default_image

3 years ago

May 10, 2021

संकटमोचक तामाङ

प्रकाश तिमल्सिना, काठमाडौं देशको पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) आयोजना हुने खबर सुन्दा पूर्व राष्ट्रिय खेलाडी राजु तामाङ खुसी भए । उनलाई आशा लाग्यो व्यवासायिक फुटबलमा एउटा नयाँ प्रयोग सफल भए त्यसले देशकै फुटबललाई फाइदा गर्नेछ । तर, उनी आफैंले एनएसएलका सहभागी कुनै टोलीमा आबद्ध हुने कल्पना पनि गरेका थिएनन् । सक्रिय खेल […]

100 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

देशको पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) आयोजना हुने खबर सुन्दा पूर्व राष्ट्रिय खेलाडी राजु तामाङ खुसी भए । उनलाई आशा लाग्यो व्यवासायिक फुटबलमा एउटा नयाँ प्रयोग सफल भए त्यसले देशकै फुटबललाई फाइदा गर्नेछ । तर, उनी आफैंले एनएसएलका सहभागी कुनै टोलीमा आबद्ध हुने कल्पना पनि गरेका थिएनन् ।

सक्रिय खेल जीवन छाडेको ३ वर्ष भइसकेकोले खेल्ने सपना देख्ने कुरै भएन । प्रशिक्षणमा पनि उनीसँग त्यति लामो अनुभव नभएपछि कतैबाट अफर आउने आशा राख्ने ठाँउ पनि भएन । समय बित्दै गयो, उनी ललितपुर एफसीको सहायक प्रशिक्षक बने । उनलाई त्यो अवसर दिएका थिए ललितपुरका पूर्व मुख्य प्रशिक्षक प्रदीप हुमागाईले । हुमागाईको प्रस्तावलाई सहजै स्वीकार गर्दै उनी ललितपुरमा आबद्ध भए । प्रशिक्षणमा केहि सिक्ने अवसर हो, यो मौकालाई छाड्न हुन्न भन्ने उनलाई लाग्यो ।

लिग चल्दै जाँदा यस्तो समय आयो जुन सायदै कसैले सोचेको थियो । एनएसएलमा ललितपुरले सोचजस्तो नतिजा निकाल्न नसक्दा हुमागाई बर्खास्तमा परे । उनले विश्वास गरेका तामाङलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइयो । हुमागाईको नेतृत्वमा ललिपुरले ४ खेल खेल्दा ३ मा बराबरी र १ मा हार बेहोर्यो । अन्तिम २ खेलअघि टोलीको ३ अंक मात्र थियो । चरम दबाबका बीच हुमागाईलाई हटाएर तामाङलाई जिम्मेवारी दिने जोखिम ललितपुरले लियो । व्यवस्थापनको त्यो निर्णय तामाङका लागि अप्रत्यासित थियो ।

‘मलाई उहाँले ल्याउनुभएको थियो । उहाँ टोलीमा नहुँदा दुःख लाग्यो । हामी सबै एकदम दबाबमा थियौं’, उनले भने, ‘तर भावना एउटा पाटो भयो । व्यावसायिक जीवनमा आफूलाई आउने जिम्मेवारी लिनु पर्छ भन्ने लाग्यो । मेरो लागि त्यो चुनौतीपूर्ण अवस्था थियो । चुनौतीमा नै आफूलाई प्रमाणित गर्न प्रयास गर्नुपर्छ भन्ने लाग्यो । क्लबको प्रस्ताव स्वीकार गरे ।’

हुमागाईको दुर्भाग्य भन्नेकी तामाङको भाग्य सोही टोलीले उनको नेतृत्वमा लगातार २ खेल जित्यो । एनएसएलबाट बाहिरिने डिलबाट ललितपुरलाई उनले उपाधि दौडमा फर्काए । दुवै खेल नजित्दा टोली एनएसएलबाट बाहिरिने तय थियो । अन्तिम खेलमा विराटनगरलाई ४–० ले हराएपछि उनले भनेका थिए, ‘मैले टोलीमा खासै केहि परिवर्तन गरेको होइन । अघिल्ला खेलहरुमा पनि हामीले राम्रो खेल्दा पनि स्कोर गर्न सकेका थिएनौं । फिनिसिङमा चुकिरहेका थियौं । त्यसमै बढी ध्यान दियौं र सफलता पनि मिल्यो ।’

सबै चिज भएर पनि नतिजा नआउँदा आफूमा पनि त्यसको दबाब स्वभाविक रुपमा रहेको तामाङ बताउँछन् । ‘अघिल्ला खेलको नतिजा सम्झदा हामीलाई थप दबाब हुन सक्थ्यो । हामीले हरेक खेललाई फाइनलका रुपमा लिएर खेल्न पर्ने अवस्था थियो । चौथो खेलपछि दुई दिनको विश्राम थियो । नतिजा निकाल्न नसक्दा टोलीका खेलाडीमा फ्रस्टेसन जस्तो थियो । आत्मबल बलियो र हामी सक्छौं भन्ने भावनाको विकास आवश्यक थियो’, उनले भने, ‘एकले अर्कालाई सहयोग र विश्वास गरेर खेल्ने । सकारत्मक हुन जागरुक गराउने कोसिस गरें ।’

खेलमा अघिको ब्रिफिङ स्मरण गर्दै तामाङले थपे, ‘गोलका लागि मात्र हतार गर्दा खेल बिग्रन सक्छ । सुरुमै वा पहिलो हाफमै गोल गर्छौ भन्ने सोच्न आवश्यक छैन । गोल ननिस्के पनि धैर्य गुमाउनु भएन । हतारिएर गोल हुने हैन । ९० मिनेटनै राम्रो खेल्न सके गोल निस्किन्छ भन्ने विश्वास गर्नुपर्छ । युवा खेलाडीलाई परिपक्क प्रदर्शनका लागि प्रेरित गरे ।’

तामाङले जितको खुसी कस्तो हुन्छ भन्ने अनुभव बुटवल लुम्बिनी एफसीविरुद्धको खेलमा पुगेर महसुस गर्न पाएको बताए । ‘त्यसअघिका खेलमा पनि हामी जितको नजिक पुगेर पनि चुकेका थियौं । बुटवलविरुद्धको खेलमा जितबाहेकको विकल्प हामीसँग थिएन । अन्त्यमा सफल भयौं। त्यसपछि मात्र हामी पनि जित्न सक्छौं भन्ने विश्वास बढ्यो । त्यहि खेलले दोस्रो जितको आधार तयार पार्यो भन्ने ठान्दछु । त्यसअघिका खेलमा हामीलाई भाग्यले साथ दिएको थिएन,’ उनले अनुभव साटे ।

आफूप्रति क्लब व्यवस्थापनले देखाएको विश्वासका लागि उनले धन्यवाद दिए । ‘अघिल्लो चरणमा पुग्न सक्दैन कि भन्ने अवस्थाबाट जोखिम लिएर मलाई जिम्मेवारी दिनुभयो, त्यो सहज निर्णय पक्कै थिएन’, उनले भने, ‘कल्पना नै नगरेको जिम्मेवारीले सायद मलाई चुनौती अवश्य बढ्यो । तर सफलता पनि त्यस्तै चुनौतीबाट निस्कने महसुस गरेको छु ।’

पहिलो जितपछि टोलीको मानसिकतामा नै परिवर्तन आएको उनको अनुभव छ । ‘मार्की खेलाडी समेत रहेका अन्जन विष्टको प्रदर्शन स्मरणिय थियो । पेनाल्टी विपक्षी गोलकिपरले रोक्नु, रिप्लेमा हेर्दा गोललाई अफसाइड लिइदा र थप गोल नहुँदा त्यसअघि उमाथि पनि दबाब थियो । मुख्य खेलाडी दबाबमा भएपछि त्यसको असर पूरा टोलीमा पर्ने नै भयो’, तामाङले अन्जनसँग अलग्गै पनि छलफल गरेको उल्लेख गर्दै भने, ‘टोली जित्नुपर्छ । कसले गोल गर्छ भन्ने बढी महत्व हुँदैन । एउटा टोलीका सबै खेलाडीबाट गोल निस्कदैन । सफलता वा असफलता पूरा टोलीको हुन्छ । हामी सक्छौं भन्ने विश्वास टोलीमा विकास गराउनुपर्छ भन्दा उनी पनि त्यसमा कन्भिन्स भए ।’

