काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबले राजधानीमा जारी पल्सर सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो स्थान हात पारेको छ । अाइतबार हिमालयन शेर्पालाई २-० ले पराजित गर्दै थ्रीस्टार तेस्रो भएको हो ।
थ्रीस्टारले खेलको पहिलो हाफमा अग्रता लिएको थियो । खेलको २८ अौं मिनेटमा रन्जन विष्टको पासमा बुद्ध चेम्जोङले गोल गर्दै टोलीलाई अगाडी बढाए । त्यसअघि हिमालयन शेर्पाले अग्रता लिने मौका गुमाएको थियो । त्रिदेव गुरुङको प्रहारलाई थ्री स्टारका गोलरक्षक एलन न्यौपानेले उत्कृष्ट बचाउ गरे ।
थ्री स्टारले अग्रता लिएको तीन मिनेटपछि एलनले पुन: अर्को बचाउ गरे । उलरिच सिवेको प्रहारलाई एलनले उत्कृष्ट डाइभ दिएर बचाए । पहिलो हाफको २ मिनेट बाँकी रहँदा कर्ण लिम्बूको प्रहारमा पनि एलन नै बाधक बने ।
दोस्रो हाफको २ मिनेट बाँकी रहँदा थ्री स्टारले अग्रता दोब्बर पार्यो । रञ्जित धिमालको लामो पासलाई रन्जन विष्टले उत्कृष्ट नियन्त्रण गर्दै पेनाल्टी क्षेत्रभित्र गोल गरे । यो लिगमा उनको यो व्यक्तिगत छैटौं गोल हो ।
यस जितसँगै थ्रीस्टारले लिगको १३ खेलमा ८ जित र २ बराबरीसँगै २६ अंक जोडेको छ । शेर्पा भने १३ खेलमा १७ अंकसाथ सातौं स्थानमा यथावत रहयो ।