काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक बी डिभिजन लिग अन्तर्गत आइतबार रानीपोखरी कर्नर टिम र पुल्चोक स्पोर्ट्स क्लबले जित दर्ता गरेका छन् ।

रानीपोखरीले नयाँबस्ती युवा क्लबलाई ३-१ ले पराजित गर्दा संसार नन्द पलान्चोकेले २ गोल गरे । शनिकुमार चौधरीले दोस्रो मिनेटमा गोल गर्दै नयाँबस्तीलाई अग्रता दिलाएपनि २९ औं मिनेटमा पुकार आलेमगरले आरसीटीका लागि बराबरी गोल फर्काए । म्यान अफ द म्याच संसारले ५१ औं र इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गर्दै जित पक्का गरे ।
अर्को खेलमा पुल्चोक स्पोर्ट्स क्लबले स्पार्क हस्पिटल बाँसबारी क्लबलाई ३-१ ले हरायो । टिकाराज गुरुङको १७ औं मिनेटको गोलसँगै पुल्चोक पहिलो हाफमा १-० ले अगाडी रहेको थियो । दोस्रो हाफको ४७ औं मिनेटमा नवीन थापाले बाँसबारीलाई बराबरीमा ल्याए । रामकाजी कुमालले ५२ औं मिनेटमा गोल गर्दै पुल्चोकलाई पुन: अग्रता दिलाए । सुशील गुरुङले इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गर्दै पुल्चोकको जित पक्का गरे ।