default_image

5 years ago

January 3, 2019

एन्फामा अनियमितता : राष्ट्रिय रेफ्री नबन्दै ‘फिफा रेफ्री’ नियुक्त

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०१९ को लागि फिफा रेफ्रीको नियुक्तिमा चरम अनियमितता गरेको छ । योग्य उम्मेदवार हुँदाहुँदै एन्फाले फिफा सहायक रेफ्रीका लागि सशस्त्र प्रहरी बलका सहदेव श्रेष्ठलाई सिफारिस गरेको छ । राष्ट्रिय रेफ्रीको मान्यता नै नपाएका उम्मेदवारलाई फिफा रेफ्रीमा नियुक्त गरेसँगै यसैपनि विवादमा रहेको रेफ्री क्षेत्र अर्को विवादमा […]

33 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०१९ को लागि फिफा रेफ्रीको नियुक्तिमा चरम अनियमितता गरेको छ । योग्य उम्मेदवार हुँदाहुँदै एन्फाले फिफा सहायक रेफ्रीका लागि सशस्त्र प्रहरी बलका सहदेव श्रेष्ठलाई सिफारिस गरेको छ । राष्ट्रिय रेफ्रीको मान्यता नै नपाएका उम्मेदवारलाई फिफा रेफ्रीमा नियुक्त गरेसँगै यसैपनि विवादमा रहेको रेफ्री क्षेत्र अर्को विवादमा तानिएको छ ।

विक्रम चौधरी, सहदेव श्रेष्ठ र किशन यादव (बायाँबाट)

एन्फाले वर्षेनी नेपालबाट पुरुषतर्फ ४ रेफ्री र ६ सहायक रेफ्री तथा महिलातर्फ १ रेफ्री र १ सहायक रेफ्रीको नाम सिफारिस गर्ने गरेको छ । फिफा रेफ्री बनेपछि अन्तर्राष्ट्रिय रुपमा नेपालको तर्फबाट खेलमा सहभागिता जनाउन पनि अवसर पाउने हुन्छ । यसपटक एन्फाले रेफ्री नियुक्तिमा आश्चर्यजनक निर्णय गरेको छ । नाम सिफारिस गर्ने समयसम्म ए डिभिजन लिग नै नखेलाएका एपीएफका श्रेष्ठलाई एन्फाले फिफा रेफ्रीका लागि सिफारिस गर्यो ।

फिफा सहायक रेफ्रीका लागि दक्ष उम्मेदवार हुँदाहुँदै एन्फाले निकै कम अनुभव बोकेका र एक हिसाबले अयोग्य उम्मेदवारलाई फिफा रेफ्रीका लागि सिफारिस गरेको हो । फिफा सहायक रेफ्री प्रकाशनाथ श्रेष्ठले आफ्नो नाम फिर्ता लिन आग्रह गरेपछि फिफा सहायक रेफ्रीको स्थान रिक्त भएको थियो । सोहि स्थानमा पछिल्लो एक दशक देखि रेफ्री गरिरहेका अनुभवी र दक्ष विकल्पलाई बेवास्ता गर्दै एन्फाले एपीएफका श्रेष्ठलाई नियुक्त गरेको हो ।

पछिल्लो समय राजधानीमा सम्पन्न पल्सर सहिद स्मारक ए डिभिजन लिगमा रेफ्रीलाई लिएर थुप्रै विवाद भए । अधिकांश क्लबका प्रशिक्षकले रेफ्रीको स्तर ए डिभिजन लिगको लागि लायक नभएको नै प्रष्ट अभिव्यक्ति दिए । पहिलो खेलमा नै रेफ्री विवादका कारण लिगको सुरुवात खल्लो बन्यो ।

कुनैपनि खेललाई उचित ढंगले संचालन गर्न रेफ्रीको भूमिका महत्त्वपूर्ण हुन्छ । रेफ्रीको निर्णयमै आधार रहेर खेलाडीहरुको प्रदर्शन पनि मैदानमा देखिन्छ । यदि रेफ्रीको निर्णय सहि हुन सकेन भने त्यसले खेलाडीको प्रदर्शनमा पनि प्रत्यक्ष असर पर्छ । रेफ्रीले सहि निर्णय लिन नसक्दा खेलाडीको इच्छाशक्ति त गिर्छ नै, खेलको नतिजा पनि विपरित आउन सक्छ ।

