काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबलको गुणात्मक विकासको लागि विशेष प्रशिक्षणमा जापान पुगेका पाँच फुटबल प्रशिक्षकहरुलाई टोकियोमा नेपाली समुदायले स्वागतसहित सम्मान गरेका छन् ।
पाँच प्रशिक्षकलाई डेमसाईड फुटबल क्लबसहितएक दर्जन संघ संस्थाहरुले स्वागतसहित सम्मान गरेका हुन् । नेपाली फुटबलमा ‘ए’ लाईसेन्स प्राप्तमध्ये पाँच जना प्रशिक्षकहरु जापान फुटबल संघको निमन्त्रणामा विशेष प्रशिक्षणका लागि मंगलबार जापान पुगेका थिए ।
नेपालमा रहेका १४ जना ‘ए’ लेभलका प्रशिक्षक मध्ये राजेन्द्र तामाङ, यमप्रसाद गुरुङ, मेघराज केसी, नवीन न्यौपाने र सुनील श्रेष्ठ उत्कूष्ट पाँच जनालाई जापान पठाईएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ ।
स्वागत तथा सम्मान कार्यक्रममा प्रशिक्षकको तर्फबाट मेघराज केसिले यो मौकाले विश्व कप खेल्ने राष्ट्रको तयारी र फुटबल बिकासको योजनाहरु नजिकबाट बुझ्न सजिलो हुने बताउँदै, यसले नेपाली फुटबल विकासमा सहयोगि पुग्ने विश्वास व्यक्त गरे ।
डेमसाईड क्लब जापानका संयोजक तथा पूर्व राष्ट्रिय खेलाडी रमेश गुरुङ, नेपालका पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचन, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, एनआरएन जापानका उपध्यक्ष टासी लामा, तमु धि जापानका अध्यक्ष श्री गुरुङ, कास्की पोखरा समाजको अध्यक्ष शिव पौडेल, तमुधि जापानका महासचिव अम्बर गुरुङ, लगायतका एक दर्जन संघ संस्थाका प्रतिनिधिको सम्मान तथा स्वागत कार्यक्रममा सहभागिता थियो ।
एशियन कपको छनौट चरणमा प्रतिस्पर्धा गरिरहेको नेपाली टोलिको प्रशिक्षक जापानी ग्योतोकु कोजु रहेका छन् भने एन्फाको टेक्निकल डाईरेक्टरमा पनि जापानी नागारिक ताकेडा चियाकी छन । विशेष प्रशिक्षणमा जापानमा पुगेका पाँच प्रशिक्षकको प्रशिक्षण करिब एक हप्ता जापानको सिजुओकामा हुनेछ ।