काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई ‘मणि विक्रम शाह युवा खेलाडी अवार्ड’ प्रदान गरिने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले विज्ञप्तिमार्फत यसबारे जानकारी दिएको हो । राष्ट्रिय टोलीका पूर्व कप्तान स्वर्गीय मणि विक्रम शाहको स्मृतिमा पुरस्कार प्रदान गरिने भएको हो । यस अवार्ड प्राप्त गर्ने खेलाडीले १ लाख रुपैयाँ पनि प्राप्त गर्नेछन् । शाहको यसै वर्ष वैशाखमा निधन भएको थियो ।
आफ्नो खेल कौशलका कारण सबैमाझ लोकप्रिय रहेका शाहको उपचारको क्रममा निधन भएको थियो । उनले आफ्नो खेल जीवनमा नेपाली फुटबललाई सम्झना दिलाउने थुप्रै सफलता दिलाएका थिए । त्यसमध्ये सन् १९९३ मा दक्षिण एसियाली फुटबलमा नेपालले स्वर्ण जित्दा उनले गरेको फ्रिकिक गोलको चर्चा अहिले पनि उत्तिकै हुने गरेको छ ।
उक्त फाइनलमा २–१ ले पछि परेको अवस्थामा मणिले खेल सकिन ३० सेकेण्ड बाँकी रहँदा फ्रिकिकमार्फत लोभलाग्दो गोल गरेपछि नेपालले भारतलाई बराबरीमा रोक्दै पेनाल्टी सुटआउटमा भारतलाई पराजित गर्न सफल भएको थियो । नेपाली टिमबाट सन् १९८५ बाट १९९८ सम्म ४८ खेल खेलेका मणिको नाममा अन्तर्राष्ट्रिय ६ गोल रहेको छ ।