default_image

3 years ago

May 17, 2021

एनएसएललाई दर्शकसँग जोड्ने प्रत्यक्ष प्रसारण

प्रकाश तिमल्सिना, काठमाडौं खेलकुद अझ त्यसमा पनि फुटबल विश्वव्यापी लोकप्रिय हुनुमा टेलिभिजन प्रसारण एउटा बलियो माध्यम हो । विश्वकप, युरो कप लगायत युरोपियन फुटबलका लिगहरु संसारभर लोकप्रिय हुनुमा टेलिभिजनमा हुने प्रत्यक्ष प्रसारणनै मुख्य कारण हो । वर्तमान समयमा फुटबलमा आम्दानीको मुख्य श्रोतमा प्रसारण अधिकार पनि पर्छ । विश्वकप फुटबलको त्यहि अधिकारबाट आएको नाफाबाटै फिफाले सदस्य […]

115 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

खेलकुद अझ त्यसमा पनि फुटबल विश्वव्यापी लोकप्रिय हुनुमा टेलिभिजन प्रसारण एउटा बलियो माध्यम हो । विश्वकप, युरो कप लगायत युरोपियन फुटबलका लिगहरु संसारभर लोकप्रिय हुनुमा टेलिभिजनमा हुने प्रत्यक्ष प्रसारणनै मुख्य कारण हो ।

वर्तमान समयमा फुटबलमा आम्दानीको मुख्य श्रोतमा प्रसारण अधिकार पनि पर्छ । विश्वकप फुटबलको त्यहि अधिकारबाट आएको नाफाबाटै फिफाले सदस्य राष्ट्रलाई दिने अनुदान बढाउन थालेको पनि दुई दशक भन्दा बढी भइसकेको छ । अझ युरोपेली क्लबहरुले च्याम्पियन्स लिग खेल्न पाउँदा हरेक सिजन सरदार ४० मिलियन युरो कमाउने गर्दछन् । युरोपा लिगको हकमा यो रकम केहि कम हुन आउँछ ।

नेपालको सन्दर्भमा फुटबल लोकप्रिय हुनुको बलियो आधार टेलिभिजनको प्रत्यक्ष प्रसारण नै मानिन्छ । सन् १९८२ को विश्व कपबाट नेपालमा प्रत्यक्ष प्रसारण हेर्ने सुरुवात भएको विश्वास गरिन्छ । त्यति बेला भारतबाट प्रसारण हुने दुरदर्शनले दिने प्रत्यक्ष प्रसारण दिने गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) का लिग निर्देशक सञ्जिव मिश्र स्मरण गर्छन् ।

‘१९८२ को विश्व कप हुँदा सिमित मान्छेका टेलिभिजन थियो । १९८६ मा आइपुग्दा नेपाल टेलिभिजन स्थापना भएको झन्डै एक वर्ष भइसकेको थियो । त्यसले सर्वसाधारणमा पनि प्रत्यक्ष प्रसारण हेर्ने क्रम सुरु भयो । त्यसपछिको विश्व कप (१९९०)मा त सहरी क्षेत्रमा प्रत्यक्ष प्रसारण हेर्नेको व्यापक वृद्धि भएको थियो ।’

युरोपेली फुटबललाई पछ्याउने नेपालमा युवा पुस्ताको ठूलो हिस्सा रहेको विश्वास गरिन्छ । समय र प्रविधिको विकाससँगै प्रत्यक्ष प्रसारण हेर्न सहज पनि भएको छ । पछिल्लो केहि वर्षमा नेपालमा पनि इन्टरनेट र मोबाइलको प्रयोगसँगै खेलकुदको प्रत्यक्ष प्रसारण हेर्ने ट्रेन्ड झनै बढेको विश्वास गरिएको छ ।