प्रशिक्षणमा आफूले धेरै सिक्न बाँकी रहेको उल्लेख गर्दै तामाङ भन्छन्, ‘आफ्नो खेल जीवनमा जति सिके त्यहि अनुभव अहिले काम आएको छ । खेलाडीको मनस्थिति कस्तो हुन्छ भन्ने अनुभव छ । ललितपुरको अफर आएपछि आर्मी क्लबबाट तिमी सक्छौ भनेर मनोबल बढाउनुभएको थियो ।’

तामाङले मुख्य प्रशिक्षक भएपछि डोना थापा र मिक्छेन तामाङलाई पहिलो रोजाईमा अवसर दिए । जसले टोलीमा राम्रो प्रभाव पर्यो । हुमागाईले त्यो जोखिम भने उठाएका थिएनन् । डोनाले खासै खेल्ने अवसर पाएका थिएनन् । मिक्छेन पहिलो खेलमा बाहेक पहिलो रोजाईमा खेल्न पाएका थिएनन् । डोनाको खेलबाट तामाङ प्रभावित थिए । ‘उनको फुटबल सेन्स एकदम राम्रो छ । पास पनि त्यस्तै दिन सक्छन्’, तामाङले भने, ‘टच एकदम राम्रो र अनि कन्फिडेन्स पनि भएका खेलाडी हुन् । उनको भूमिका सकारात्मक रह्यो ।’ अन्तिम खेलमा डोना इमर्जिङ खेलाडी घोषित भए । अन्जन टोलीले जितेका दुवै खेलमा म्यान अफ दी म्याच चुनिए ।

विराटनगरविरुद्धको खेलमा तामाङका भाई आर्मीकै सन्तोष विपक्षी खेलिरहेका थिए । अरु बेला सधै भाईको टोली जितोस् भन्ने कामना गर्ने तामाङले त्यो दिन सन्तोषलाई रोक्ने रणनीति बनाए थिए । ‘यो लिगमा उसले अर्कै स्तरमा खेलेको थियो । यान लले उसलाई प्रभावकारी रुपमा प्रस्तुत गरेका थिए । त्यो मैले याद गरेको थिएँ’, तामाङले भने, ‘उसले भेट्यो भने बिताउँछ भनेर टोलीलाई अलर्ट गराएको थियो । म्यान टु म्यान मार्किङ गर्न लगाए । त्यो दिन जसरी नि रोक्नुपर्छ भन्ने थियो । सफल पनि भयौं ।’

भाईको खेल कौशलबाट प्रभावित तामाङ भन्छन्, ‘उसको खेल जीवनमा अप्स एन्ड डाउन्स भएको छ । एकदम राम्रो खेलाडी हो । उनले अनुशासनमा बढी ध्यान दिनुपर्ने छ । राम्रो गरोस् भन्ने लाग्छ । आफ्नो भाईको माया लाग्छ नै ।’

खेलाडीबाट प्रशिक्षक

डेढ दशक भन्दा लामो सक्रिय खेल जीवनबाट उनले विश्राम लिएको धेरै भएको छैन । २०७४ पछि मात्र उनले खेल्न छाडेका थिए । खेलाडी नै रहँदा सन् २०१६ मा उनले एएफसी सी लाइसेन्स उर्तिण गरेका थिए । नेपाली सेनाका तामाङले त्रिभुवन आर्मी क्लबको यू १८ टोलीको सहायक प्रशिक्षकका रुपमा जिम्मेवारी दियो । उनको प्रशिक्षण यात्रा त्यहिबाट सुरु भएको थियो ।

चक्र तामाङ मुख्य र राजु सहायक प्रशिक्षक रहँदा आर्मीको यू १८ टोली ललित स्मृति कपमा दुई पटक विजेता र एक पटक उपविजेता रहेको थियो । आर्मीको पुरुषतर्फ ‘ए’ र ‘बी’ टोली छन् । ‘बी’ टोलीलाई पनि उनले प्रशिक्षण दिएका छन् ।

