5 years ago
August 2, 2020
प्रकाश तिमल्सिना, काठमाडौं
समाजमा डाक्टरलाई भगवानको अर्को रुप मानिन्छ । आशा मारिसकेका मान्छेले पनि डाक्टरको उपचारकै कारण नयाँ जीवन पाएको उदाहरण हाम्रो वरपर थुप्रै छन् । झन्डै छ महिना यता कोरोना भाइरस कोभिड १९ ले विश्वभर महामारीका रुप लिँदा सबै भन्दा बढी तीनै डाक्टर र अन्य स्थास्थ्यकर्मीले गरेको कामका कारण उनीहरुप्रति धेरैको श्रद्धा बढेको देखिएको छ ।

वर्तमान समयमा विश्वव्यापी रुपमा अदृश्य रोग कोभिड १९ सँग लड्ने फ्रन्टलाइनमा तीनै डाक्टर र स्वास्थ्यकर्मी रहेका छन् । यति बेला उनीहरुले व्यवासायिक हिसाबले मात्र नभएर बढी परोपकारी मनले आफुलाई समर्पित गरेको देखिन्छ । नेपाली समाजमा अहिले पनि डाक्टर, इन्जिनियर, पाइलट वा आर्थिक रुपले अलि बढी सुरक्षित देखिने लाई माथिल्लो दर्जाको पेशाका रुपमा हेरिन्छ । समाजका ती प्रतिष्ठित डाक्टरले पनि खेलाडीलाई सम्मानका दृष्टिले हेर्ने गरेको एउटा उदाहरण शनिबार आयोजित एउटा कार्यक्रममा देखियो ।
राष्ट्रिय फुटबल टोलीको कप्तानको समेत जिम्मेवारी निर्वाह गरिरहेका गोलकिपर किरण चेम्जोङलाई अर्थोप्लास्ट रिह्याब सेन्टरले आफ्नो ब्रान्ड एम्बेसडर घोषणा गर्ने कार्यक्रम थियो । त्यस कार्यक्रममा अर्थोप्लास्टसँग सम्बन्धित व्यक्तित्व, किरण, प्रमुख अतिथिका रुपमा रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष उपेन्द्रमान सिंहसहित ७ जना वक्ता थिए । त्यसमध्ये एक थिए डाक्टर राजीवराज मानन्धर ।
सम्झौता अघि बोलेका डा. मानन्धरले आफ्नो मन्तव्यको सुरुवात यसरी गरे, ‘मैले किरण जीलाई अहिलेसम्म टिभिमा देखेको थिए । प्रत्यक्ष देख्न पाएको थिइन । आज भेट्ने अवसर जुर्यो । अन्त्यमा एउटा फोटो खिच्छु है ।’
अर्थोस्कोपिक सर्जन मानन्धरले आफ्नो मन्तव्यका क्रममा खेलाडीले चोटबाट बच्ने विषयमा जान्नुपर्ने लगायतका विषयमा बोलेका थिए । तर, मलाई उनको भने उनको त्यो खेलाडीप्रतिको सम्मानले तानी रह्यो । समाजले नै उच्च सम्मानका साथ हेर्ने डाक्टरले एउटा खेलाडीप्रति देखाएको सम्मान साच्चै उदाहरणिय थियो ।

पछि मैले डा. मानन्धरसँग थप कुराकानी गरेपछि अझै बढी प्रष्ट भएँ । उनले भने, ‘मलाई खेलाडी भनेका साच्चै देशका ठूला मान्छे हुन् भन्ने लाग्छ । देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने खेलाडी त्यसमा पनि कप्तानसँग भेट्न पाउनु मेरो लागि सम्मानको विषय हो । त्यसैले मैले फोटो खिच्छु भनेको हुँ । त्यो मेरो लागि अवसर र यादगार क्षण हो । पछि सम्म पनि मलाई त्यो दिनको सम्झना आउनेछ ।’
