एजेन्सी – जर्मन बुन्डेसलिगाको उपाधि होड शनिबारको खेलपछि झनै रोमान्चक बनेको छ । लिगको शीर्षस्थानमा रहेको बायर्न बराबरीमा रोकिएपछि बोरुसिया डर्टमुन्डले जित दर्ता गर्दै अंक तालिकामा पहिलो स्थान कब्जा गरेको छ ।

शनिबार घरेलु मैदानमा डर्टमुन्डले वल्फ्सबर्गलाई पाको अल्कासेरको दुई गोलसँगै २-० ले पराजित गर्यो । दुवै गोल खेलको अन्तिम ५ मिनेटमा सम्भव भएको थियो । ९० अौं मिनेटमा फ्रिकिकमा सिधै गोल गरेका अल्कासेरले इन्ज्युरी समयको चौथो मिनेटमा गोल गर्दै जित पक्का गरे । दोस्रो गोल जेडन सान्चोको क्रसमा सम्भ भएको थियो ।
यस्तै फ्राइबर्गको मैदानमा १-१ को बराबरीमा रोकिएपछि बायर्न शीर्षस्थानबाट तल झरेको छ । खेलको तेस्रो मिनेटमा घरेलु टोलीले अग्रता लिएको थियो । क्रिस्टियन गन्टरको पासमा लुकास होलरले गोल गरे । जवाफमा बायर्नका रोबर्ट लेवान्डोस्कीले २२ अौं मिनेटमा बराबरी गोल फर्काए । उनले लियोन गोरेट्जकाको पासमा खेल बराबरीमा ल्याए । थप गोल हुन नसक्दा बायर्न बराबरीमा रोकियो ।
अंक तालिकामा डर्टमुन्डले २७ खेलमा ६३ अंक जोडेको छ । बायर्न समान खेलमा ६१ अंकसहित दोस्रो स्थानमा छ । यी दुई टोली अर्को साता बायर्नको घरेलु मैदान आलियान्ज एरीनामा आमनेसामने हुनेछन् ।