नेपालमा हाल तीन स्तरका रेफ्रीहरुले घरेलु फुटबलमा खेल संचालन गर्ने गरेका छन् । एन्फाले वर्षेनी विभिन्न स्थानमा रेफ्री कोर्स गरेर त्यसमा उतिर्ण हुनेलाई ‘एन्फा रेफ्री’ बनाउने गरेको छ । एन्फा रेफ्री मध्यबाट उत्कृष्टलाई छनोट गरेर ‘राष्ट्रिय रेफ्री’ छनोट हुने गरेका छन् । र त्यस सुचिबाट खेलको प्रदर्शन, विगतका अनुभव, फिटनेस टेस्ट र लिखित परिक्षापश्चात उत्कृष्ट रेफ्री छनोट गर्ने प्रावधान रहेको छ ।

हरेक वर्ष सेप्टेम्बर महिना आस-पासमा फिफाले सदस्य राष्ट्रहरुको लागि आयोजना गर्दै रेफ्री कोर्ष (फिफा एमए रेफ्री कोर्ष) नेपालमा हुने प्रचलन रहेको थियो । नेपालभरबाट उत्कृष्ट ३० रेफ्री सम्मिलित हुने यस कोर्षमा फिफा रेफ्रीसँगै उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय र एन्फा रेफ्री सहभागी गराउने प्रावधान छ । तर यस वर्ष भने उक्त कोर्ष समयमा हुन सकेन । एन्फाले सुरुमा तोकेको मिति सारेपछि अर्को उचित मिति तोक्न सम्भव नभएपछि यसपटक उक्त कोर्ष नै संचालन भएन । फिफा रेफ्री नियुक्त भएका श्रेष्ठले पछिल्लो वर्ष उत्कृष्ट ३० को सुचिमा नभएपछि एमए कोर्षमा सहभागिता जनाएका थिएनन् ।

श्रेष्ठको विकल्पमा रहेका किशन यादव र आर्मीका विक्रम चौधरी दुवै तुलनात्मक रुपमा निकै अनुभवी र स्तरीय खेल संचालन गर्दै आएका छन् । राष्ट्रिय रेफ्रीको ब्याज समेत नपाएका श्रेष्ठलाई सिधै फिफा रेफ्री नियुक्त गर्दा ‘फिफा रेफ्री’ कै स्तरमा प्रश्न उठ्ने रेफ्री विशेषज्ञहरुको बुझाई छ । श्रेष्ठको नियुक्तिले रेफ्री क्षेत्रकै बदनाम हुने र आउने पिढीले पनि यसबारे प्रश्न उठाउनेमा एन्फाको ध्यानाकर्षण हुनु जरुरि रहेको विज्ञले बताए ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले भने रेफ्री समितिसँग छलफल गरेर नै यो निर्णय लिएको बताए । ‘हामीले नेपाली फुटबलको विकासका लागि यो निर्णय लिएका हौं । आर्मी र पुलिसका रेफ्री पर्याप्त मात्रामा रहेका कारण एपीएफको पनि प्रतिनिधित्व होस् भन्ने विषयमा पनि सोचेका हौं, ‘ उनले भने । महासचिव तुलाधरका अनुसार श्रेष्ठले फिफा रेफ्री हुन सम्पूर्ण योग्यता पूरा गरेका छन् तर श्रेष्ठले राष्ट्रिय रेफ्रीको ब्याज नै पाएका छैनन् । विभागीय दबाबमा आएर निर्णय लिएको भन्ने प्रश्नलाई भने महासचिव तुलाधरले नकारे ।

एन्फा महासचिव इन्द्रमान तुलाधर (फाइल तस्बिर)

श्रेष्ठले आफू राष्ट्रिय रेफ्री भएको दावी गरेपनि उनले हालसम्म ब्याज भने पाएका छैनन् । वि.सं. २०७१ मा भएको राष्ट्रिय रेफ्री परिक्षामा उनी फिटनेसमा फेल भएका थिए । त्यसपछि उनले रेफ्री परिक्षामा सहभागी भएका छैनन् । जारी ए डिभिजन लिग सुरु हुनुअघि लिइएको फिटनेस टेस्टमा भने उनी पास भएका थिए । त्यसैलाई आधार मानेर उनलाई फिफा रेफ्रीमा सिफारिस गरिएको एन्फाको जिकीर छ । तर ए डिभिजन लिग नै नखेलाएका र राष्ट्रिय रेफ्री नभएका रेफ्रीलाई नेपालको प्रतिनिधित्व गर्दै फिफामा पठाउनुले एन्फाको कार्यशैलीमा प्रश्न उठाउने बाटो बनेको छ ।

