एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा सेभियाले लेगानेससँग लज्जास्पद हार बेहोरेको छ । ला लिगा अन्तरगत शुक्रबार राति भएको सेभियाले घरेलु मैदानमै लेगानेससँग ३–० को लज्जास्पद हार बेहोरेको हो ।

घरेलु टोली सेभियालाई लज्जास्पद हार चखाउन युसेफ इन नेस्री, मार्टिन ब्रेथवेट र ओस्कार रोड्रिग्वेजले गोल गरे ।
पाहुना टोली लेगानेसले खेलको आठौं मिनेटमा युसेफको गोलबाट खेलमा अग्रता लिएको थियो । २०औं मिनेटमा मार्टिनले अग्रता दोब्बर बनायो ।
खेल भरनै लेगानेसलाई दवावमा राखेको सेभियाले गोल भने गर्न सकेन । बरु अर्काे गोल खान पुग्यो । ८२औं मिनेटमा ओस्कार रोड्रिग्वेजले गोल गर्दै लेगानेसलाई ३–० को जित दिलाए ।
हारसँगै सेभियाले चौथो स्थानमा उक्लने मौका गुमायो । सेभियाको ३६ खेलबाट ५५ अंक रहेको छ । एक खेल कम खेलेको गेटाफे ५५ अंकसहित चौथो स्थानमा छ । लेगानेस ४५ अंक जोडेर नवौं स्थानमा छ ।