डा. मानन्धरले देखाएको सद्भावप्रति किरणको खुसीको सिमा थिएन । ‘उहाँ फुटबललाई मात्र फलो गर्ने समर्थक त पक्का होइन । तर पनि डाक्टर सापले त्यस्तो याद गर्नुहुँदो रहेछ । खेलकै कारण मलाई चिन्नु भएको र फलो गर्नुहुँदो रहेछ’, किरणले खुसी हुँदै भने, ‘हाम्रो कामको पनि मुल्यांकन भइराख्ने रहेछ । त्यो सुनेर मलाई एकदमै गर्व महसुस भयो ।’
किरणले आफूलाई डाक्टर समाजको प्रतिष्ठित पेशाकर्मी लाग्ने सुनाउँदै भने, ‘तर उहाँले हामीलाई त्यो सम्मानका साथ हेर्दा आफ्नो खेल जीवन प्रति झन बढी गर्व महसुस भयो । ए साच्चै राम्रो क्षेत्रमा रहेछु भन्ने लाग्ने रहेछ ।’
उता डाक्टर मानन्धरले भने नेपाली खेलाडीले सञ्चारमाध्यम र अहिले समाजिक सञ्जालका कारण खेलाडीको केहि चर्चा भएपनि जति सम्मान पाउनुपर्ने हो त्यति पाए जस्तो नलागेको सुनाए । ‘भारतमा हेरौं सचिन तेन्दुल्करले आफ्नो समयमा राम्रो खेले । उनको कस्तो सम्मान प्रतिष्ठा छ । आर्थिक कारणले पनि उनले कुनै चिन्ता गर्नुपर्दैन । खेलाडी जति सम्मानका हकदार छन् । हामी कहाँ त्यो स्तरको एटेन्सन पाएको जस्तो लाग्दैन, उनले थपे, ‘हरेक व्यक्तिको आ आफ्नो ठाँउमा महत्व छ भन्ने विषयलाई हामीले विर्सन हुँदैन ।’

नेपाली खेलकुदका बारेमा धेरै जानकारी राख्न नसकेपनि पेशाका कारण भने खेलकुदसँग जोडिराख्नु पर्ने डा. मानन्धरको अनुभव छ । ‘किरणसँगै क्रिकेटका पारस खड्का, सन्दीप लामिछानेका बारेमा पनि मलाई थाहा छ । अहिले त समाजिक सञ्जालका कारण पनि धेरै जानकारी हुन्छ’, उनले थपे, ‘खेलकुदका बारेमा थाहा हुन्छ । व्यवसायिक पढाई, कामका सिलसिलामा अलि बढी व्यस्त भएपनि खेलकुदबाट टाढा छैन । सामान्य जानकारी लिएकै हुन्छु ।’
डा. मानन्धरका बुझाईमा विगतमा डाक्टर, इन्जिनियर, पाइलट लगायतका पेशालाई अलि बढी महत्व दिने गरिएपनि पछिल्लो समय शिक्षाका कारण समाजमा अन्य पेशालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । ‘पहिला पढ्ने मान्छे अलिक कम थिए । हाम्रो पेशामा अलि बढी नै पढ्नु पर्ने भएकाले अलि विशेष हिसाबले हेरिएको पनि होला’, उनले अनुभव सुनाए, ‘अहिले हरेक मान्छेले पढ्छ । जुनसुकै फिल्ड खेलकुद, सिनेमा वा अन्य सबै क्षेत्रमा पढेलेखेका मान्छे छन् । त्यसले अब अरु पेशालाई पनि हेर्ने नजर बदलिएको छ ।’
डा.मानन्धरले जुन पेशामा भएपनि आफ्नो तर्फबाट उत्कृष्ट दिने प्रयास गर्नु महत्वपूर्ण हुने बताए । ‘समाजमा सबै डाक्टर वा इन्जिनियर हुने भन्ने हुँदैन । अलग अलग क्षेत्रको आवश्यकता पर्दछ । त्यसले मात्र समग्र देशको विकास देखिन्छ’, उनले भने, ‘यो शिक्षाले ल्याएको परिवर्तन हो । त्यसमा खेलकुद त देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने माध्यम हो । विश्वमै यसको महत्व धेरै छ ।’