एन्फाले पछिल्लो समय रेफ्रीको विषयमा विवादास्पद निर्णय गर्दै आएको छ । पछिल्ला वर्षहरुमा रेफ्री संघले नै रेफ्री समितिको रुपमा एन्फामा काम गर्दै आएको थियो । रेफ्रीमात्र नभएर खेलाडी संघ र महिला फुटबल संघमा पनि सोहि अनुसार कार्यसंचालन हुने गरेको थियो । तर एन्फा चुनावअघि भएको रेफ्री संघको निर्वाचनमा पराजित हुने टोलीका अधिकांश सदस्य समेटेर एन्फाले नयाँ ‘रेफ्री समिति’ बनाएको छ ।

रेफ्री संघको चुनावको विरोध गर्दै अदालतसम्म पुगेका सुरेन्द्र सिख्राकार र रेफ्री संघको चुनावमा अध्यक्ष पदमा पराजित भएका बलराम थापा रेफ्री समितिका सदस्य छन् । एन्फाका केन्द्रीय सदस्य रवीन्द्रनाथ कोजु रेफ्री समितिका संयोजक रहेका छन् । तर फिफा रेफ्री नियुक्तिबारे प्रश्न गर्दा संयोजक कोजुले उत्तर दिन सकेनन् । उनले आफुलाई यसबारे केहि थाहा नभएको भन्दै महासचिव इन्द्रमान तुलाधरसँग कुरा गर्न भने । महसचिव तुलाधरले भने रेफ्री समितिको छलफलबाट यस निर्णय आएको बताएका छन् ।

नवनियुक्त रेफ्री श्रेष्ठ अयोग्य कसरी ?

एपीएफका श्रेष्ठले राष्ट्रिय रेफ्री परिक्षा पास गरेका छैनन्, जसले उनलाई फिफा रेफ्री बन्न एक चरण नै पार नगरेको प्रष्ट हुन्छ । सामान्यतया फिफा रेफ्री सिफारिस हुन राष्ट्रिय रेफ्रीका रुपमा शीर्ष प्रतियोगिताहरु खेलाउनुपर्ने हुन्छ । श्रेष्ठले नाम सिफारिस हुने बेलासम्म ए डिभिजन लिग खेलाएका थिएनन् । उनले अहिलेसम्म ए डिभिजन स्तरीय मोफसल प्रतियोगिता पनि खेलाएका छैनन् । विकल्पमा रहेका किशन यादव र विक्रम चौधरी भने लामो समयदेखि ए डिभिजन स्तरीय मोफसल प्रतियोगिता खेलाउँदै आएका छन् ।

फिफा रेफ्रीमा सिफारिस भइसकेको अवस्थामा पनि श्रेष्ठले जारी लिगमा खेल खेलाउने पर्याप्त जिम्मेवारी पाएका छैनन् । उनको तुलनमा किशन यादव र विक्रम चौधरीले बढी खेल खेलाएका छन् । विक्रम र किशन बाहेकका अन्य राष्ट्रिय रेफ्रीले पनि सहदेव भन्दा बढी खेल खेलाएका छन् । उनीहरु सहदेवभन्दा बढी अनुभवी पनि छन् र दक्ष पनि । जारी ए डिभिजन लिगको १२ चरण समाप्त हुँदा सहयक रेफ्रीहरुले खेलाएको खेल संख्या यसप्रकार छ :

पूर्व फिफा रेफ्री लव खत्रीका अनुसार फिफा रेफ्री बन्नका लागि अनुभवको निकै महत्त्व हुन्छ । ‘एन्फा रेफ्री बनेको केहि वर्ष खेल खेलाएपछि मात्र राष्ट्रिय रेफ्री हुन पाइन्छ । राष्ट्रिय रेफ्रीक रुपमा आफुलाई सिद्ध गरेपछि फिफा रेफ्री बन्ने सम्भावना हुन्छ । यसका लागि नियमित रुपमा स्तरीय प्रदर्शन गर्न जरुरि छ । दबाबमा खेल खेलाउने, सहि निर्णय लिने र खेलको महत्त्व बुझ्ने भनेको अनुभवले प्राप्त हुने हो,’ उनले भने ।

