default_image

4 years ago

June 28, 2021

पोर्चुगललाई हराउँदै बेल्जियम क्वाटरफाइनलमा

404 views

0 Bookmark

एजेन्सी – साविक विजेता पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा थोर्गन हाजार्डले गरेको गोलको मदतले बेल्जियम १-० को जित हासिल गर्दै राउन्ड अफ १६ पार गर्न सफल भयो ।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि पोर्चुगलले खेलमा फर्कन सकेन । पहिलो हाफमा पनि केहि अवसर सिर्जना गरेको पोर्चुगलसामु बेल्जियमको डिफेन्स निकै बलियो देखिएको थियो । यस जितसँगै बेल्जियमले क्वाटरफाइनलमा इटालीसँगको भेट पक्का गरेको छ ।

छैटौं मिनेटमा नै डिओगो जोटाले गोल गर्ने अवसर खेर फालेका थिए । रेनातो सान्चेसले मिडफिल्डमा बल खेलाउँदै दिएको अन्तिम पासलाई जोटाले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार बाहिरिएको थियो । त्यसपछि दशौं मिनेटमा बेल्जियन कप्तान इडेन हाजार्डको प्रहारले पनि पोस्टको दिशा लिन सकेन ।

२५ औं मिनेटमा रोनाल्डोले झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार गोलरक्षक थिबाउट कोर्टुवाले मुस्किलले विफल पारेका थिए । रिबाउन्डमा जोआओ पाल्हिन्हाले हेडरलाई पोस्टतर्फ प्रहार गर्न सकेनन् । ३७ औं मिनेटमा मुनिएरले आउटसाइड फुटले गरेको प्रहार पोस्टभन्दा निकै माथिबाट गएको थियो ।

थोर्गनले पहिलो हाफको ३ मिनेट बाँकी रहँदा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार सिधै गोल भएको थियो । बेल्जियमले अघि बढाएको आक्रमणमा पोर्चुगलको डिफेन्स चिर्न नसकेपछि थोमस मुनिएरले बायाँ विंगमा भएका थोर्गनलाई पास दिएका थिए । थोर्गनले पेनाल्टी क्षेत्र बाहिरबाट नै गरेको प्रयासमा गोलरक्षक रुइ प्याट्रीसिओको डाइभ खेर गएको थियो ।

दोस्रो हाफको सुरुवातमा नै बेल्जियमले चोटका कारण मिडफिल्डर केभिन डे ब्रुएनलाई बाहिर निकालेको थियो । पोर्चुगलले दोस्रो हाफको सुरुवातमा केहि अवसर सिर्जना गरेपनि खेल बराबरीमा ल्याउन भने सकेन । ५४ औं मिनेटमा रोनाल्डोको प्रहारलाई डिफेन्डर थोमस भर्मालेनले रोकेका थिए । त्यसको केहीबेरमा नै जोटाको प्रहार क्रसबारभन्दा केहि माथिबाट बाहिरियो ।

६१ औं मिनेटमा जोआओ फेलिक्सको हेडर सिधै गोलरक्षक कोर्टुवाको हातमा पुगेको थियो । लगत्तै ब्रुनो फर्नान्डेसको प्रहार आकासियो । अर्कोतर्फ लुकाकुले हाजार्ड दाजुभाईको उत्कृष्ट मुभपछि बनेको आक्रमणलाई फिनिस गर्न सकेनन् । पोर्चुगलले लगातार आक्रमण बुनेपनि बेल्जियमको डिफेन्स चिर्न भने असफल रहयो ।

८२ औं मिनेटमा रुबेन डियासको प्रहारलाई गोलरक्षक कोर्टुवाले बचाए । त्यसको एक मिनेटपछि नै राफाएल गुरेरोको प्रहार पोस्टमा लागेर फर्कंदा पोर्चुगल खेल बराबर गर्नबाट चुकेको थियो । पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गुरेरोले गरेको प्रहारमा गोलरक्षक कोर्टुवा बिट भएपनि पोस्ट बाधक बन्न पुग्यो ।

८६ औं मिनेटमा आन्द्रे सिल्भाको प्रहारलाई गोलरक्षक कोर्टुवाले दोस्रो प्रयासमा बचाएपछि खतरा टरेको थियो । अर्कोतर्फ यानिक करासकोले काउन्टर अट्याक अघि बढाएपनि गोलमा प्रहार नगर्दा बेल्जियम अग्रता दोब्बर गर्नबाट चुक्यो । इन्ज्युरी समयमा फेलिक्सको प्रहार बाहिर जाँदा पोर्चुगलको आशा समाप्त भएको थियो ।

यसअघि दिनको पहिलो खेलमा चेक रिपब्लिकले उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराउँदै युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको थियो । दोस्रो हाफको अधिकांश समय १० खेलाडीमा सिमित भएको डच टोलीलाई २-० ले पराजित गर्दै चेक राउन्ड अफ १६ चरण पार गर्न सफल भएको हो ।

