default_image

3 years ago

May 4, 2021

हुमागाईंको निराशाजनक बहिर्गमन

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं व्यवसायिक फुटबलमा सबै भन्दा अस्थिर पद प्रशिक्षक मानिन्छ । युरोपियन क्लब फुटबलका एक सफल प्रशिक्षक हुँदा हुँदै जोसे माउरिन्होलाई प्रिमियर टोली टोनेनहमले बर्खास्त गरेको धेरै दिन भएको छैन । उनको क्षमतामा प्रश्न गरेर होइन कि जारी सिजनमा उनको नेतृत्वमा क्लबले अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेपछि सिजन सकिनु अघि नै बर्खास्तमा […]

54 views

0 Bookmark

फेयर प्ले

प्रकाश तिमल्सिना, काठमाडौं

व्यवसायिक फुटबलमा सबै भन्दा अस्थिर पद प्रशिक्षक मानिन्छ । युरोपियन क्लब फुटबलका एक सफल प्रशिक्षक हुँदा हुँदै जोसे माउरिन्होलाई प्रिमियर टोली टोनेनहमले बर्खास्त गरेको धेरै दिन भएको छैन । उनको क्षमतामा प्रश्न गरेर होइन कि जारी सिजनमा उनको नेतृत्वमा क्लबले अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेपछि सिजन सकिनु अघि नै बर्खास्तमा परे ।

फुटबलमा बर्खास्तलाई सामान्य मानिन्छ । यसमा लज्जाबोध गर्नुपर्ने केहि छैन । फुटबलमा सफल नतिजाका लागि धेरै संयोग मिल्नुपर्छ । तर टोलीको सफलता वा असफलताको मुख्य जिम्मेवारी भनेको प्रशिक्षककै हुन्छ । सफलताको पहिलो श्रेय प्रशिक्षकलाई जाने भएपछि असफलताको अपजसको भारी पनि निश्चित रुपमा उनकै टाउकोमा हुन्छ नै ।

कोरोनाको दोस्रो लहरका कारण काठमाडौंलगायत देशका धेरै जिल्लामा निषेधाज्ञा जारी छ । त्यसका बावजुद दर्शक विना दशरथ रंगशालामा देशको पहिलो फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल) जारी छ । एनएसएलका झन्डै आधा खेल सकिदा अपेक्षित अनेपक्षित नजिता आउने क्रममा छन् ।

कर्पोरेट हाउसहरुको फुटबलमा संलग्नता, मनग्गै लगानी, घरेलु फुटबलका अन्य प्रतियोगिता भन्दा तुलानात्मक रुपमा राम्रो व्यवस्थापन विदेशी खेलाडी र प्रशिक्षक तथा रेफ्रीको केहि विवादस्पद निर्णयका कारण एनएसएल चर्चामा छ । फुटबलप्रेमीले टेलिभिजनमार्फत एनएसएललाई नियालिरहेका छन् । यी सबैभन्दा फरक आइतबारको खेलपछि एउटा खबरले तरंग ल्यायो । त्यो थियो प्रदीप हुमागाईं प्रशिक्षकका रुपमा अब ललितपुर सिटी एफसीमा रहने छैनन् ।

पोखरा थन्डर्ससँग गोलरहित बराबरी खेलेको केहि समयपछि यो खबर भुसको आगो झै सल्कियो । पोष्ट म्याच कन्फ्रेन्समा हुमागाईं आफैं उपस्थित भएर खेलको समिक्षा गरेका थिए । त्यतिबेला सम्म उनको बर्खास्त वा राजीनामा कुनै प्रसंग चलेन । पत्रकार सम्मेलन सकिएर सञ्चारकर्मीहरु घर फर्कने तयारी गर्ने क्रममै हुमागाईं बर्खास्त भएको खबर एक कान दुई कान मैदान भइसकेको थियो । त्यसपछि अनलाइन पोर्टलहरुमा बर्खास्तको समाचार आउन थाल्यो, जुन स्वभाविक थियो ।

ललितपुर एफसीका मालिककै भनाई उद्धत गर्दै समाचार आइसकेको थियो । त्यसको केहि समयपछि हुमागाईंले लिखित राजीनामा समाजिक सञ्जालमार्फत सार्वजनिक गरे । ललितपुरले सोमबार सामाजिक सञ्जालमार्फत हुमागाईले टोलीको खराब नतिजाका कारण राजीनामा दिएको र क्लबले त्यसलाई स्वीकार गरि सहायक प्रशिक्षक राजु तामाङलाई कार्यवहाक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको जनाएको छ ।