पछिल्लो पटक पनि सहायक रेफ्री नियुक्तिमा विक्रम र किशनको दावेदरिता बलियो रहेको थियो । तर एन्फाले पुरानै रेफ्रीहरुलाई निरन्तरता दिएपछि दुवैले यस वर्ष भने रिक्त रहेको पदमा आफ्नो नियुक्ति हुने सम्भावना देखेका थिए । त्यसअघि सन् २०१६ मा पनि विवादास्पद निर्णय हुँदा दुवै रेफ्री मारमा परेका थिए । त्यसबेला रिक्त रहेको पदमा कम अनुभवी रहेका युनाल मल्ल छनोटमा परेका थिए ।

श्रेष्ठको तुलनामा दुवै किशन र विक्रम बलिया उम्मेदवार हुन् । विक्रमले डेढ दशकदेखि रेफ्री करिअर अंगालेका छन् । उनले ए डिभिजन खेलाएको एक दशक पुग्न लागिसक्यो । हालसम्म ४ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाएका उनले मोफसलमा पनि नियमित ठूला प्रतियोगिता खेलाउने गरेका छन् ।

किशन यादव पछिल्लो समय उत्तम मध्यका सहायक रेफ्री हुन् । उनको प्रदर्शन फिफा रेफ्रीको स्तरको रहने गरेको थुप्रै रेफ्रीहरु बताउँछन् । त्यसैले पनि उनले ठूला खेलमा जिम्मेवारी पाउनुका साथै जारी लिगमा धेरै जिम्मेवारी पाएका छन् । उनले रेफ्री करिअर सुरु गरेको १० वर्ष पुगेको छ भने ए डिभिजन खेलाएको ४ वर्ष पुगेको छ । मोफसलमा पनि उनले नियमित खेलाएका छन् ।

यता सहदेव श्रेष्ठले भने मोफसलमा ए डिभिजन लिगका कुनै प्रतियोगिता खेलाएका छन् । पहिलो पटक ए डिभिजन लिग खेलाउने जिम्मेवारी पाएका उनले ११ खेल मात्र पाएका छन्, जुन अन्य ४ राष्ट्रिय रेफ्रीभन्दा कम हो । उनले अधिकांश खेल तालिकाको तल्लो हाफमा रहेका टोलीको खेलाएका छन् । यसले पनि उनको अन्य रेफ्रीसँग स्तर र प्रदर्शनको तुलना प्रष्ट देखिन्छ ।

विक्रम चौधरी, सहदेव श्रेष्ठ र किशन यादव (बायाँबाट)

प्राविधिक पक्षमा उत्कृष्ट उम्मेदवारलाई छनोट गर्नु सामान्य प्रक्रिया हो । तर एन्फाले आफूखुसी प्राविधिक पक्षमा पनि मनोमानी गर्नाले यस क्षेत्रको भविष्यमा पनि असर पर्ने सम्भावना बढेको छ । विभागीय दबाबमा आएर योग्य उम्मेदवारलाई बेवास्ता गर्दा आउने पिढीले पनि गलत संदेश बुझ्ने देखिन्छ । प्राविधिक पक्षमा पनि विभागीय प्रतिनिधित्वलाई सन्तुलन गर्न खोज्दा भविष्यमा क्लबहरुबाट पनि सोहि किसिमको दबाब नआउला भन्न सकिन्न । प्राविधिक पक्षमा नियुक्ति उत्कृष्टताका आधारमा हुनुपर्छ ।

जसरी राष्ट्रिय टोलीमा खेलाडी छनोट हुँदा उत्कृष्ट खेलाडी छनोट हुन्छन्, त्यसैगरी नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने रेफ्री पनि उत्कृष्ट नै हुनुपर्छ । क्लब र विभागलाई सन्तुलनमा ल्याउन कोटा छाड्ने हो भने खेलको विकासभन्दा व्यक्तिगत विकासतर्फ बाटो मोडिन्छ । प्राविधिक पक्षमा हस्तक्षेप गर्दा यस क्षेत्रमा विकराल समस्या झन् बढ्ने देखिन्छ । एन्फाले छिट्टै यस विषयमा उचित कदम चाल्नु अत्यावश्यक छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.