नेपाल फुटबलको प्रत्यक्ष प्रसारको सुरुवात भने सन् १९९७ को साफ च्याम्पियनसिपबाट भएको थियो । त्यसअघि देश बाहिरबाट हुने फुटबलको प्रत्यक्ष प्रसारण हेर्ने बानी परेको नेपाललाई त्यति बेलाको साफ च्याम्पियनसिप नेपाल टेलिभिजनले प्रसारण गरेको थियो । त्यति बेलाको समय सम्झदै हालै सम्पन्न नेपाल सुपर लिग (एनएसएल) का टेक्निकल हेड समेत रहेका मिश्र भन्छन्, ‘आफ्नै देशमा भएको फुटबल प्रत्यक्ष टेलिभिजनमा हेर्न पाउँदा त्यसले फुटबलको लोकप्रियतालाई झनै बढाएको छ ।’

नेपाल टेलिभिजनले फुटबलको प्रत्यक्ष प्रसारण सुरु गरेकै २ दशक भन्दा लामो समय बितिसकेको छ । १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) लगायत त्यसयताका अधिकांश फुटबल प्रतियोगिता टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुँदै आएको छ । पछिल्ला केहि वर्षयता क्रिकेट, भलिबललगायत अन्य खेलको पनि प्रत्यक्ष प्रसारण सुरु भएको छ ।

अहिले कारोनाको दोस्रो लहरले काठमाडौंलगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ । काठमाडौंमा वैशाख १६ गते देखि निरन्तर निषेधाज्ञा छ । तर यस्तो कठिन अवस्थामा पनि देशकै पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) आयोजना भएको थियो । निषेधाज्ञा अघि नै सुरु भएको एनएसएललाई सरकारले पनि सञ्चालनको अनुमति दिएको थियो ।

अति आवश्यक बाहेक सबै क्षेत्र बन्द हुँदा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनएसएल जारी रहँदा धेरैलाई आश्चार्य पनि लागेको थियो । समय बित्दै जाँदा त्यसलाई स्वभाविक मानियो र शनिबार फाइनल सम्पन्न भयो । सहभागी टोलीका खेलाडी, प्रशिक्षक, आयोजक, प्राविधिक टोली, सञ्चारकर्मीको सिमित उपस्थितिमा फाइनल खेल आयोजना भएको थियो ।

चैत १६ गते मा हजारौं दर्शकका बीच थ्री नेसन्स कपको नेपाल र बंगलादेशबीच फाइनल भएको थियो । त्यसको ठ्याकै एक महिनामा बिना  दर्शक एनएसएलको फाइनल सम्पन्न भयो ।

एनएसएलले घरेलु फुटबललाई अर्को स्तरमा पुर्याएको प्रतिक्रिया आउन थालेका छन् । ए डिभिजन लिग हेरिरहेका नेपाली दर्शकले त्यो भन्दा प्रतिस्पर्धात्मक फुटबल एनएसएलमा हेर्न पाएको अनुमान सामाजिक सञ्जालका माध्यमबाट आउने प्रतिक्रियाबाट अनुमान गर्न सकिन्छ ।
विना दर्शक दशरथ रंगशालमा एनएसएलमा चलिरहँदा दर्शकहरुको चासो भने प्रत्यक्ष प्रसारणमा थियो ।

अन्नपूर्ण मिडिया नेटवर्कका विजनेस डेभलेपमेन्ट हेड प्रविण अर्यालका अनुसार एपि वानको युट्यूबमा खेलकुदको प्रत्यक्ष प्रसारण हेरिएको सर्वाधिक दोस्रो हो । ‘यसअघि एकै समयमा प्रत्यक्ष प्रसारण हेर्नेसंख्या फ्रेन्चाईज क्रिकेट एभरेष्ट प्रिमियर लिग (इपिएल) झन्डै ६७ हजारले हेरेका थिए’, उनले भने, ‘यसपटक एनएसएलको फाइनल झन्डै ६२ हजार दर्शकले एकै पटक हेरेका थिए । आइतबार साँझ सम्ममा एनएसएलको फाइनल युट्युबमा ४ लाख ५० हजार भन्दा बढी पटक हेरिसकिएको छ ।’

