काठमाडौं (हाम्रो खेलकुद) – नेपाल यू-१६ राष्ट्रिय टोलीका कप्तान रोशन रानामगर तथा फरवार्ड ब्रिजेश चौधरीको ह्याट्रिकमा डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले ललित मेमोरियल यु–१८ फुटबल च्याम्पियनसपमा फराकलो जितसँगै विजयी शुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा बीबीसीले सरस्वती युवा क्लबमाथि ११–१ को फराकिलो जित निकाल्दै विजयी शुरुवात गरेको हो । बीबीसीको फराकिलो जितमा कप्तान रोशन रानामगर र ब्रिजेश चौधरीले ह्याट्रिक पुरा गरे । शिशिर लेखी र अनिल महर्जनले समान २–२ गोल थपे । दिपेश गुरुङले एक गोल थपे । सरस्वतीका प्रदीप कार्कीले सान्त्वना गोल फर्काए ।
गोलको वर्षा भएको खेलमा बीबीसीले पहिलो हाफमै ४–० को आरामदायी अग्रता बनाएको थियो । दोस्रो हाफमा बीबीीले ७ गोल थप्दा एक गोल खान पुगेको थियो । बीबीसीले खेलको ३१ मिनेटभित्रै ४–० गोल गर्न सफल हुदा पहिलो हाफमा ४–० ले अघि बढेको थियो । खेलको १०औं मिनेटमा ब्रिजेश चौधरीको गोलबाट बीबीसी अघि बढेको थियो । १२औं मिनेटमा शिशिर लेखीले गोल गर्दै अग्रता दोब्बर बनायो । ३०औं मिनेटमा कप्तान रशोन रानामगरले गोल गरेसँगै बीबीसी ३–० ले अघि बढ्यो । लगत्तै ३१औं मिनेटमा ब्रिजेशले व्यक्तिगत दोस्रो गोल गरेपछि बीबीसी खेलमा ४–० ले अघि बढ्यो ।
दोस्रो हाफमा झनै आक्रमक खेल पस्केको बीबीसीका लागि ४७औं मिनेटमा कप्तान रोशन रानामगरको गोलबाट ५–० ले अघि बढ्यो । ४८औं मिनेटमा ब्रिजेशले ह्याट्रिक पुरा गरे । ५६औं मिनेटमा सरस्वतीका प्रदीप कार्कीले एक गोल गरे । ७१औं मिनेटमा दिपेश गुरुङले गोल गरेपछि बीबीसी फराकिलो जिततर्फ अग्रसर बन्यो । ७२औं मिनेटमा शिशिरले व्यक्तिगत दोस्रो गोल गरे । ७७औं मिनेटमा अनिल महर्जनले गोल गरे । ८८औं मिनेटमा कप्तान रोशन रानामगरले ह्याट्रिक पुरा गरे । इन्ज्युरी समयमा अनिल महर्जनले व्यक्तिगत दोस्रो गोल गर्दै बीबीसीलाई ११–१ को फराकिलो जित दिलाए ।
आइतबारको अर्काे खेलमा भ्याली च्यासल युथ क्लब र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाँडे ।