काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्लाका ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन क्लबलाई सम्मान गरेको छ । महानगरपालिकाले राजधानीमा एक कार्यक्रमका बीच काठमाडौंका ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका १८ क्लबलाई सम्मान तथा अनुदान रकम हस्तान्तरण गरेको हो ।

‘ए’ डिभिजन क्लबलाई सम्मान तथा ‘बी’ र ‘सी’ डिभिजन क्लब अनुदान रकम हस्तान्तरण गरेको हो । महानगरपालिकाले यसअघि नै ‘ए’ डिभिजनका ६ क्लबलाई प्रति टिम ५ लाख नगद र ४ लाख ३० हजार बराबरको खेल सामग्री हस्तान्तरण गरिसकेको थियो । महानगरले गतवर्ष सञ्चालन भएको ‘ए’ डिभिजन लिगमा काठमाडौंका क्लब च्याम्पियन भएको भन्दै सम्मान गरेको हो ।
‘बी’ डिभिजनका ५ क्लबलाई ३ लाख रुपैया तथा ‘सी’ डिभिजनका ७ क्लबलाई प्रति क्लब २ लाख अनुदान रकम हस्तान्तरण गरेको थियो । क्लबहरुलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्मान तथा अनुदान रकम हस्तान्तरण गरे ।
काठमाडौं जिल्लाभित्रका सिएमजी क्लब संकटा, न्युरोड टिम (एनआरटी), मच्छिन्द्र क्लब, सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लब, सरस्वती युवा क्लब र हिमालयन शेर्पा क्लब रहेका छन् । ‘बी’ डिभिजनमा ब्वाइज युनियन, अन्नपुर्ण क्लब आरसिटी, टुसाल क्लब, बाँसबारी क्लब र कुमारी क्लब रहेका छन् । ‘सी’ डिभिजनमा सानो गौचरण, समाज कल्याण क्लब, प्लानिङ ब्वाइज युनाइटेड, स्वयम्भु क्लब, सामाजिक युथ क्लब, महावीर क्लब, मनोहरा एकीकृत युवा क्लब रहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खेल बिकासमा महानगरको नीति रहेको र सदैव सहयोग रहने बताए । उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले खेलले नै देशलाई चिनाउने काम गरेको भन्दै महानगरले निरन्तर सहयोग गरिरहने बताइन् ।
अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष तथा हिमालयन शेर्पा क्लवका अध्यक्ष कर्मा छिरिङ शेर्पाले घरेलु फुटबलमा सरकारी निकायको सहयोग अपरिहार्य रहेकोमा काठमाडौं महानगरले त्यसको सुरुआत गरेकोमा कृतज्ञता व्यक्त गरे ।