‘निशेषज्ञाका कारण घरमै रहेका दर्शकले कतिले एनएसएल हेरेको तथ्याङ भने यकिन भन्न सकिने अवस्था छैन । यकिन यत्ति नै भन्न सकिने प्रविधि हामी कहाँ छैन’, अर्यालले थपे, ‘नेपालका टेलिभिजन दर्शकमध्ये झन्डै ७५ प्रतिशतले एनएसएलको फाइनल हेरेको हाम्रो अनुमान छ ।’

एनएसएलसको ब्रोडकासटिङ राइट खरिद गर्ने ब्रान्ड वर्थका कार्यकारी प्रमुख मोहन गजुरेलले यकिन कतिले एनएसएल हेर्नेको भन्न कठिन भएपछि सबै प्लेटर्फमा गरि डेढ करोड भन्दा बढीले हेरेको अनुमान रहेको बताए । ‘अहिले सम्म युट्युबको मात्र भ्यूवर हेर्दा ५० लाख भन्दा बढी भइसकेको छ’, उनले भने, ‘टेलिभिजनमै प्रत्यक्ष प्रसारण त्यो भन्दा बढीले पक्कै भएको हुनुपर्दछ । कोरोनाका कारण पनि धेरै जसो घरमै बस्नु भएको छ ।’

कसरी भएको थियो प्रत्यक्ष प्रसारण

वैशाख ११ गते सुरु भएको एनएसएल जेठ १ गते सम्पन्न भएको थियो । २२ दिनमा २५ खेल आयोजना भएका थिए । ५ दिन बाहेक हरेक दिन १ खेल आयोजना भएको थियो । खेलबाहेक प्रि म्याच, पोष्ट म्याच, कमेन्ट्रीमा सिमित व्यक्तिहरुलाई प्रत्यक्ष प्रसारणमा देख्न र सुन्न पाइने भएपनि पर्दा पछाडि भने ठूलो टोलीको मिहिनेतले मात्र त्यो सम्भव भएको थियो ।

कान्तिपुर टेलिभिजनमा क्यामरा पर्सनबाट आफ्नो करिअर सुरु गरेका योपेश प्रधानको नेतृत्वमा प्रत्यक्ष प्रसारण भएको थियो । ब्रोडकास्टिङ डाइरेक्टर प्रधानले लामो अनुभव र खेलकुदप्रतिको प्यासनकै कारण प्रत्यक्ष प्रसारण टोलीको नेतृत्व गर्नका लागि आफू तयार भएको बताए ।

आठ वर्ष कान्तिपुर टेलिभिजनबाट यात्रा सुरु गरेर त्यसपछि ४ वर्ष एपी वानमा काम गरेको प्रधानले यसअघि इपिएलका २ संस्करण, डिपिएलका ३ संस्करण, विराटनगरका ३ वर्ष अघि भएको महिला साफ च्याम्पियनसिप, १३ औं साग, ए डिभिजन लिग, फुटबलका मैत्रीपूर्ण खेलमा ब्रोडकास्टिङ डारेक्टरको भूमिका सम्हालिसकेका थिए ।

एनएसएलमा २५ दिन झन्डै ४० जनाले प्रत्यक्ष प्रसारणको टोलीमा बसेर काम गरेको प्रधानले बताए । सञ्जिव शिल्पकार, अभिनव जोशी, आभाष घिमिरेले प्रस्तोता र कमेन्टेटर तथा साहाना बज्राचार्यले प्रस्तोताका रुपमा भूमिका निर्वाह गरेको एनएसएलको प्रत्यक्ष प्रसारणमा बाँकी प्राविधिक जनशक्ति समावेश थियो । त्यसमध्ये कतिपय प्राविधिक एपिए वानसँगै आबद्ध थिए भने बाँकी प्रत्यक्ष प्रसारणकै लागि मात्र सम्झौता गरिएको गरिएको प्रधानले जनाए ।

विश्व फुटबलको प्रत्यक्ष प्रसारमै प्रयोग हुने भिजार्ट सफ्टवेयर प्रयोगबाट प्रत्यक्ष प्रसारण गरिएको जनाउँदै प्रधानले भने, ‘प्राविधिक रुपमा हामीलाई निकै चुनौती थियो । हामीका दक्ष जनशक्तिको अभाव छ । कतिपय अवस्थाका काम गर्दै सिक्दै गयौं । सुरुको केहि दिन निकै कठीन भएको थियो । विस्तारै सबै चिज सोचे जस्तै अघि बढ्यो । अहिले सम्झँदा आनन्द लाग्छ ।’

