काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरियाली हयुङ् मिन सन र इंग्लिस फरवार्ड ह्यारी केनले २-२ गोल गरेपछि प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा टोटेनहम हट्सपरले एभरटनलाई ६-२ ले पराजित गरेको छ ।
एभरटनले घरेलु मैदान गुडिसन पार्कमा अग्रता लिएपनि त्यसलाई जोगाउन भने सकेन । २१ अौं मिनेटमा थियो वाल्कटले डोमिनिक काल्भर्ट लेविनको क्रसलाई गोलमा परिणत गरे । त्यसको ६ मिनेट नबित्दै ह्युङ मिन सनले एभरटनको डिफेन्समा भएको गल्तीको फाइदा उठाउँदै बराबरी गोल फर्काए । पहिलो हाफको अन्तिम १० मिनेटमा स्पर्सले २ गोल थप्यो ।
डेले अली र ह्यारी केनले रिबाउन्डमा आएको बललाई पोस्टको दिशा दिँदै अग्रता बढाउन सफल भए । दोस्रो हाफमा पनि टोटेनहमले आक्रामक रणनीतिलाई बढावा दियो । दोस्रो हाफको सुरुवाती मिनेटमा नै क्रिस्टियन एरिक्सनले उत्कृष्ट गोल गर्दै अग्रता ४-१ मा बढाए । एरिक्सनले ४८ औं मिनेटमा पेनाल्टी क्षेत्रबाहिरबाट प्रहार गरेको लो भलीलाई गोलरक्षक जोर्डन पिकफर्डले बचाउन सकेनन् ।
पूर्व स्पर्स खेलाडी गिल्फी सिगार्डसनले एभरटनलाई खेलमा फर्काउने प्रयासमा ५१ औं मिनेटमा गोल पनि गरे । तर ६१ औं मिनेटमा सनले एरिक लामेलाको पासलाई सदुपयोग गर्दै वन भर्सेस वनमा गोल गरे । त्यसको १० मिनेटमा ह्यारी केनले पनि सनकै पासमा गोल गर्दै फराकिलो जित पक्का गरे ।
यस जितसँगै टोटेनहमले प्रिमियर लिगका ११ अवे खेलमा ९ जित हासिल गरेको छ । पछिल्लो तीन सिजनमा स्पर्सले चौथो पटक एकै खेलमा ६ गोल प्रहार गरेको हो । मौरिचियो पोचेटिनोको प्रशिक्षकत्वमा टोटेनहमले खेलमा पछाडी परेको स्थितिलाई उल्टाउँदै १८ खेल जितेको छ ।
प्रिमियर लिग तालिकामा टोटेनहमले यस जितसँगै साविक विजेता म्यानचेस्टर सिटीसँगको दुरीलाई २ अंकमा झारेको छ । शीर्ष स्थानको लिभरपुलले १८ खेलमा ४८ अंक जोड्दा म्यानचेस्टर सिटी ४४ र टोटेनहम ४२ अंकमा छन् । चेल्सी र आर्सनलको समान ३७ तथा म्यानचेस्टर युनाइटेडको २९ अंक रहेको छ ।