एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले क्लबका पूर्व खेलाडी ओले गुनार सोल्सजरलाई २०१८-१९ सिजनको अन्त्यसम्म कार्यवाहक प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । मंगलबार प्रशिक्षक जोसे मोउरिन्होलाई बर्खास्त गरेको क्लबले बुधबार नै उनको स्थानमा कार्यवाहक प्रशिक्षक नियुक्त गरेको हो ।
क्लबका पूर्व फरवार्ड सोल्सजरले ३ सय ६६ खेलमा १ सय २६ गोल गरेका थिए । उनले सन् १९९६ देखि २००७ को बिचमा क्लबबाट खेलेका थिए । खेलाडी जीवनबाट सन्न्यास लिएपछि उनले सन् २००८ मा युनाइटेडकै रिजर्भ टिमको प्रशिक्षक बनेका थिए । त्यसपछि उनले नर्वेको मोल्ड फुटबल क्लबमा पनि प्रशिक्षण दिए ।
क्लबले उनलाई सिजनको अन्त्यसम्म प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ । क्लबले स्थायी प्रशिक्षकको नियुक्तिको लागि भने सिजनको अन्त्यसम्म निर्णय लिने बुझिएको छ । सोल्सजरलाई हाल क्लबको सहायक प्रशिक्षकका रुपमा रहेका माइक फेलन, माइकल क्यारिक र काइरन मक्केनाले सहयोग गर्नेछन् ।
सोल्सजरले क्लबसँग फेरी आबद्ध हुन पाउँदा खुसी व्यक्त गरे । ‘ म्यानचेस्टर युनाइटेड मेरो ह्रदयमा जोडिएको क्लब हो । यो भूमिकामा क्लबमा फर्कन पाउँदा निकै खुसी छु । हाम्रो टोली निकै राम्रो छ र म सँगै काम गर्न निकै उत्सुक छु,’ उनले भने ।