काठमाडौं (हाम्रो खेलकुद)– मोफसलको पुरानो गोल्डकप मध्येको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता स्थगित भएको छ ।
विश्व व्यापी रुपमा कोराना भाइरसको बढ्दो असरका कारण तिलोत्तमा पनि अनिश्चित कालका लागि स्थगित गरिएको आयोजक जिल्ला फुटबल संघ रुपन्देहीले विज्ञप्तीमार्फत शुक्रबार जनाएको छ । गोल्डकप चैत १ देखि १० गते सम्मका लागि तय थियो ।
तिलोत्तमा गोल्डकपको संरक्षक बुटवल उपमहागनरपालिकाको पत्रानुसार अर्को सुचना नहुदा सम्मका लागि २२ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिता २०७६ हाललाई स्थगित गरिएको छ,’ अखिल नेपाल फुटबल संघका सदस्य समेत रहेका रुपन्देहीका अध्यक्ष दिर्घबहादुर केसी (कुमार) द्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
कोरोनाले पार्न सक्ने असरलाई कारण देखाउँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार मात्रै सञ्चालनमा रहेका बाहेक खेलकुदका सबै प्रतियोगिता र गतिविधि रोक्न सुचना जारी गरेको थियो ।
प्रतियोगिता यसअघि पनि एक पटक सारिएको थियो । पहिलो पटक फागुनमा हुने भनिएको प्रतियोगिता जिल्लामा गोल्ड कप सञ्चालन भइरहेको र तोलोत्तमा प्रतियोगिताको प्राविधिक तयारी पुरा नभएका कारण सारिएको बताएको थियो ।
बुटवल उपमहानगपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहने यसअघि नै जानकारी गराएसकिएको छ । एन्फा टेक्निकल सेन्टर देबिनगरमा हुने प्रतियोगिताको विजेताले १० लाख ५० हजार तथा दोस्रो हुने टोलीले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सघंले प्रत्येक बर्ष पुरस्कार राशीमा बृद्धि गर्दै आएको छ । गतबर्षको विजेताले ८ लाख ८८ हजा रुपैयाँ प्राप्त गरेको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटर साइकल तथा विधागत उत्कृष्ट ४ खेलाडी र प्रशिक्षकले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा विदेशी क्लब, ए डिभिजन क्लब, आयोजक र अन्य जिल्लाका केहि क्लबको सहभागिता रहने बताइएको छ ।
२०३१ सालमा स्थापना भएर २०३३ सालबाट शुरु भएको तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिता घरेलु फुटबलको पुरानो गोल्डकप मध्येको एक हो । तिलोत्तमा एन्फाको क श्रेणी प्राप्त प्रतियोगिता हो ।