काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाइका गोलरक्षक किरण चेम्जोङले अर्को सिजन पनि माल्दिभ्सको ट्रस्ट एन्ड केयर (टिसी) स्पोर्ट्स क्लबबाट खेल्ने भएका छन् ।

अघिल्लो सिजन टिसीलाई माल्दिभ्सको शीर्ष डिभिजन लिगको च्याम्पियन बनाउँदा किरणले महत्त्वपूर्ण भूमिका खेलेका थिए । लिगको सर्वोत्कृष्ट गोलरक्षक बनेका किरणले माल्दिभ्स एफएको वर्षको उत्कृष्ट गोलरक्षकको उपाधि पनि जितेका थिए । किरणको उत्कृष्ट प्रदर्शनका कारण नै क्लबले उनलाई अर्को वर्षका लागि पनि अनुबन्ध गरेको हो ।
यसअघि सन् २०१७ मा पनि किरणले टिसीबाट नै खेलेका थिए । त्यसपछि भारत पुगेका उनले मिनेर्भा पन्जाबलाई आई-लिग च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरे । उनले आई लिगको सफलतापछि माल्दिभ्समा पनि लिग जित्दै आफ्नो स्तर सिद्ध पारेका थिए । पछिल्लो समय नेपालमै रहेर प्रशिक्षण गरिरहेका किरण यसै महिना माल्दिभ्स प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रिय टोलीबाट कुवेतविरुद्ध दुई मैत्रीपूर्ण खेलमा पनि किरणको प्रदर्शन उच्च रहेको थियो । उनले एक खेलमा क्लिनसिट तथा दोस्रो खेलमा पेनाल्टीमा मात्र गोल खाएका थिए ।