काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले झन्डै १० महिनापछि ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापामाथिको निलम्बन फुकुवा गरेको छ । एन्फाको १९ औं साधारण सभाको अघिल्लो दिन थापामाथिको कारवाही हटाएको हो ।

अनुशासनको कारण देखाउँदै गत जेठ ५ गते एन्फा सचिवालयले थापालाई अर्को साधारण सभासम्मका लागि निलम्बन गरेको थियो । सचिवालयको निर्णयलाई जेठ १९ को कार्यसमिति बैठकले अनुमोदन गरेको थियो । थापाले बुझाएको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै एन्फाले उनीमाथि कारवाही गरेको बताएको थियो ।
एन्फा डे (वैशाख २२ गते) का दिन एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले ए, बी र सी डिभिजन क्लबका पदाधिकारी रहेकोे भाइबर समूहमा दिएको शुभकामनामा थापाले ‘आज एन्फा डे होइन चोरहरुको श्री गणेश डे हो’ भनेर प्रतिक्रिया दिएका थिए । त्यसलाई एन्फाले अपशब्द प्रयोग गरेको ठहर गरेको थियो छ । एन्फाले त्यो विषयमा ४८ घन्टा भित्र स्पष्किरण बुझाउन पत्र काटेको थियो । थापाले स्पष्टिकरण बुझाए पनि । तर एन्फाले त्यसलाई चित्त बुझ्दो नभएको जनाएको थियो ।
‘आफ्नोतर्फबाट केहि कमजोरी भएपनि पछि पूर्वाग्रही ढंंगले निलम्बन गरेकोले निलम्बन फुकुवा हुनुलाई थापाले स्वभाविक रुपमा लिएका थिए । मेरो केहि शब्द सहि थिएनन्, तर मैले जे जति विषय उठाएको छु ती सहि नै थिए,’ थापाले भने, ‘ममाथिको कारवाही की साधारण सभामा लानु पर्ने थियो की फुकुवा गर्नुेपर्ने हुन्थ्यो । त्यसले फुकुवा गरेको हुनुपर्दछ ।’
‘च्याट ग्रुपका विषयमा स्पष्टिकरण सोध्दा उल्टै १५–२० वटा प्रतिप्रश्न गरेर पठाएको छ । यस्तो अवस्थामा संस्था निरिह भएर बस्न मिल्दैन । सोही कारण सम्पुर्ण कार्यसमितिसंग छलफल गरेर निलम्बनको कारबाही गरिएको हो,’ त्यति बेला एन्फा बैठकको निर्णयमा उल्लेख थियो । थापाको स्पष्टिकरण पत्र चित्त बुझ्दो नभएको र यस्तो अपशब्दमा संस्था निरिह भएर बस्न नमिल्ने र स्पष्टिकरण सोध्दा उल्टै प्रतिप्रश्न गर्दै जवाफ पठाएको भन्दै कारबाही गरिएको बैठकले निर्णय गरेको थियो ।

त्यति बेला थापाले आफूमाथि गरिएको कारबाही अवैधानिक रहेको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) सहित फिफा, एएफसी लगायतका निकायमा उजुरी दिएका थिए । उनले आफुलाई कारबाही गर्ने वैधानिक अधिकार सचिवालयलाई नभएको भन्दै अवैधानिक कारवाहीमा हस्ताक्षर गर्ने महासचिवसमेतलाई कारबाहीको माग गरेका थिए ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरले साधारण सभा सम्मका लागि निलम्बन गरेको उल्लेख गर्दे भने, भोली साधारण सभा भएकोले हामीले आज निलम्बन फुकुवा गरेका हौं । मंगलबार हुने एन्फा साधारण सभामा एन्फा ९९ सदस्य संस्था जिल्ला, क्लब (ए,बी,सी), प्रदेश, ४ समिति (महिला, रेफ्री, खेलाडी, प्रशिक्षक), परिवेक्षक गरि झन्डै २ सय जनाको सहभागिता रहने एन्फा महासचिव तुलाधरले जानकारी दिए ।
