एजेन्सी – फरवार्ड ह्यारी केनले निर्णायक गोल गरेपछि यूईएफए च्याम्पियन्स लिगअन्तर्गत परी-क्वाटरफाइनलको दोस्रो लेगमा बोरुसिया डर्टमुन्डलाई १-० ले पराजित गरेको छ । समग्रमा ४-० को जितसँगै टोटेनहम क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

टोटेनहमको जितमा ह्यारी केनले दोस्रो हाफको सुरुवातमा गरेको गोल नै निर्णायक सावित भयो । उनले ४८ औं मिनेटमा मोउसा सिसोकोको पासमा गरेको गोल जितका लागि पर्याप्त बन्यो । पहिलो लेगमा ३-० को अग्रता लिएको टोटेनहमलाई घरेलु टोली डर्टमुन्डले पहिलो हाफमा निकै दबाबमा राखेको थियो । गोलरक्षक ह्युगो लोरिसले लगातार राम्रो बचाउ गर्दा खेलमा डर्टमुन्डले अग्रता लिन सकेन ।
टोटेनहम सन् २०११ पछि पहिलो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो । डर्टमुन्डले च्याम्पियन्स लिग अन्तर्गत टोटेनहमविरुद्ध खेलेका चारै खेलमा पराजय बेहोरेको छ । टोटेनहमले च्याम्पियन्स लिगमा गरेका १३ गोल मध्य १२ गोल दोस्रो हाफमा सम्भव भएको छ ।