फुटबलमा यी सब सामान्य प्रक्रिया भन्ने पर्छ । ४ खेलमा ललितपुरले ३ अंक मात्र जोड्न सकेको छ । एक खेलमा पनि जित हासिल गर्न नसक्दा दबाबमा पर्नु स्वभाविक थियो । त्यसको पहिलो शिकार हुमागाईं हुनुपनि त्यतिकै स्वभाविक छ । चाहे त्यो बर्खास्त होस् वा उनले स्वच्छिक रुपमा दिएको राजीनामा नै ।

निकालिएको भन्दा आफ्नो नैतिकताका आधारमा छाडेको भन्दा बढी सान्दर्भिक लाग्ने सोचेर नै होला हुमागाईंले हतारमा राजीनामा दिए । उनले अनलाइन पोर्टलमा बर्खास्त भएको समाचार आएपछि मात्र आफूले राजिनामा दिएको लेख्नुले यो बुझ्न कठीन छैन । खैर बर्खास्त वा राजीनामा जे भएपछि अब हुमागाईं ललितपुर सिटीको अंग रहेनन् । यो प्रसंगमा यति बुझ्दा ठीकै हुन्छ ।

तर नेपाली फुटबलमा हुमागाईंको प्रसंग यतिमै टुंग्यायो भने त्यो अन्याय हुन सक्छ । उनी फुटबल भनेपछि हुरुक्कै हुन्छन् । यसमा कसैले शंका गर्न आवश्यक छैन । सामान्य फुटबल खेलाडीबाट सुरु भएको उनको यात्रा अध्ययन, राजनीति र पछि फुटबल प्रशिक्षकका रुपमा जोडिएको इतिहास छ ।

तत्कालिन शिक्षा क्याम्पसमा दुई पटक स्ववियू सभापति भएका उनले तीन विषयमा स्नात्तकोत्तर गरेका छन् । त्यसपछि उनी २०६८ साल तिर काठमाडौं विश्वविद्यालय स्कुलको छात्रा टोलीको प्रशिक्षक थिए । तर, उनी त्यो भन्दा ठूलो जिम्मेवारी चाहन्थे । हुमागाईं महत्वकांक्षी मात्र होइन मिहिनेती पनि छन् । त्यसबीचमा उनले हिमालयन शेर्पामा स्वयंसेवक प्रशिक्षकका रुपमा पनि तत्कालिन प्रशिक्षक उपेन्द्रमान सिंह (हाल अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष) लाई सघाएका थिए ।

फुटबलकर्मीसँग नजिकको सम्बन्ध बनाउन प्रयासरत उनले एएफसी सी लाइसेन्स लिइसकेका थिए । त्यहि क्रममा उनी एन्फाका तत्कालिन उपाध्यक्ष एवं रुस्लान थ्री स्टार क्लबका अध्यक्ष ललितकृष्ण श्रेष्ठको सम्पर्कमा पुगे । श्रेष्ठले उनलाई २०६९ भदौंमा मेघराज केसी जो त्यति बेला थ्री स्टारका प्रशिक्षक थिए उनको सहायकका रुपमा क्लबमा भित्राए । केसी अहिले चितवन एफसीको प्रशिक्षक छन् ।

प्रशिक्षण पेशालाई नै आफ्नो करियरका रुपमा बनाउने सपना देखेका हुमागाईं केसीको नेतृत्वमा धेरै सिक्ने आशा थिए । उनी आबद्ध भएको केहि समयमै एनसेल कपमा थ्री स्टारले समूह चरणका दुई खेलमा खराब नतिजा निकाल्यो । पहिलो खेलमा मध्यपुर युथ एकेडेमीसँग बराबरीमा रोकिएको थ्री स्टार दोस्रो खेलमा फ्रेन्ड्स क्लबसँग पराजित भएको थियो । त्यहि खेलपछि पत्रकार सम्मेलनमा तत्कालिन प्रशिक्षक केसीले आफूले राम्रो नतिजा दिन नसकेको भन्दै राजीनामाको घोषणा गरे ।

त्यसपछिको खेलमा थ्री स्टारले हुमागाईंलाई कार्यवाहकको जिम्मेवारी सुम्पिएको थियो । उनको नेतृत्वमा थ्री स्टारले समूह चरणको तेस्रो खेलमा एपिएफसँग बराबरी खेल्यो । थ्री स्टार समूह चरणबाटै बाहिरिएपनि क्लबमा भने उनको निरन्तरता रह्यो । उनकै प्रशिक्षणमा थ्री स्टारले लिग खेल्यो र च्याम्पियन बन्यो ।