तामाङको मिहिनेत देखेरै होला आर्मीले गत वर्ष उनलाई महिला टोलीको जिम्मेवारी सुम्पियो । आर्मीको खेलकुद प्रमुख ब्रजेश महर्जन र राष्ट्रिय टोलीका पूर्व गोलकिपर समेत रहेका आर्मीका व्यवस्थापक विकास मल्लले उनलाई त्यो जिम्मेवारी सुम्पेका थिए । उनको प्रशिक्षणमा आर्मी टोली महिला लिग उप विजेता बन्यो । त्यो उनले प्रशिक्षणमा धेरै सिक्ने र निर्णय क्षमता बढेको महसुस गरेका छन् । केहि महिना अघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको एएफसी बी लाइसेन्स कोर्षमा सहभागी भए र परीक्षा दिए । त्यसको नतिजा आइसकेको छैन ।

मिडफिल्डका उम्दा खेलाडी

तामाङ आफ्नो समयका उत्कृष्ट मिडफिल्डर मध्येका एक थिए । सामान्य परिवारबाट आएका तामाङले स्कुलजीवनबाट फुटबल सुरु गरेका थिए । उमेर समूह हुँदै राष्ट्रिय टोलीबाट दशक भन्दा बढी खेले ।

सन् २००४ मा नेपालले यू १९ एएफसी च्याम्पियनसिपको दोस्रो चरणको यात्रा तय गर्दा टोलीका महत्वपूर्ण सदस्य रहेका तामाङले २००५ मा पाकिस्तानमा भएको साफ च्याम्पियनसिपबाट राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । ४५ क्याप जितेका तामाङले २ गोल पनि गरेका छन् ।

सन् २०१२ मा तत्कालिन फिफा अध्यक्ष सेप ब्लाटरले नेपालको खेल प्रभावित हुँदै नेपाल मेस्सीबिनाको बार्सिलोना रहेको प्रतिक्रिया दिएका थिए । त्यसबेला टोलीको मिडफिल्ड सम्हाल्ने उनै तामाङ थिए । त्यसबेला उनले उच्च प्रदर्शन गरेका थिए तर दुर्भाग्य टोली एएफसी च्यालेन्ज कपको फाइनल राउन्डको समूह चरणबाटै बाहिरिएको थियो ।

आफ्नो खेल जीवन सम्झेर गर्व महसुस गर्ने तामाङलाई औपचारिक रुपमा सन्यास लिन नपाएकोमा भने अहिले पनि दुःख लाछ । उनको गुनासो गरे,’विराज महर्जनले जुन विदाई पाए । राष्ट्रिय टोलीबा डेब्यू गर्दा जति उत्साह हुन्छ, विदाई पनि त्यस्तै होस् भन्ने हरेकले चाहन्छ । तर मैले त्यो अवसर पाइन । त्यसमा दुःख लाग्छ ।’

अबको लक्ष्य

लामो समय आर्मी क्लबबाट खेले तामाङलाई ‘ए’ डिभिजन लिग जित्न नसक्दा अहिले पनि खिन्न लाग्छ । २०६३ मा लिगको अन्तिम खेलमा बराबरी गर्दा लिग उपाधि जित्ने खेल नेपाल पुलिस क्लबसँग गुमाएपछि आर्मीले उपविजेतामा चित्त बुझाउनु परेको थियो । त्यो सम्झदा अहिले पनि उनलाई दुःख लाग्छ ।

त्यो वर्षौं अघिको प्रसंग भयो । अबको उनको लक्ष्य भनेको आर्मीकै ए टोलीलाई भविष्यमा प्रशिक्षण दिनुहुनेछ । ‘जति अनुभव बटुल्दै गयौं त्यत्तिकै जिम्मेवारीको आशा पनि बढ्ने रहेछ । आउने दिनमा ‘ए’ लाइसेन्स उर्तिण गरेर आर्मीकै ए टोलीलाई प्रशिक्षण दिने सपना छ । खेलाडीका रुपमा लिग जित्न सकिएन । अब प्रशिक्षकका रुपमा आर्मीलाई जिताउने सपना छ । तर त्यो भन्दा अघि म आफैले धेरै सिक्न बाँकी छ’, उनले भने ।

विट मार्दै भने ‘एनएसएलबाट पनि धेरै अनुभव भएको छ । जिम्मेवारी बढ्दै गएपछि अझै राम्रो गर्ने प्रेरणा मिल्ने रहेछ । चुनौती त हरेक काममा छ । त्यसलाई स्वीकार गर्दै अघि बढ्ने योजनामा छु ।’

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.