एजेन्सी – निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको मिलान डर्वी भिडन्तमा इन्टर मिलानले बाजी मारेको छ ।

इन्टर मिलानले घरेलु टोली एसी मिलानलाई ३–२ को गोल अन्तरमा पराजित गरेको हो । आइतबार राति भएको खेलमा इन्टर मिलानलाई जिताउन माटियस भेसिनो, स्टेफन डि भर्जी र लौटारो मार्टिनेजले गोल गरे । एसी मिलानका टिमोउ बाकायोको र माटियो पाब्लोले गोल गरे ।
पाहुना टोली इन्टर मिलानले खेलको तेस्रो मिनेटमै माटियस भेसिनोको गोलबाट अग्रता बनाएको थियो । ५१औं मिनेटमा स्टेफनले गोल गर्दै इन्टर मिलानले खेलमा २–० को अग्रता बनायो ।
५७औं मिनेटमा बाकोयोकोले गोल गर्दै मिलानलाई खेलमा फर्काउने संकेत दिएका थिए । ५७औं मिनेटमा लौटारोले पेनाल्टीमा गोल गर्दै इन्टरलाई ३–१ ले अघि बढायो । ७१औं मिनेटमा माटियोले गोल गर्दै घरेलुलाई खेलमा ३–२ को अवस्थामा ल्याए । तर, त्यसपछि थप गोल गर्न नसक्दा मिलानले इन्टरलाई ३–२ ले नतिजा सुम्पियो ।
जितसँगै इन्टर मिलान ५३ अंकसहित तेस्रो तथा मिलान ५१ अंकसहित चौथो स्थानमा छ । ७५ अंकसहित युभेन्टस शीर्ष तथा ६० अंक जोडेको नेपोली तालिकाको दोस्रो स्थानमा छ ।