बिर्तामोड (हाम्रो खेलकुद)– आयोजक रमपम झापा ११ ले पाहुना टोली सिक्किम युनाइटेडलाई बुधबार २–१ ले हराउँदै झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पछि परेको खेल उल्टाउँदै झापा अन्तिम चारमा पुगेको हो । बिर्तामोडस्थित डोमालाल रंगशालामा जारी प्रतियोगितको सेमिफाइनलमा अब झापाले रुस्लान थ्री स्टार क्लबको सामना गर्नेछ ।
खेलको १७ औं मिनेटमा सिक्किमका मायल डोक लेप्चाले गोल गरेपछि सिक्किमले अग्रता लिएको थियो । झापाका डिफेन्डर देवेन्द्र तामाङले सिक्किमका खेलाडीलाई लडाएपछि पाएको फ्रि किकलाई सिक्किमका कुनल तामाङले प्रहार गरेका थिए । उक्त प्रहारलाई हेडमार्फत लेप्चाले पोष्टको दिशा दिएका थिए ।
सिक्किमको त्यो अग्रता धेरै समय टिक्न सकेन । सिक्किमले अग्रता लिएको ७ मिनेट बित्न नपाउँदै झापाका स्ट्राइकर खमिर गिल्सन कन्दङवाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । डि एरियाभित्र पाएको बललाई कन्दङवाले ओभरहेड किक मार्फत आकर्षक गोल गरेका थिए । १−१ को बराबरी रहेको झापाले अर्काे गोल उपहार मार्फत पाएको थियो । खेलको ४२ औं मिनेटमा बिश्वास श्रेष्ठको क्रसमा डि एरियाभित्र रहेका सिक्किमका खेलाडीलाई टच हुदै आत्मघाती गोल भएपछि झापाको अग्रता दोब्बर भएको थियो ।
खेल अवधिभरमा सिक्किमलाई झापाले दवावमा राखेको थियो । झापाका धेरै प्रहार बिफल हुँदा गोलअन्तर बढ्न सकेन । २६ औं मिनेटमा झापाका खमिर गिल्सन कन्दङवाले गरेको प्रहार गोल पोष्टभन्दा केहीमाथिबाट बाहिरिएको थियो । ५९ औं मिनेटमा देबेन्दको हेडर सिक्किमका गोलकिपर पिन्ट्सो शेर्पाले पञ्च गरेर बाहिर पठाएका थिए । ६० औं मिनेटमा झापाका पुजन उपरकोटीको हेड पोष्टमाथिबाट बाहिरिंएको थियो । इन्जरी समयमा योगेश गुरुङको प्रहार बारमा लागेर फर्कदा झापाले गोल अन्तर बढाउने अवसर गुमाएको थियो ।
त्यस्तै सिक्किम युनाइटेडको तर्फबाट खेलको ३१ औं मिनेटमा दावा शेर्पाको पासमा मायल डोक्पा लेप्चाको प्रहार पोष्ट नजिकैबाट बाहिरिदा खेलमा अग्रता लिने अवसर गुमाएको थियो । त्यस्तै खेलको ७१ औं मिनेटमा पाल्साङ लामाको प्रहार झापाका गोल किपर किशोर गिरीले बचाएका थिए । खेल अवधिभर झापाका एक र सिक्किमका ३ खेलाडीलाई रेफ्री नविन्द्र महर्जनले पहेलो कार्ड दिएका थिए ।
पराजित टीम सिक्किम युनाइटेडका प्रशिक्षक पेमा ग्यास्टो भुटियाले कृतिम मैदानमा खेल्नुपर्दा खेलाडीले बलको पोजिसन मिलाउन नसकिएको बताए । उनले झापालाई होम ग्राउण्ड र दर्शकको समर्थनका कारण सहयोग पुगेको बताए । झापाका प्रशिक्षक प्रव्श कटवालले सुरुमै गोल खाएर दवावमा खेल्नु परेकोले सोचे अनुसारको परिणाम नआएको बताए । थ्री स्टारसँगको आगामी खेलमा सुधार गरेर प्रदर्शन गर्नमा सचेत रहेको बताए ।
खेलको म्यान अफ द म्याच बिजेता टीम झापा ११ का बिश्वास श्रेष्ठ घोषित भए । उनले ओली एण्ड एसोसियट्सले उपलब्ध गराएको २५ हजार रुपैंया पाए । प्रतियोगिताको बिजेताले नगद १२ लाख ५२ हजार, उपबिजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
झापा गोल्डकपमा बिहीबारको खेल
नेपाल पुलिसविरुद्ध त्रिभुवन आर्मी