा भन्दा दशरथ रंगशालाको मैदान कन्डिसन ठीक छ । दिउँसोमा काममा व्यस्त रहनेका लागि पनि साँझको फुटबलले आकर्षित गर्न सक्छ भन्ने अनुमान थियो । त्यो पनि एउटा कारण हुन सक्छ । यसपटक लिग शुक्रबारदेखि सोमबार सम्म लिग हुँदै आएको छ ।’

विगतमा साधारणतर्फ २ सय रुपैयाँ टिकट दर थियो । यसपटक १ सय रुपैयाँ टिकट तोकिएको छ । भिआइपीतर्फ भने विगतमा जस्तै ५ सय रुपैयाँ टिकटको मुल्य तोकिएको छ । टेलिभिजनमा हुने प्रत्यक्ष प्रसारणले पनि दर्शकलाई रंगशाला पुगेर हेर्ने उत्साह बढेको हुन सक्ने मिश्र अनुमान गर्छन् । अर्कोतर्फ प्रतिस्पर्धात्मक खेल पनि आकर्षणको पक्ष हुन सक्ने उनलाई लाग्छ । ‘यो वर्ष २ टोली रेलिगेसनमा पर्ने प्रावधान छ’, मिश्र थप्छन्, ‘सबै खेल प्रतिस्पर्धात्मक भएकोले पनि दर्शकलाई आकर्षित गरेको हुन सक्छ ।’

लिगको प्रतिस्पर्धा र दर्शकको उपस्थितिले खेलाडी, प्रशिक्षकलाई पनि पक्कै उत्साहित बनाएको छ । तीन खेलमा अपराजित रहेको ए लिगको नवप्रवेशी सातदोबाटो युथ क्लबका प्रशिक्षक मेघराज केसी सामाजिक सञ्जालमा हुने चर्चाले पनि दर्शकलाई रंगशाला पुगेर फुटबल हेर्न उत्साहित बनाउने अनुमान गर्छन् ।

अर्कोतर्फ विगतमा भन्दा सहभागी क्लबहरुले लिगलाई महत्वका साथ हेरेको केसीको बुझाई छ । ‘यसअघि कतिपय क्लब सकेसम्म लिग खेल्न नपरोस् भनेको सुनिन्थ्यो । खेले पनि औपचारिकता पूरा गर्नका लागि खेलौं भन्ने मानसिकतामा हुन्थे’, उनले भने, ‘यसपटक हरेक क्लबले लिगलाई प्राथमिकतामा राखेको देखिन्छ । पहिला भन्दा भिन्नै सोचका साथ क्लब अघि बढेका छन् । लगानी बढाएका छन् । किट्स, प्रशिक्षणमा दिएको प्राथमिकताले पनि क्लबहरुको लगाव बुझ्न सकिन्छ । सायद यसले पनि दर्शक बढाउन सघाउ पुगेको छ ।’

‘झण्डै दुई वर्ष कोरानाका कारण मान्छेहरुको जीवन शैली फरक भएको थियो । घर वरिपरि सिमित भएर बस्नु परेको थियो । विस्तार परिस्थिति सहज हुँदा लिग आयोजना भएको छ । पछिल्लो समय धेरैले आफूलाई सिमित दायरामा राख्नु परेको थियो’, उनको अनुमान छ, ‘कोराना महामारीको अवस्था घट्दै जाँदा स्थित केहि सहज भएको छ । यो अवसरको फाइदा उठाएको पनि हुन सक्छ । कतिपय दर्शक रंगशालामा खेल हेर्नका लागि हतारिएको जस्तो पनि देखिन्छ ।’

सप्ताहन्तको अवधारणाले पनि दर्शकलाई आकर्षित गरेको मान्ने केसी थप्छन्, ‘अर्को अहिलेको अवधारणाले खेलाडीलाई रिकभरीको लागि, प्रशिक्षकलाई योजना बनाउनका लागि समय मिलेको छ । समयका हिसाबले पनि लिग साँझ भएको छ । यीनै कारणले गर्दा पनि ५० प्रतिशत दर्शक बढेको लाग्छ ।’

‘रंगशालामा पुगेर दर्शकले खेलको जति आनन्द लिन्छन्, उनीहरुको उपस्थितिले खेलाडीलाई पनि त्यतिकै उर्जा दिएको हुन्छ,’मछिन्द्र क्लबका कप्तान सुजल श्रेष्ठको भनाईबाट पनि त्यो प्रष्ट हुन्छ ।

‘दर्शकको उपस्थितिमा खेल्दा छुट्टै माज्जा आउँछ’, हाँस्दै उनले भने, ‘कोहिले त हाम्रो खेल हेरिरहेको छ भन्ने हुन्छ । विकेन्ड अवधारणा, साँझको खेलले पनि दर्शकले रमाइलो मानेको जस्तो लाग्छ । यो फुटबलका लागि सुखद पक्ष हो ।’

