एजेन्सी – फ्रेन्च लिग वानमा आज राति दुई खेलमा प्रतिस्पर्धा हुदैछ । दोस्रो स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एन्जर्ससँग प्रतिस्पर्धा गर्दा मार्से र निम्सबीच पनि खेल हुदैछ ।

पीएसजी र एन्जर्सबीचको खेल नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । पीएसजी एन्जर्सलाई हराउदै शीर्षस्थानमा उक्लने दाउमा हुनेछ । एन्जर्सलाई हराउन सके पीएसजीले लियोनलाई २ अंकले पछि पार्दै कम्तीमा एक दिन शीर्षस्थानमा रहनेछ । पीएसजीको १९ खेलबाट ३९ अंक छ । शीर्षस्थानको लियोनको ४० अंक छ ।
पीएसजीसँग नेयमार, केलियन एमबाप्पे, एन्जल डि मारिया, मोउरो इकार्डी, एन्डर हेरेरा, मार्काे भेराट्टी, प्रेसने किमपेम्वे, मार्किन्हस, लेभिन कुर्जावा, एलेसान्द्रो फ्लोरेन्जी र गोलरक्षक केलर नाभासजस्ता खेलाडीको साथ रहेको छ । एन्जर्सविरुद्ध प्रशिक्षक मौरिसियो पोचेटिनो टच लाइनमा हुनेछैन । उनी कोरोना संक्रमणका कारण सेल्फ आइसोलेसनमा रहेका छन् । फ्रेन्च सुपरकप जितेको दुई लिनपछि टोलीको कोरोना परिक्षण गर्दा प्रशिक्षक पोचेटिनोमा कोरोना देखिएको थियो ।
यता, एन्जर्स पनि पीएसजीलाई स्तब्ध पार्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । एन्जर्स १९ खेलबाट ३० अंक जोडेर सातौ स्थानमा रहेको छ । एन्जर्ससँग लोइस डिओनी, एन्जेलो फुलगिनी, पिएरिक क्यापेले, थोमस मानगानी, इस्माइल ट्राओरे, रोमेन थोमस र गोलरक्षक पल बर्नारडोनीको साथ रहेको छ ।
पीएसजी एन्जर्ससँग अपराजित छ । यि दुई टोलीबीचको १२ खेलको नतिजामा पीएसजी ११ खेलमा विजयी हुदा एक खेल बराबरीमा सकिएको छ । पीएसजी सोही अपराजित यात्रालाई निरन्तरता दिने दाउमा रहँदा एन्जर्स पीएसजीसँगको जितविहीन यात्रालाई पुर्णविराम लगाउने लक्ष्यमा हुनेछ ।