युरोपियन फुटबलको प्रत्यक्ष प्रसारण हेर्ने बानी परेको नेपाली दर्शकले एनएसएलको प्रत्यक्ष प्रसारणमा पनि त्यहि स्तरको अपेक्षा गर्नुलाई प्रधान स्वभाविक मान्छन् । ‘दर्शकले अपेक्षा गर्नु स्वभाविक हो । तर हामीसँग न त त्यो स्तरको प्राविधिक उपकरण छ न जनशक्ति । सिमित साधन स्रोतमा हामीले काम गर्नुपर्छ,’ दुई वर्ष अमेरिका बसाईका क्रममा न्यूयोर्क फिल्म एकेडेमीमा झन्डै १ वर्ष अध्ययन समेत गरेका प्रधानले भने ।

‘यो कामका लागि झन्डै ६५ जना चाहिन्छ। सुरु सुरुमा धेरै गाली पनि खाइयो । त्यसले अलिक इख पनि पलायो’, उनले अनुभव सुनाए, ‘त्यसले हामी सबैले जसरी नै स्तरीय सेवा दिनुपर्छ भन्नेमा हामी लाग्यौं । यो त टिमवर्क हो । एकजनाको काम बिग्रदा प्रत्यक्ष प्रसारणमै असर पर्छ । तर त्यस्तो ठूलो समस्या आएन । सबै व्यवस्थापन भयो ।’

मुख्यत फुटबलमा गोलपछिको रिप्ले दर्शकले हेर्न चाहन्छन् । प्रत्यक्ष प्रसारण हेर्नुको एउटा मुख्य आकर्षणमा रिप्ले पर्दछ । गोल हुने बित्तिकै एउट एंगलको रिप्ले दिने गरेको जनाउँदै प्रधानले भने, ‘अलि पछि ४ वटा एंगलबाट आउने मध्ये राम्रो भिडियो हाल्ने गरेका थियौं ।’

अन्तर्राष्ट्रिय स्तरकै महसुस हुने गरि खेलाडीहरुको फोटोसहितको लाइन अप दिने योजना भने विभिन्न कारणले सम्भव नभएको उनले सुनाए । ‘हामीले सुरुबाट खेलाडीहरुको फोटोसहित दिने योजना थियो । त्यो सफल भएन । खेलाडीको फोटो उपलब्ध नएपछि त्यो सम्भव नै भएन’, उनले भने, ‘प्ले अफबाट हामी आफैले पनि व्यवस्थापन गरेर त्यो गर्यौं । राम्रो पनि देखियो । दर्शकहरुले विश्व फुटबलको प्रत्यक्ष प्रसारणमा देखिने सबै खाले सुविधा खोज्नु हुँदा हामीलाई पनि प्राविधिक रुपमा चुनौती छ ।’

‘प्रत्यक्ष प्रसारणमा रंगशालामा गरिने प्राविधिक काम बाहेक टेलिभिजनको स्टुडियो पनि त्यतिकै समन्वय गर्नुपर्ने हुन्छ । टेलिभिजनमा समयको अत्यन्तै महत्व हुन्छ । एक सेकेन्ड पनि प्रसारण रोक्न मिल्दैन । त्यसअर्थ सबैमा समन्वय गरेपछि मात्रै प्रसारणमा पठाउने हो’, उनले भने, फुटबलमा त्यो दुई अढाई घन्टा साह्रै दबाब हुन्छ । अझ २ खेल हुने दिन त खाजा खाने समय पनि मिल्थेन ।’

३ साताको चुनौतीपूर्ण कामपछि आइतबार परिवारका साथ घरमा आराम गरेका प्रधानले भने, ‘यस्तो समयमा घरबाट पनि नजाँदा हुने भन्ने नै थियो । तर, चुनौतीमै काम गर्न मजा आउँछ । सबैले मेहनत गर्यो । एउटा टोली भएर काम गर्यौं । अन्तमा सफलता मिल्यो । अहिले आनन्द लागेको छ ।’

