default_image

3 years ago

May 8, 2021

फरक भूमिकामा सुजलको एनएसएल अनुभव

प्रकाश तिमल्सिना, काठमाडौं देशकै पहिलो फ्रेन्चाईज फुटबल खुकुरी नेपाल सुपर लिग (एनएसएल) सुरु हुँदा सबैभन्दा बढी खुसी खेलाडी हुनु स्वभाविक थियो । चैत ६ गते भएको अक्सनमा ८ खेलाडी सर्वाधिक २ लाख रुपैयाँमा विक्री हुँदा समाचारको प्राथमिकतामा परेका थिए । अक्सनको पहिलो अभ्यासमै सबैभन्दा बढी मुल्यमा विक्री हुँदा खेलाडीको उत्साह बढ्नु पनि त्यतिकै स्वभाविक थियो […]

125 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

देशकै पहिलो फ्रेन्चाईज फुटबल खुकुरी नेपाल सुपर लिग (एनएसएल) सुरु हुँदा सबैभन्दा बढी खुसी खेलाडी हुनु स्वभाविक थियो । चैत ६ गते भएको अक्सनमा ८ खेलाडी सर्वाधिक २ लाख रुपैयाँमा विक्री हुँदा समाचारको प्राथमिकतामा परेका थिए ।

अक्सनको पहिलो अभ्यासमै सबैभन्दा बढी मुल्यमा विक्री हुँदा खेलाडीको उत्साह बढ्नु पनि त्यतिकै स्वभाविक थियो । खेलाडीले विगतमा गरेको प्रदर्शनकै आधारमा अक्सनमा बोली लाग्ने हो । ती ८ मध्ये एक थिए सुजल श्रेष्ठ । अक्सनमा धेरै टोलीको रोजाईमा परेका सुजल गोलाप्रथामा पोखरा थन्डर्स पुगेका थिए ।

त्यतिबेला सुजलसहित राष्ट्रिय फुटबल टोली थ्री नेसन्स कपको लागि बन्द प्रशिक्षणमा थिए । सुजलले पनि पोखराको टोलीबाट पहिलो एनएसएल जित्ने सपना देख्न थाले । नवयुग श्रेष्ठ मार्की खेलाडी र नवीन न्यौपाने मुख्य प्रशिक्षक रहेको पोखराको अक्सनबाट सन्तुलित टोली तयार भएको मानिएको थियो । त्यस्तो टोलीले कडा चुनौती दिने र आफ्नोतर्फबाट पनि सक्दो भूमिका खेल्नु सुजलको एक मात्र लक्ष्य थियो ।

तर, सोचे जस्तो भएन । सुजललाई चोटले खेल्ने अनुमति दिएन । उनले आफ्नो नाम नै फिर्ता लिनुपर्ने अवस्था बन्यो । पहिलो फ्रेन्चाईज लिग नचाहदा नचाहँदै उनले दर्शकका रुपमा बिताउनु पर्ने भयो ।

पटक पटकको चोटले दिएको दुःख

राष्ट्रिय टोलीको कप्तानी समेत गरिसकेका सुजलकै नेतृत्वमा नेपालले डेढ वर्षअघि १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेको थियो । उनको चोटको सिलसिला पनि त्यसैको वरिपरिबाट सुरु भएको थियो । सागमा उनको तीघ्रामा समस्या थियो । त्यस लगत्तैको लिगमा उनलाई ग्रोइनको समस्याले सताएपछि पूरा समय मैदानमा बिताउन सकेनन् । यद्दपी उनी सम्मलित मछिन्द्र क्लबले इतिहासमा पहिलो पटक ए डिभिजिन लिग च्याम्पियन बन्यो ।

चोट विस्तारै ठीक हुँदै गयो । बंगलादेशसँग उसकै मैदानमा कार्तिक अन्तिम र मंसिरको सुरुमा भएको २ मैत्रीपूर्ण खेलमा उनी ठीक थिए । त्यसपछि पनि राष्ट्रिय टोलीले विश्व कप छनोटका लागि तयारी जारी राख्यो । कोरोनाका कारण दशरथ रंगशालामा चैतकै लागि तय विश्व कप अन्यत्रै सर्ने भयो । विश्व कप छनोट स्वदेशमा नहुने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल, बंगलादेश र कीर्गिसतान यू २३ सम्मलित थ्री नेसन्स कप (चैत १० देखि १६ गते) सम्म आयोजना गर्यो ।

