काठमाडौं (हाम्रो खेलकुद) – रोयल ट्रिजर जावलाखेल युथ क्लबले दोस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगितामा सहज जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शनिबार भएको खेलमा जावलाखेलले न्युरोड टिम एनआरटीमाथि ३–० को सहज जित निकालेको हो ।

पुलिसका खेलाडीलाई पछ्याउँदै मोरङका खेलाडी । तस्बिर – एन्फा
जावलाखेलको जितमा सुशान्त चौधरीले दुई तथा अरुज सिंहले एक गोल गरे । अरुज सिंहको गोलबाट पहिलो हाफसम्म १–० को अग्रता बनाएको जावलाखेलका लागि त्यसपछिका दुवै गोल सुशान्त चौधरीले गरे । पहिलो हाफको तुलनामा दोस्रो हाफमा खेललाई आफ्नो नियन्त्रणमा लिएको जावलाखेलले ७६ औं मिनेटमा सुशान्तको गोलबाट अग्रता दोब्बर बनाएको थियो ।
इन्जुरी समयमा सुशान्तले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै जित पक्का ग¥यो । समुह चरणका दुई खेलमा पहिलो जित निकालेको जावलाखेलले क्वार्टरफाइनल पुग्ने सम्भावना जीवितै राख्दा लगातार दोस्रो हार बेहोरेको एनआरटी प्रतियोगिताबाट बाहिरिएको छ ।
समूह ‘सी’ मा जगदम्बा लुम्बिनी फुटबल क्लब ६ अंकसहित शीर्ष स्थानमा रहँदा हिमालयन शेर्पा क्लब र जावलाखेलको ३ अंक छ । जावलाखेलले लुम्बिनी र हिमालयन शेर्पाले एनआरटीसँग खेल्न बाँकी छ ।
यस्तै शनिबारै भएको अर्को खेलमा मोफसलको मोरङ फुटबल क्लबले विभागीय नेपाल पुलिस क्लबलाई १–१ गोलको बराबरीमा रोकेको छ । यो बराबरीको प्रत्यक्ष फाइदा भने सिएमजी क्लब संकटालाई पुगेको छ । संकटा दुई खेलबाट ६ अंक जोडेको संकटा समूह ‘डी’ बाट एक खेल अगावै क्वार्टरफाइनलमा पुग्न सफल भयो ।
संकटाले ४ अंक जोडेको पुलिससँग खेल्न बाँकी छ । मोरङले ब्रिगेड ब्वाइजसँग खेल्न बाँकी छ । पुलिस पराजित या बराबरीमा रोकिएको अवस्थामा मोरङले ब्रिगेड व्वाइजमाथि जित निकाले मोरङ दोस्रो चरणमा प्रवेश गर्नेछ ।
यसअघि खेलको चौथो मिनेटमा नै पुलिसले राजिव लोप्चनको गोलबाट सुुरुवाती अग्रता बनाएको थियो । तर पुलिसले त्यो अग्रतालाई लामो समयसम्म जोगाउन सकेन । १७ औं मिनेटमा मोरङका विजय कुमार पोखरेलले बराबरी गोल फर्काए ।
बराबरीपछि पुलिसका प्रशिक्षक अनन्त थापामगरले आफ्नो योजना पुरा भएको बताए । ‘अर्को चरण प्रवेशका लागि हामीलाई आजको खेलमा अंकको आवश्यकता थियो । अंक लिने हाम्रो योजना पुरा भएको छ ।’ प्रशिक्षक अनन्तले भने, ‘बराबरीपछि पनि खुशी छु ।’
प्रतियोगिता अन्र्तगत आइतबार रमपम झापा–११ले नेपाल एपिएफ क्लब तथा त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लबको सामना गर्नेछ ।