पहिलो हाफमा गोलको थुप्रै अवसर सिर्जना गरेको नेदरल्यान्ड्सले दोस्रो हाफको सुरुवातमै डिफेन्डर म्याथिस डी लिग्टको साथ गुमाएको थियो । डच टोली १० खेलाडीमा समेटिएपछि चेकले दबाब सिर्जना गर्दै दुई गोल गर्न सफल भयो । अब चेकले सेमिफाइनल प्रवेशका निम्ति डेनमार्कसँग खेल्नेछ ।

खेलको आठौं मिनेटमा नेदरल्यान्ड्सले गोलको सुन्दर अवसर सिर्जना गरेको थियो । कर्नरमा म्यथिस डी लिग्टको हेडरले पोस्टको दिशा लिन नसकेपछि उक्त बलमा मेम्फिस डिपाएले गरेको प्रहार बाहिरियो । १६ औं मिनेटमा डोनी मालेनको प्रहारलाई गोलरक्षक टोमस भाच्लिकले बचाउँदै कर्नर दिएका थिए । जवाफी कर्नरमा पनि उनी नै बाधक बने ।

२२ औं मिनेटमा कप्तान टोमस सुचेकको हेडर थोरैले बाहिरिंदा चेकले अग्रता लिन सकेन । दायाँ विंगबाट सेभ्चिकले गरेको क्रसमा सुचेकको डाइभिङ हेडरमा गोलरक्षक बिट भएपनि पोस्टभन्दा थोरैले बाहिरिएको थियो । २८ औं मिनेटमा प्याट्रिक सिकको प्रहार डे रुनलाई लाग्दै गोलरक्षक मार्टेन स्टेकेलेनबर्गले सहजै बचाए ।

३८ औं मिनेटमा चेकले अघि बढ्ने सुवर्ण अवसर खेर फाल्यो । एन्टोनिन बाराकले पेनाल्टी क्षेत्र भित्रबाट पोस्टमा प्रहार डिफेन्डर डी लिग्टले छेक्दा खेल गोलरहित नै रहयो । काउन्टर अट्याकमा राम्रो मुभ बनाएको चेकका लागि मासोपुस्तको पासमा बाराक गोल गर्न चुकेका थिए । लगत्तै अर्कोतर्फ डम्फ्राइजको लो क्रसमा मालेन बलसम्म पुग्न सकेनन् ।

दोस्रो हाफको सुरुवातमा नै डच टोलीले दुई अवसर गुमायो । डम्फ्राइजको क्रसमा पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका मालेनले बलसम्म पुग्न सकेनन् । त्यसको केहि मिनेटमा नै डिपाएको चलाखीपूर्ण फ्लिकमा मालेनले दुई डिफेन्डरलाई बिट गरेपछि वन भर्सेस वनमा गोलरक्षक भाच्लिकलाई झुक्याउन असफल रहे ।

५५ औं मिनेटमा नेदरल्यान्ड्स १० खेलाडीमा सिमित भयो। टोलीका मुख्य डिफेन्डर म्याथिस डी लिग्टले हातले बल रोकेपछि भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै रेफ्रीले रातो कार्ड दिएका थिए । उनले लडेपछि सिकलाई पेनाल्टी क्षेत्रभित्र बलसम्म पुग्न नदिने प्रयास गर्दा हातले बल रोकेका थिए ।

६५ औं मिनेटमा डम्फ्राइजले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट ब्लक गर्दै खेल गोलरहित राखे । कादेर्बेकले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई उनले पोस्टतर्फ जानबाट रोकेका थिए ।

६८ औं मिनेटमा चेकले टोमस होलेसको गोलमा अग्रता लियो । कर्नरमा टोमस कालासले दिएको हेडर पासलाई फार पोस्टमा अनमार्क रहेका होलेसले हेडरमार्फत सहजै गोल गर्दै अग्रता दिलाएका थिए ।

८० औं मिनेटमा प्याट्रिक सिकले चेकको अग्रता दोब्बर पारे । होलेसले पेनाल्टी क्षेत्रको बायाँ भागबाट दिएको पासलाई सिकले पहिलो टचमा नै गोल गर्दै चेकलाई क्वाटरफाइनल नजिक पुर्याएका थिए । उनको जारी प्रतियोगितामा यो व्यक्तिगत चौथो गोल पनि थियो ।

चेकले अब क्वाटरफाइनलमा डेनमार्कको सामना गर्नेछ । डेनमार्कले शनिबार वेल्समाथि ४-० को जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो ।

युभेन्टस तथा नेदरल्यान्ड्सका डिफेन्डर म्याथिस डी लिग्टले आफ्नै कारणले गर्दा नेदरल्यान्ड्स चेक रिपब्लिकसँग पराजित भएको बताएका छन् । पुरा पढ्नुहोस : ‘मेरो गल्तीले टिम हार्यो’ – डी लिग्ट

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.