थ्री नेसन्सकै दौरान सुजलले अर्को चोटको सामना गर्नुपर्यो । बंगलादेशविरुद्धको पहिलो खेलमा स्प्रिन्ट हान्ने क्रममा बायाँ खुट्टाको पिडौलामा पीडा भएपछि उनले चाहे जसरी खेल्न सकेनन् । चोटले यसरी दुख दियो कि दौडनै कठीन भयो ।

‘दौडन खोज्दा पिडौंला सुईले घोचे जस्तो हुने । त्यसपछि त केहि गर्नै नसकिने’, पीडादायी समय स्मरण गर्दै उनले भने, ‘अनि के कारणले भएको भन्ने जान्नका लागि चेक गराए । भिटामिन डीको कमी देखियो । अरु सबै रिपोर्ट ठीक थियो । त्यहि डीको कमीले हुन सक्छ भन्ने डक्टरको अनुमान छ ।’

डाक्टरको सल्लाहपछि उनले एनएसएल खेल्न नसक्ने निष्कर्षसहित नाम फिर्ता लिएका थिए । त्यो बीचमा उनले पारिश्रमिक बुझिसकेका थिए । नखेल्ने भएपछि उनी पोखरा डन्थर्सको व्यवस्थापनलाई पैसा फिर्ता गर्न गए ।

पोखराको अर्को प्रस्ताव

पैसा दिएर फर्कने सोचका साथ पुगेका सुजललाई पोखरा थन्डर्सको व्यवस्थापनले अर्को प्रस्ताव गर्यो । जुन उनले कल्पना पनि गरेका थिएनन् । मिटिङमा आफू पैसा फिर्ता दिन आएको बताए । तर टोलीले पैसा आफैंसँग राख्न सुझाव आयो । ‘खेल्न त मिलेन तर टोलीको व्यवस्थापकका रुपमा बस्न मिल्छ नि भन्नुभयो’, उनले त्यो पललाई स्मरण गर्दै भने, ‘उहाँहरुको त्यो माया देखेर मैले केहि नसोची हुन्छ भने । मेरो पीडा नै कम भएको महसुस गरे । उहाँहरुले मप्रति त्यस्तो माया देखाउनुभयो । म पोखरा थन्डर्स परिवार प्रति आभारी छु ।’

खेल्न नमिल्ने भएपछि कोरानाको दोस्रो लहरमा विना दर्शक हुने एनएसएल टिभीमै हुर्नुपर्छ भन्नेमा सुजल मानसिक रुपमा तयार थिए । पोखराको त्यो प्रस्तावले उनी टोलीको अंग भए । रंगशाला पुगेर हेर्ने वातावरण बन्यो । कल्पनै नगरेको पोखराको प्रस्तावले उनी आफूमा अन्त्यन्तै खुसी भएको भन्न सुजल कत्ति पनि अप्ठेरो मान्दैनन् ।

त्यो उहाँहरुले मलाई दिनुभएको सम्मानको रुपमा लिएको छु । म नहुँदा उहाँहरुलाई खासै फरक पर्ने थिएन । मेरो अनुभव थोरै भएपनि काम टोलीलाई लाग्यो भने मेरो लागि त्यो भन्दा खुसीको अर्को विषय हुँदैन ।

प्लेयर बक्समा बस्न कठीन

मैदानमा बलका लागि संघर्ष गर्दै आएका सुजलले फुटबल जीवनमा पहिलो पटक प्लेयर बक्समै रहेर बिताउनु परेको छ । पोखराले शुक्रबार सम्म पहिलो चरणका सबै ६ खेल खेलिसकेको छ । चितवन एफसीलाई अन्तिम खेलमा २–१ ले हराउँदै टोलीले प्ले अफमा पुग्ने सम्भावना जीवन्त राखेको छ । प्रदर्शन सन्तोषजनक भएपनि टोलीले सोचे अनुसारको नतिजा निकाल्न नसक्दा भने सुजल दुखित छन् ।

