एजेन्सी – बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सीले केहि खेलेको प्रतिबन्धको सामना गर्नुपर्ने भएको छ । स्पेनिस सुपर कपको फाइनलमा आइतबार विपक्षी खेलाडीलाई हात हालेपछि खेलको थप समयको अन्त्यतिर मेस्सीले सिधा रातो कार्डको सामना गर्नुपरेको थियो ।

बिना बल रहेको मेस्सीले एथलेटिक बिल्बाओका एसियर भिल्लालेब्रीको अनुहारमा हानेका थिए ।
रेफ्री जिसस गिल मान्जोनाले त्यो घटना देखेका थिएनन् । पछि उनले भिएआरको मद्दतमा घटना हेरेपछि मेस्सीलाई सिधै रातो कार्ड देखाएका थिए । अब मेस्सीले कम्तीमा २ खेलको प्रतिबन्ध बेहोर्नुपर्ने हुनसक्छ ।
प्रतियोगिता नियमावलीको आर्टिकल ५६.८ का अनुसार प्रतिबन्ध घरेलु प्रतियोगितामा लागु हुनेछ । अघिल्लो वर्ष फेडे भाल्भार्डेले जस्तै मेस्सीले त्यहि कारणवहीको सामना गर्नुपर्ने हुन्छ । त्यसर्थ मध्यसाता कोमेलाविरुद्ध हुने कोपा डेल रेको खेल मेस्सीले गुमाउनेछन् ।

उनले त्यसपछिको अर्को खेल र ला लिगाका दुई खेल गुमाउनुपर्ने हुन सक्दछ । यदि कोपामा पराजित भएको खण्डमा भने मेस्सीले ला लिगाका ३ खेल गुमाउनुपर्ने अवस्था आउन सक्दछ ।
गत सिजन उपाधिविहिन रहेको बार्सिलोना यसपटक पनि उच्च प्रदर्शन गर्नबाट चुकिरहेको छ ।
केहि महत्वपूर्ण खेलाडी घाइते भएका छन् । ला लिगामा टोली ३४ अंकका साथ तेस्रो स्थानमा छ । समान १८ खेल खेलेको रियल म्याड्रिडको ३७ अंक र २ खेल कम खेलेको एट्लेटिको म्याड्रिड ४१ अंकसहित शीर्षस्थानमा छ ।