झापा (हाम्रो खेलकुद) – अायोजक मगमग झापा ११ मगमग झापा गोल्डकपको चौथो संस्करणको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबारको उद्घाटन खेलमा पोखराको सहारा क्लबलाई २–० ले हराउँदै झापाले क्वाटरफाइनलमा हङकङ नेप्लीज एकाडेमी क्लबसँग भिडन्त पक्का गर्यो ।

झापाको जितका लागि वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका सन्जोग राई म्यान अफ दि म्याच बने । खेलको ३५ औं मिनेटमा कप्तान कर्ण लिम्बूको स्थानमा मैदान प्रवेश गरेका राईले एक गोल र एक असिस्ट दिए ।
मैदान प्रवेश गरेको ५ मिनेटमा नै सन्जोगको पासमा विदेशी खेलाडी काजिम बुखारीले गोल गरे । पेनाल्टी क्षेत्रभित्र डि अनमार्क रहेका बुखारीले सन्जोगको पासलाई पोष्टको दिशा दिएका थिए । ४५ औ मिनेटमा योगेश गुरुङको पासलाई सन्जोगले गोल गरेका थिए ।
खेलको म्यान अफ दी म्याच मगमग झापा ११ का सन्जोगले १५ हजार रुपैंया पुरस्कार पाए । आइतबारको खेल शसस्त्र प्रहरीको एपीएफ क्लब र मोरङ ११ बीच हुनेछ ।
फागुन २७ गते सम्पन्न हुने गोल्डकपमा बिभागीय तीन सहित काठमाण्डौका ५, मोफसलका ४ र एक बिदेशी टीमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले १२ लाख ५५ हजार र उपबिजेताले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।