‘खेल्न नपाएको एकदमै मिस हुन्छ । इन्जुरीले गर्दा बक्समा सिमित हुन पर्दा दुःख पनि लाग्छ । राती सुत्ने बेला पनि पीडा हुन्छ’, उनले निराश हुँदै भने, ‘खेल्न पर्ने समयमा चोटले गर्दा खेल्न पाइएन भन्ने हुन्छ । मैले नै गोल गर्न त सक्थिन होला । तर टोलीलाई यो भन्दा राम्रो गर्नका लागि सघाउन सक्थें भन्ने हुन्छ ।’

प्लेयर बक्समा बसेर खेल हेर्दा अन्त्यन्तै कठीन हुने सुजलले यसै पटक अनुभव गरे । ‘खेल्न भन्दा बक्समा बसेर हेर्न झन गाह्रो हुने रहेछ । आफू त्यहाँ भएको भए अलिकति राम्रो गर्न सक्थेकी हुन्छ । आफ्नो टोलीका खेलाडीले बल अघि बढाउँदा आफ्नो चालै नपाई आफै खुट्टा चल्ने रहेछ । हाम्रो टोली सक्दो राम्रो खेलेको छ । खाली नतिजा हामीले सोचे जस्तो आउन सकेन,’ उनले थपे ।

फरक अनुभव

खेलाडीका रुपमा आफूले राम्रो खेल्नुपर्छ र टोलीलाई जिताउनुपर्छ भन्ने ध्यान हुन्छ । सुजलले यसपटक व्यवस्थापकका रुपमा फरक अनुभव गरेका छन् । खेल्न नछाड्दै व्यवस्थापनको पनि अनुभव गर्न पाए ।

‘अहिले जे सम्भव थियो त्यहि गर्ने अवसरलाई मैले बढी भन्दा बढी सदुपयोग गर्ने प्रयास गरेको छु’, उनले भने, ‘पेपरवर्क मैले गर्नुपर्ने होइन । खेलाडीलाई हौसाला बढाउने । समेट्ने । अनुभव सेयर गर्ने हो ।’

फुटबलमा दबाब स्वभाविक मान्ने सुजल अगाडि भन्छन्, ‘खेल्दाको दबाब त बानी परिससकेको छ । व्ययवस्थापकका रुपमा फरक अनुभव हुने रहेछ । आफूले के गर्न सकिन्छ पूरा टोलीको लागि भन्ने सोचाई आउने रहेछ ।’

अहिलेको यो व्यवस्थापकिय अनुभवले भविष्यमा पनि काम आउनेमा सुजल आशावादी छन् । ‘खेलाडीले कुनै दिन विश्राम लिनै पर्छ । खेल जीवनमा सक्रिय हुँदै व्यवस्थापकिय अनुभव पनि लिने मौका मिल्यो । सायदले यसले भविष्यमा फुटबलमै फरक भूमिकामा अघि बढ्न मद्दत गर्न सक्छ,’ उनले भने ।

एनएसएलले फुटबललाई अर्को स्तरमा लग्यो

घरेलु फुटबलको परम्परागत व्यवस्थापनमा बानी परिसकेकोले सुजलले एनएसएल त्यसरी नै अघि बढ्ला भन्ने सोचेका थिए । तर, जसरी कर्पोरेट हाउसहरुको आबद्धता रह्यो, खेलाडीको अक्सन, विदेशी खेलाडीको आगमन र एनएसएलको आयोजनाले उनको त्यो सोचाई बदलिदियो ।

‘हामीले सिमित श्रोतमा फुटबल खेल्दै आएका थियौं । त्यसैमा बानी परेको थियो’, उनले भने, ‘तर एनएसएल सञ्चालन भयो त्यसले फुटबलको माहोललाई अर्को स्तरमा पुर्याएको छ ।’

एनएसएलका कारण सोचे भन्दा फरक रुपमा खेलाडीलाई व्यवहार गरिएको सुजलको अनुभव छ । ‘खेलाडीलाई दिएको महत्व, सेवा, सुविधा , फाइभ स्टार होटलमा राख्ने भनेको व्यवसायिकताको अर्को स्तरमा गएको महसुस गरेको छु’, उनले थपे, ‘विगतमा भन्दा स्तरीय खेलाडीहरु देख्न पाइएको छ । खेलको स्तर पनि बढेको । प्रतिस्पर्धा झनै बढेको । विदेशीसँगै स्थानिय खेलाडीले पनि आफ्नो तर्फबाट शतप्रतिशत दिएको देखेको छ ।’