त्यहिंबाट हुमागाईंले घरेलु फुटबलमा चर्चाको शिखर चढे । कतिपयले हुमागाई थ्री स्टार राम्रो टोली भएकोले उनी निमित्त प्रशिक्षक मात्रै थिए पनि भने । तर, जे होस उनले थ्री स्टारलाई ए डिभिजन लिग च्याम्पियन बनाउने इतिहास रचे । त्यहि बर्ष आहा रारा गोल्डकप र उदयपुर गोल्डकपमा पनि उपाधि जिताए । एएफसी प्रेसिडेन्ट्स कपमा पनि उनी र अन्जन केसीले थ्री स्टारको प्रशिक्षणमा सम्हालेका थिए । यद्दपी त्यो बीचमा पनि हुमागाईं विवादमा भने परिरहे ।

खरो बोल्ने भएका कारण उनी धेरैका प्रिय भने बन्न सकेनन् । थ्री स्टारमा एक वर्षभन्दा केहि लामो समय बिताएपछि उनी त्यहाँबाट अलग भए । पत्रकार सम्मेलन गरेर नै उनले थ्री स्टार पूर्ण रुपमा व्यवसायिक हुन नसकेको अपजस लगाउँदै अलग भए ।

थ्री स्टारसँग अलग भएको केहि समयपछि उनी अमेरिका पुगे । त्यहाँ पनि उनले फुटबल संघको नाता तोडेनन् । एउटा एकेडेमीको प्रशिक्षकका रुपमा लामो समय काम गरे । प्रशिक्षणकै सिलसिलामा बेलायत पनि पुगे । त्यहि क्रममा नेपाल फर्केका एएफसी ए लाइन्सस कोर्ष पनि पूरा गरे । नेपाल बसाईका क्रममा पोखराको सहारा क्लबले सञ्चालन गरेको एकेडेमीमा दुई साता अभ्यास दिए ।

अमेरिका बसे पनि उनको मन भने नेपाली फुटबल वरिपरि नै घुमिरहेको हुन्थ्यो । कुराकानीका क्रममा उनले त्यो चाहना कहिल्यै लुकाएनन् । केहि महिना अघि उनी नेपाल फर्किए । यसपटक फुटबलमा केहि न केहि जिम्मेवारी लिने उनको ठूलो इच्छा थियो । अझ उनी नेपाली महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी चाहन्थे ।

एन्फाका अध्यक्षलगायत पदाधिकारी र आफूले भन्न मिल्ने सबै ठाँउमा महिला टोलीको जिम्मेवारी दिलाइदिनका उनले आग्रह गरेको चर्चा अझै सेलाएको छैन । त्यसै क्रममा उनको एन्फा कर्मचारीसँग विवाद हुँदा एन्फाले उनीसँग स्पष्टिकरण पनि सोध्यो । एन्फालाई हुमागाईले जवाफ पनि पठाए । त्यस विषयमा थप प्रश्न भएन र त्यो विवाद सेलायो । तर एन्फाले ग्यारी फिलिप्सलाई महिला टोलीको प्रशिक्षक नियुक्त गरेपछि तत्काल उनका लागि एन्फाको ढोका भने बन्द भएको छ ।

यसैबीच, एनएसएल सुरु हुने भयो । उनी ललितपुरमा आबद्ध भए । झन्डै दश वर्षअघि उनले कमाएका केहि समर्थक खुसी पनि भए । दश वर्षमा उनले पक्कै पनि फुटबल धेरै बुझेको हुनुपर्दछ । तर, जसरी उनले एनएसएल हेर्ने टोली पाए त्यसरी खरो उत्रन सकेनन् । थ्री स्टार छाडेपछि उनले सिनियर टोली हेरेको यसपटक नै हो । एनएसएल छोटो तयारीमा खेल्नु पर्दा टोलीले पर्याप्त समय पाएनन् । त्यसलाई अस्वीकार गर्न मिल्दैन ।

तर, सबै टोलीको अवस्था उस्तै नै छ । अझ फ्रेन्चाइज फुटबलमा प्रशिक्षण भन्दा बढी मेन्टरसिप महत्त्वपूर्ण हुन्छ । टोलीका खेलाडीलाई प्रशिक्षण दिने भन्दापनि एकजुट बनाएर कसरी नतिजा दिने महत्त्वपूर्ण हुन्छ । सामान्यतय क्लब फुटबलमा टोलीलाई एकतृत बनाएर, आफ्नो योजना अनुसार प्रशिक्षण दिएर टोली निर्माण गरिन्छ । यहाँ टोली निर्माण पनि आफ्नै योजना अनुसार गर्न सकिन्छ । तर फ्रेन्चाइज फुटबलमा भाग्यको पनि ठूलो भूमिका हुन्छ । एक त अक्सन/ड्राफ्टपछि आफुले चाहेको खेलाडी प्राप्त गर्न कठिन । त्यसपछि निर्माण भएको आफ्नो टोलीलाई सुहाउँदो रणनीति बुनेर नतिजा निकाल्नुपर्छ । हुमागाईं यहाँ चुके ।