पछिल्लो समय राष्ट्रिय फुटबल टोलीको गरेको उच्च प्रदर्शनले पनि घरेलु फुटबललाई त्यसको फाइदा पुगेको सुजलको बुझाई छ । ‘राष्ट्रिय टोलीको नतिजाले पनि चर्चा धेरै भइरहेको छ । साफमा सुखद नतिजाका कारण पनि दर्शकहरुले थप चासो लिएको बुझेको छु’, उनले थपे, ‘त्यसले पनि दर्शक बढे जस्तो लाग्छ ।’

यसपटकको लिग विगतमा भन्दा प्रतिस्पर्धात्मक हुनु पनि दर्शक बढ्नुको अर्को कारण हुन सक्ने सुजलको विश्वास छ । ‘म मनाङबाट खेल्दा हामी आजको खेल यत्तिको मार्जिनमा जित्न सक्छौं भनेर अनुमान गर्थ्र्यौ । कतिपय खेलमा मिल्थ्यो पनि’, उनले भने, ‘यसपटक कुनै खेलको नतिजा अनुमान गर्न सकिन्न । अहिले सबै टिम राम्रो छ । उस्तै स्तर छ । त्यसले पनि दर्शक तान्न मद्दत गरे जस्तो लाग्छ ।’

सुजललाई यसपटकको लिगको अर्को आकर्षणको पक्ष नयाँ प्रशिक्षकको आगमन पनि लाग्छ । ‘अहिलेका प्रशिक्षकहरु क्वालिफाइड हुनुहुन्छ । पहिलाको भन्दा टोली तयारीमा पनि उत्तिकै प्रतिस्पर्धात्मक छ । मैले पहिला प्रशिक्षक यस्तो हुनुहुन्न थियो भनेको होइन, तर अहिले प्रशिक्षकको शैली नै फेरिएको छ’, उनले जोडे, ‘प्रशिक्षकका कारण पनि यसपटक लिगको आकषर्णलाई बढाएको छ । त्यसले खेलको स्तरनै बढेको महसुस हुन्छ ।’

दर्शक त्यति नै हुन् त ?

एन्फाले हरेक खेलपछि उपलब्ध गराउने जानकारीमा दर्शकको उपस्थितिलाई पनि उल्लेख गर्ने गरेको छ । तर त्यो त्यति विश्वास लाग्दो भने देखिन्न । दशरथ रंगशालाको क्षमता भिआइपीतर्फ झण्डै ३ हजार र साधारणतर्फ झण्डै १२ हजार दर्शक क्षमता रहेको बताइन्छ । यसपटक लिगका कुनै खेलमा झण्डै ६ हजार दर्शकको उपस्थिति रहेको समत अनुमान गरिन्छ । तर, एन्फाले उपलब्ध गराएको तथ्याङ्कमा भने सबैभन्दा बढी मछिन्द्र र आर्मीको खेलमा ४ हजार दर्शक उपस्थित भएको देखिन्छ ।

एन्फाले उपलब्ध गराएको तथ्याङ्कका आधारमा १२ औं खेलमा सबैभन्दा कम ९ सय ९० टिकट विक्री भएको छ । अन्य खेलमा १ हजारदेखि ३ हजार सम्मको तथ्याङ्क उपलब्ध गराएको छ । जसमा पासहरुको उल्लेख गरिएको छैन । एन्फाले उपलब्ध गराएको दर्शक संख्या सबै सयको आंकडामा छन् । यदी सहि तथ्यांक हुन्थ्यो भने दर्शक संख्या बढेको तथ्यबाट नै थाहा हुन्थ्यो ।

एन्फाले उपलब्ध गराएको दर्शक तथ्याङ्क :

१. फ्रेन्ड्सविरुद्ध सातदोबाटो (०–०) १५००

२. शेर्पाविरुद्ध संकटा (१–१) १०००

३. च्यासलविरुद्ध थ्री स्टार (०–३) ३०००

४. बीबीसीविरुद्ध एपीएफ (३–२)

५. जावलाखेलविरुद्ध मनाङ (०–१) १५००

६. आर्मीविरुद्ध पुलिस (१–१) २२००

७. मच्छिन्द्रविरुद्ध एनआरटी (२–१) ३०००

८. सातदोबाटोविरुद्ध थ्री स्टार (१–०) १५००

९.संकटाविरुद्ध फ्रेन्ड्स (२–१) १०००

१०. च्यासलविरुद्ध एपीएफ (१–०) २५००

११. शेर्पाविरुद्ध मनाङ (०–१) ३०००

१२. जावलाखेलविरुद्ध पुलिस (०–१) ९९०

१३.बीबीसीविरुद्ध एनआरटी (०–०) ९९५

१४. आर्मीविरुद्ध मच्छिन्द्र (०–०) ४०००

१५. फ्रेन्ड्सविरुद्ध थ्री स्टार (१–१) १५००

१६. सातदोबाटोविरुद्ध एपिएफ (४–१) १७००

१७. संकटाविरुद्ध मनाङ (२–२) ३०००

१८. एनआरटीविरुद्ध च्यासल (१–१)४०००

१९. आर्मीविरुद्ध बीबीसी (१–०) २०००

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.