हरेक खेलाडीले अर्को वर्ष एनएसएलको पाटो हुनका लागि अझै बढी मेहनत गर्नुपर्ने देखिएको सुजलको बुझाई छ । ‘इतिहासमा म कति राम्रो छु भनेर अब हुँदैन । वर्तमानमा कस्तो खेल्छ त्यसले बढी अर्थ राख्छ’, उनले थपे, ‘आफ्नो क्षमता अनुसारको मुल्य पाउने अवस्था बनेको छ । जसले राम्रो खेल्छ उसले नै मौका पाउनु भनेको खेलाडीमा प्रतिस्पर्धा पनि बढ्नेछ ।’

सुजल खेलाडीले पनि अझै बढी सचेत हुनुपर्ने समय आएको बताउँछन् । ‘जस्तो खेले पनि क्लबले लिहाल्छ भन्ने पुरानो मानसिकताबाट अब हामीले पनि बाहिर निस्कन पर्ने भएको छ । आफूलाई सधै फिट राख्नु पर्यो । मौका मिल्दा प्रदर्शन गर्नुपर्यो । अक्सनमा पर्न अब सहज छैन भन्ने सन्देश गएको छ । यो व्यवसायिक फुटबलका लागि राम्रो प्रयास हो भन्ने लाग्छ,’ उनले प्रष्ट पारे ।

अर्को सिजनबाट एनएसएल अझै प्रतिस्पर्धात्मक हुने सुजलको विश्वास छ । ‘पहिलो आयोजनामा नै यसले घरेलु फुटबलमा एउटा मानक राखेको छ । आउने वर्षमा अझै राम्रो हुन सक्छ भन्ने अहिलेको व्यवस्थित आयोजनाले विश्वास गर्न सकिन्छ । मैले बुझे सम्म खेलाडी एकदमै खुसी छन् । यसलाई हामी सबैले सकारात्मक लिनुपर्दछ,’ उनले बताए ।

एनएसएल अझै राम्रो हुन सक्थ्यो

फुटबल दर्शक विना कल्पना गर्न सकिन्न । तर कोरानाका कारण विना दर्शक दशरथ रंगशालामा एनएसएल भइरहेको छ । सुजलले सबैभन्दा बढी दर्शक नै मिस गरेका छन् ।

उनले थपे, ‘यो प्रतिस्पर्धात्मक खेल दर्शकले रंगशालामै आएर हेर्ने समय हुन्थ्यो भने कल्पना गर्नुस् कत्ति रमाइलो हुन्थ्यो होला । खेलाडी र फुटबलमा पहिलो पटक प्रवेश गरेका कर्पोरेट हाउसको हौसला बढ्थ्यो,’ उनले भने ।

अर्को उनलाई खड्कोको पक्ष भनेको खेलाडी संख्या हो । एउटा टोलीले २० खेलाडी राख्न पाउने प्रावधान छ । फुटबलमा सके बढी नसक्दा कम्तीमा २३ खेलाडी राख्न पाउँदा राम्रो हुने उनको सुझाव छ ।

खेलाडीलाई चोट, कार्डलगायतका समस्या हुन्छन् त्यसैले संख्या अलि बढी हुनुपर्छ । त्यस्तै पहिलो पटक कम समयमा प्रतियोगिता आयोजना गर्नुपर्ने बाध्यता बुझ्न सकिने भएपनि भविष्यमा समय अवधि र तयारीको समय बढाउनुपर्ने उनको सुझाव छ । भविष्यमा एनएसएल काठमाडौं बाहिर जान सकेको खण्डमा त्यहाँका फुटबलप्रेमीले पनि आफ्नै शहरमा प्रतिस्पर्धात्मक फुटबल हेर्न पाउनेहुँदा त्यसमा पहल गर्नुपर्नेमा जोड दिन्छन् ।

‘उहाँहरुको योजना छ भन्ने सुनेको छु’, अन्त्यमा सुजलले भने, ‘काठमाडौंमा जस्तै जिल्लाहरुमा पनि फुटबल एकदमै रुचाईन्छ । उहाँहरुलाई पनि ध्यानमा राखेर आउने संस्करण हुन सके त्यसले घरेलु फुटबललाई थप उचाईमा लानेछ ।’

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.