प्रत्यक्ष प्रसारणको मरुदण्ड कमेन्ट्री

फुटबलको प्रत्यक्ष प्रसारणमा कमेन्ट्रीको भूमिका निकै महत्त्वपूर्ण हुन्छ । नेपाली फुटबलको कमेन्ट्री क्षेत्रमा विगत दुई दशकदेखि निरन्तर साथ दिइरहेको नाम हुन् संजिव शिल्पकार । नेपाली फुटबलको आवाजकै पर्याय बनिसकेका ४३ वर्षीय शिल्पकारले सन् २००२ मा घरेलु फुटबलबाट कमेन्ट्री यात्राको सुरुवात गरेका थिए । त्यसपछि सन् २००५ मा उनले एएफसी प्रेसिडेन्ट्स कपमा प्रतियोगिताभर एक्लै कमेन्ट्री धान्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि प्रवेश गरे । पछिल्लो पटक रुसमा भएको सन् २०१८ को विश्वकपमा नेपालीमा कमेन्ट्री गर्दै नयाँ प्रयोग पनि उनकै अनुभवको कारण सम्भव भएको थियो  ।

विगतको तुलनामा यसपटक एनएसएलमा कमेन्ट्रीमा निकै फरक महसुस गरेको शिल्पकारको अनुभव छ । ‘विगतभन्दा अहिले त धेरै नै परिवर्तन आएको छ । पहिला फोर्थ अफिसियलको बेन्चमा बसेर आफैं खेल हेर्दै कमेन्ट्री गर्नुपर्थ्यो । जस्तोसुकै मौसम भएपनि सामान्य माइकको भरमा काम गरिन्थ्यो, अहिले त्यो फेरिएको छ,’ उनले सुनाए ।

‘अहिले कमेन्ट्री बक्स छुट्टै हुन्छ । हामीले प्रयोग गर्ने माइक पनि विशेष किसिमको उपलब्ध छ । हामीले टिभी स्क्रिनमा नै हेरेर कमेन्ट्री गर्न थालेका छौं । ग्राफिक्स पनि उपलब्ध हुन्छ । यसपटक एनएसएलमा प्राविधिक टोली पनि दक्ष थिए र हामीलाई खेल अनुसार तथ्यांक पनि उपलब्ध भयो । यसले हाम्रो काममा धेरै सहयोग पुग्छ,’ उनले थपे ।

शिल्पकारका अनुसार कमेन्ट्रीसँगै यसपटक प्रि-म्याचमा गरिएको प्रयोग पनि निकै राम्रो संदेश दिएको छ । ‘खेलअघि हामीले केहि अतिथि समेत बोलाएर प्रि-म्याच एनालाइसिस गर्यौं । यसको कन्सेप्ट योपेशकै थियो र त्यसैअनुसार हामीले नतिजा पनि दियौं । हाम्रो टिमको साहाना, अभिनाभ, आभास, योपेश र रजत मिलेर कार्यक्रमअघि नै समन्वय गर्ने गरेका थियौं । त्यसले गर्दा पनि निकै राम्रो नतिजा आयो,’ उनले अनुभव साटे ।

यसपटक नयाँ प्रयोगमा सफलता प्राप्त गरेपनि सुधार गर्ने धेरै ठाउँ रहेको र यसले उर्जा थपेको शिल्पकार बताउँछन् । ‘हामीले यसपटक गरेको प्रयोग सफल भयो । तर अब यसमा सुधार गर्ने ठाउँ पनि छ । हाफ टाइम र पोस्ट म्याचमा पनि कार्यक्रम गर्न सकिन्छ । कम्तिमा अब प्रत्यक्ष प्रसारण गर्दा यो स्तर कायम गर्नुपर्छ भन्ने एउटा चुनौती भने थपिएको छ,’ उनले भने ।

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

Success

Thank you for your time.