पेरिस (एजेन्सी) – युरोपियन च्याम्पियनसिपमा आज ९ः४५ मा सुरु हुने खेलमा साविक विजेता स्पेन र इटालीबीच प्रतिस्पर्धा हुँदैछ । चार बर्षअघि फाइनल खेलकै दुई टोलीबीचको भिडन्त भएकाले यसलाई कतिले फाइनलअघिको फाइनल पनि मानेका छन् । युरोपियन च्याम्पियनसिपमा पछिल्ला भेटमा स्पेन इटालीमाथि हाबी हुँदै आएका छ । स्पेनलाई इटालीमाथि पुनः रवाफ जमाउने मौकाका रुपमा लिने जति छन्, इटालीलाई बदला लिने मौकाको रुपमा मान्नेपनि त्यत्तिकै छन् ।
लगातार तेस्रो पटक च्याम्पियनसिपको उपाधि जितेर कीर्तिमान बनाउनेमो भिसेन्टे डेल बोस्कीको स्पेन दृढ छ । तर त्यसका लागि फेरी पनि इटालीलाई पन्छाउन सक्नुपर्नेछ । इटालीको चुनौति पार गरेपनि अर्को चरण अझै डरलाग्दो विपक्षी खडा भइसकेको छ । स्पेन र इटालीबीचको विजेता विश्वकप विजेता जर्मनीको सामना गर्नुपर्नेछ । युरोपियन च्याम्प्यिनसिपमा इटालीविरुद्ध स्पेन बलियो रहँदै आएको छ ।
सन् २००८ को क्वार्टरफाइनलमा हराएको इटालीलाई स्पेनले चार बर्षअघि फाइनलमा ४–० ले हराएको थियो । २००८ बाट ठूला प्रतियोगिताको सिलसिला सुरु गरेको स्पेनले २०१०मा विश्वकप र २०१२ मा पुनः युरोपियन च्याम्पियनसिप जितेको थियो ।
इटालीका प्रशिक्षक एन्टोनी कोन्टेले स्पेनप्रति आदार रहेको उल्लेख गर्दै भने, ‘ स्पेन विश्वको उत्कृष्ट टोली मध्येको एक हो भने यो च्याम्पियनसिपको दाबेदार पनि हो । तर पनि हामी उनीहरुविरुद्ध भिड्न तयार छौं । ’
सबैले इटालीको रक्षापक्तिका विषयमा चर्चा गर्ने गरेको प्रसंग कोट्याउँदै कोन्टेले भने, ‘हो हाम्रो रक्षापक्ति संगठित छ । सँगै अग्रपक्ति पनि त्यत्तिकै संगठित छ । हामी यसै घर फर्कन चाहदैनौं । हामी सबै शक्ति लगाउने छौं । अब धेरै कुरा स्पेनमा भरपर्छ उनीहरु हामीभन्दा स्तरीय छन् वा छैनन् भन्ने ।’
स्पेनका प्रशिक्षक डेल बोस्कीले अघिल्लो संस्करणको स्मरण गर्दै भने, ‘ पछिल्लो संस्करणको पहिलो खेल पनि हामीले इटालीविरुद्ध खेलको थियौं । उनीहरु हामीभन्दा उत्कृष्ट थिए । तर हामीले बराबरी गर्यौं र फाइनलमा इटालीलाई नै हरायौं । हामीले ती दुई खेलमा खासै ठूलो परिवर्तन गरेका थिएनौं ।’