काठमाडौं (हाम्रो खेलकुद)– दुई वटा मैत्रीपूर्ण खेलपछि नेपाली राष्ट्रिय फुटबल टोली आज स्वेदश फर्कंदै छ । ताइपेबाट मलेसिया हुँदै नेपाली टोली दिउँसो १२ः३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने बताइएको छ ।

एक साता अघि भ्रमणमा निस्केको नेपाली टोलीले जेठ १९ गते मलेसियासँगको खेल २–० ले गुमाएको थियो । त्यसपछि चाइनिज ताइपेसँगको खेलमा भने १–१ को बराबरी खेलेको थियो । दोस्रो खेलमा नेपालका लागि अभिषेक रिजालले गोल गरेका थिए । अभिषेकले राष्ट्रिय टोलीका लागि आफ्नो दोस्रो खेलमै गोल गर्न सफल भएका हुन् । उनले मलेसियाविरुद्धको खेलमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गर्दै डेब्यू गरेका थिए ।
ताइपेइविरुद्ध नेपालले सात खेलपछि गोल गरेको थियो । योहान कालिनको प्रशिक्षणमा नेपालले खेलेका ४ मैत्रीपूर्ण खेलमा अभिषेकले गरेको गोल नै टोलीको पहिलो गोल थियो । यसअघि नेपालले कुँवेतसँगको दुई मैत्रीपूर्ण खेल खेलेका थियो । जसमा पहिलो गोलरहित बराबरी खेलेको थियो भने दोस्रोमा १–० को हार बेहोरेको थियो ।
नेपाल फिफा विश्वकप २०२२ छनोटको दोस्रो चरणमा सिधै छनोट भएपछि पछिल्लो समय मैत्रीपूर्ण खेल खेल्दै टोलीको तयारीलाई तीव्रता दिएको छ । यसअघि सन् २०१८ को विश्वकप छनोटमा प्लेअफ खेल्नु परेको नेपाल भारतसँग दुई खेलको खेलमा २-० ले पराजित भएको थियो । यसपटक एसियाको शीर्ष ३४ मा पर्न सफल नेपालले सिधै दोस्रो चरणको छनोट खेल्न पाएको हो । फिफा वरीयतामा नेपालपछि रहेका राष्ट्रहरु भने प्लेअफ खेलिरहेका छन् ।