उनले खेलाडीबाट प्रदर्शन त पाए, तर आफ्नो रणनीति अबलम्बन गराउन भने सकेनन् । खेलाडीको व्यक्तिगत प्रदर्शन हेर्दा ललितपुर लिगको आकर्षक टोलीमध्य एक हो । बल पोसेसनमा राख्दै विपक्षीलाई दबाबमा राख्ने ललितपुरले आक्रमणमा पनि अवसर नपाएको होइन । तर फिनिसिङमा खेलाडी चुके । ४ खेलमा ३ बराबरी गरेको यस टोलीले २ खेलमा त पेनाल्टी पनि चुकायो । यसमा टोलीलाई अभागी पनि मान्न सकिन्छ ।

ललितपुरको खेलमा हुमागाईं मुख्य प्रशिक्षक भनेपनि टचलाइनमा उनी बिरलै आएको देखियो । खेलमा अधिकांश समय सहायक प्रशिक्षक राजु तामाङ नै रहेका थिए । टोलीको रणनीति बुन्ने हुमागाईं थिए वा थिएनन्, तर मैदानमा त्यो बुझाउने तामाङ नै थिए । खेलपछि पत्रकार सम्मेलनमा आफ्नो टोलीको प्रदर्शनबारे बोल्न भने हुमागाईं नै उपस्थित रहे ।

खेलाडी छनोटमा पनि ललितपुरमा केहि प्रश्न गर्ने ठाउँ छ । विदेशी खेलाडी र नेपाली खेलाडीको स्तर उस्तै रहेको बताउने हुमागाईंले चौथो खेलमा मात्र आफ्नो मुख्य डिफेन्डर पिटर सेगुनलाई प्रयोग गर्न पाए । तर त्यसअघि पनि डिफेन्समा पाल्साङ लामाले सन्तोषजनक नै प्रदर्शन गरेका थिए ।

आक्रमणमा विमल रानामा नै भर पर्नु टोलीको लागि घातक सावित भयो । बेन्चका फरवार्ड रन्जन विष्टले बेन्चबाट मैदान छिरेर गोल गर्दै खेलमा परिवर्तन गरे । एक खेलमा त गोल समेत गरे, तैपनि सुरुवाती रोजाइमा अवसर पाएनन् ।

विदेशी खेलाडी भिलिम पोसिन्कोभिच र नुर्लान नोभ्रुजोभको प्रदर्शनमा एकरुपता रहेन । अन्य नेपाली खेलाडीझैं आक्रमण थर्डमा गएपछि समन्वय राम्रो रहेन । अझ भिलिमको शारीरिक बनोटले नेपाली डिफेन्सलाई जुन समस्या दिनुपर्ने, ललितपुर त्यसको फाइदा उठाउन पूर्ण असफल रहयो ।

अन्जन विष्टलाई रक्षात्मक रुपमा पनि जुन ड्युटी दिइएको थियो, त्यसले उनीबाट आक्रमणमा पनि शत प्रतिशत अपेक्षा गर्नु पक्कै सहज थिएन । अझ लगातार खेल हुँदा थकानले खेलाडी रोटेसन पनि खासै देखिएन । खेलाडीले आफ्नो जिम्मेवारी अनुसार खेलेपनि रणनीतिक रुपमा भने टोली चल्न सकेन ।

ललितपुरले उनलाई नियुक्त गरेपछि आयोजना गरेको पत्रकार सम्मेलनमा हुमागाईंले आफूलाई कुनै दबाब नरहेको बताएका थिए । लिगको तेस्रो खेलमा बराबरी खेलेपछि त्यहि प्रश्न थियो र उनको उत्तर त्यहि नै । चौथो खेलमा पनि बराबरी गरेपछि उनले अझ दुई खेल बाँकी रहेको र आफूहरुले नतिजा सुधार्ने बताएका थिए । तर त्यसको केहि मिनेटमा नै बर्खास्ती र राजिनामाका दावी आउन थाले ।

हुमागाईंको वर्षौं अघि छुटेको नेपाली फुटबल संघको उनको नाता एनएसएलले जोडेको थियो, तर मिसन पूरा नहुँदै उनको यात्रा टुंगिएको छ । यसलाई टुंगिएको वा टुंग्याइएको जे अर्थ दिएपनि अमेरिकी ग्रिनकार्ड लिइसकेका हुमागाईंलाई घरेलु फुटबलमा स्थापित हुनका लागि भने चुनौती थपिएको छ । फुटबल भावनाले चल्दैन भन्ने प्रष्ट भएको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.