आफ्नो क्षेत्रमा उत्कृष्ट हुन सकेको खण्डमा आर्थिक रुपमा पनि कठीन नहुने मानन्धरले बताए । ‘हामी डाक्टरले आफ्नो पेसेन्टबाट आम्दानी गर्ने हो । तपाई वेष्ट हुनुहुन्छ भने विरामी तपाईलाई खोज्दै आइपुग्छ’, काठमाडौं मेडिकल कलेजका सर्जनले थपे, ‘खेलकुदमा पनि त्यहि हो । तपाई राम्रो हुनुहुन्छ भने तपाईको खेल हेर्न फ्यानले पैसा तिर्छ । त्यो पैसा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा तपाई कहाँ आउँछ । आफ्नो क्षेत्रमा उच्कृष्ट हुँदा त्यसले आर्थिक रुपमा पनि सघाउ पुर्याउँछ ।’

डा. मानन्धरको भनाईमा किरण पनि सहमत देखिए । ‘म को हु भन्ने थाहा पाउनुपर्छ । व्यवसायिक रुपमा सफल हुनका लागि मुख्य रुपमा आफैं जिम्मेवार हुनुपर्दछ’, आइलिग र माल्दिभ्स लिगको अनुभव बटुलिसकसको उनले थपे, ‘फुटबलमा तपाई अब्बल हुनुहुन्छ भने पक्कै पनि विदेश क्लबले तपाईलाई खेल्न बोलाउँछ । त्यसका लागि तपाईले मौका पाउँदा प्रमाणित गर्न सक्नुपर्छ । उत्कृष्टहरुको खोजी सबै क्षेत्रमा हुन्छ ।’
हरेक पेशाको प्रकृति फरक हुने भएकाले त्यसलाई भने ख्याल गर्नुपर्ने हुन्छ । ‘खेलाडीको सक्रिय जीवन अन्य पेशाको भन्दा कम हुन्छ । एकदमै फिट हुने खेलाडीले पनि अपवादबाहेक ३५ देखि ४० वर्षको उमेरमा खेल जीवनबाट अलग भएको देखिन्छ । कतिपय खेलाडी भने चोट र आर्थिक कारण पलायन भएका थुप्रै छन् । तर, तपाईले रोजेको क्षेत्रमा उत्कृष्ट हुन सक्दा नामसँगै दाम पनि कमाएको नेपाली खेलकुदमै थुप्रै उदाहरण छन् ।’
खेलकै कारण डा.मानन्धरले किरणप्रति देखाएको त्यो सम्मान हरेक खेलाडीप्रतिको सम्मानको एउटा उदाहरण मान्न सकिन्छ । मानन्धर र किरण त प्रतिनिधि पात्र मात्र हुन्, समाजमा खेलकुदलाई हेर्ने नजर युवा उमेर समूहमा खेलप्रतिको आकर्षणले पनि प्रष्ट हुन्छ । विभिन्न एकेडेमीमा बाबुआमाले नै छोराछोरीलाई लिएर जाने, खेलकुदमा लाग्न प्रेरित गर्ने, खेल सामग्री खरिद गरिदिने लगायतको गतिविधि बढ्दै जानुले पनि खेलप्रति दृष्टिकोण परिवर्तन भएको मान्न सकिन्छ ।
खेलकुदमा लागेपछि इज्जत र सम्मान त छँदै छ, आर्थिक रुपमा पनि जिविकोपार्जन मात्र नभएर मनग्य आयआर्जन गर्न सकिन्छ भन्ने पछिल्लो समयमा देखिएको छ । त्यसअर्थ खेलाडीले समाजमा हिनता होइन गर्व गर्ने ठाउँ बनाएका छन् । खेलाडीहरुलाई पछ्याउनेको हाम्रो देशमा कमी छैन । कार्यक्रमको अन्त्यमा डा. मानन्धर किरणसँग फोटो खिचेर बिदा भएका थिए ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]