4 years ago
June 29, 2021
एजेन्सी – युवा फरवार्ड किलीयन एमबाप्पेले टाइब्रेकरमा गोल गर्न नसक्दा विश्वकप विजेता फ्रान्स स्विट्जरल्यान्डसँग टाइब्रेकरमा ५-४ ले पराजित हुँदै युरोपेली च्याम्पियनसिप २०२० बाट बाहिरिएको छ । बुकारेस्टमा सोमबार भएको राउन्ड अफ १६ को खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल ३-३ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । स्विट्जरल्यान्ड भने जितसँगै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पहिलो हाफमा औसत प्रदर्शन गरेको फ्रान्स हरिस सेफेरोभिचको गोलमा पछि परेको थियो । उक्त गोलमा गल्ति गरेका डिफेन्डर क्लेमेन्ट लेंगलेटलाई दोस्रो हाफमा परीवर्तन गर्दै आक्रामक रणनीति अपनाएको थियो । स्विट्जरल्यान्डले पेनाल्टीमा अग्रता दोब्बर पार्ने सुवर्ण अवसर खेर फालेपछि फ्रान्सले लगातार गोल गर्दै खेलमा पकड जमायो ।
बेन्जेमाले दुई मिनेटको अन्तरमा दुई सानदार फिनिस गरेपछि फ्रान्स खेलमा अघि बढेको थियो । पोग्बाले त्यसपछि विश्वस्तरीय गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारेका थिए । तर सेफेरोभिचले व्यक्तिगत दोस्रो हेडर गोल गर्दै फ्रान्सलाई सहज रुपमा खेल्ने अवसर दिएन । ग्रभानोभिचले अन्तिम मिनेटमा गोल गर्दै खेल अतिरिक्त समयमा धकेलेका थिए । अतिरिक्त समयमा गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा पहिलो प्रहार गरेको स्विट्जरल्यान्डका लागि मारिओ ग्राभानोभिच, फाबियन सेर, म्यानुएल अकान्जी, रुबेन भार्गास र आदमिर मेहमेदी सबैले गोल गर्न सफल भएका थिए । फ्रान्सका लागि पल पोग्बा, ओलिभिएर जिरुड, मार्कस थुराम र प्रेस्नेल किम्पेम्बे लगातार सफल हुँदा पाँचौ प्रहार गर्न आएका किलीयन एम्बाप्पेको प्रहारलाई गोलरक्षक यान सोमरले विफल पारेका थिए ।
स्विट्जरल्यान्डले युरो इतिहासमा पहिलो पटक नकआउट चरणको खेल जितेको हो । यससँगै स्विट्जरल्यान्डले क्वाटरफाइनलमा स्पेनको सामना गर्नेछ ।
यो पनि : स्विट्जरल्यान्डको ऐतिहासिक जित
खेलको १५ औं मिनेटमा स्विट्जरल्यान्डले सेफेरोभिचको गोलमा अग्रता लिएको थियो । बायाँ विंगबाट स्टिभन जुबरले दिएको क्रसलाई उनले हेडरमार्फत बटम कर्नरमा गोल गरेका थिए । प्रतियोगितामा पहिलो खेल खेलिरहेका बार्सिलोनाका डिफेन्डर क्लेमेन्ट लेंगलेटले हेडरको प्रयास गर्न नसक्दा सेफेरोभिचको हेडरमा गोलरक्षक ह्युगो लोरिसको डाइभ व्यर्थ भएको थियो ।

२६ औं मिनेटमा किलीयन एम्बाप्पेको फ्रिकिक वालमा लगेर फर्केको थियो । उक्त रिबाउन्डमा एम्बाप्पेको शक्तिशाली प्रहार पनि पोस्टभन्दा थोरैले बाहिरिएको थियो । २९ औं मिनेटमा एड्रिएन राबिओटको प्रहार पनि बाहिरिंदा स्विट्जरल्यान्डको अग्रता जोगिएको थियो ।
३१ औं मिनेटमा ब्रील एम्बोलोको प्रहारले गोलरक्षक लोरिसलाई समस्या दिन सकेन । ४१ औं मिनेटमा कप्तान ग्रानिट झाकाको पासलाई एम्बोलोले पेनाल्टी क्षेत्रभित्र नियन्त्रण गर्न नसक्दा स्विट्जरल्यान्ड अग्रता दोब्बर पार्ने अवसरबाट चुक्यो । ४२ औं मिनेटमा एमबाप्पेले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार आकासियो ।
दोस्रो हाफमा फ्रान्सले लेंगलेटको स्थानमा किंग्सले कोमानलाई मैदान पठाउँदै आक्रामक परिवर्तन गरेको थियो । तर ५५ औं मिनेटमा फ्रान्सका बेन्जामिन पाभार्डले जुबरलाई पेनाल्टी क्षेत्रभित्र लडाएको भन्दै भीएआरले पेनाल्टी दियो । रिकार्डो रोड्रीग्वेजले प्रहार गरेको पेनाल्टीलाई कप्तान लोरिसले विफल पार्दै फ्रान्सलाई खेलमा कायम राखे । रोड्रीग्वेजले गरेको प्रहारलाई लोरिसले आफ्नो बायाँतर्फ डाइभ दिँदै बचाएका थिए ।

पेनाल्टीमा चुकेको २ मिनेट नबित्दै स्विट्जरल्यान्डले गोल खान पुग्यो । करीम बेन्जेमाले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट बल नियन्त्रण र फिनिसको नमुना प्रस्तुत गर्दै फ्रान्सलाई बराबरीमा ल्याएका थिए । उनले किलीयन एमबाप्पेले आफ्नो पछाडीबाट दिएको पासलाई उत्कृष्ट ढंगले पहिलो टचमा नियन्त्रण गर्दै दोस्रो टचमा गोलरक्षकलाई बिट गरेका थिए ।
बराबरी गरेको दुई मिनेटपछि बेन्जेमाले नै फ्रान्सलाई अग्रता दिलाए । एमबाप्पेको पासमा एन्टोइन ग्रिजमनले ६ यार्ड बक्स नजिकबाट गोलरक्षकलाई चिप गरेका थिए । उक्त चिपलाई बेन्जेमाले गोललाइन नजिकबाट हेडरमार्फत गोलमा परिणत गर्दै फ्रान्सलाई अग्रता दिलाए । अघिल्लो गोलमा देखिएको एमबाप्पे, बेन्जेमा र ग्रिजमन बीचको साझेदारी यस गोलमा पनि निर्णायक बनेको थियो ।

६६ औं मिनेटमा सेफेरोभिचले बराबरी गर्ने सुवर्ण अवसरको सदुपयोग गर्न सकेनन् । फ्रिकिकमा उनले आफ्नो डिफेन्स मार्करलाई पछि पार्दै वन भर्सेस वनको स्थितिमा बललाई प्रहार गर्नबाट चुके । ७५ औं मिनेटमा पल पोग्बाले विश्वस्तरीय गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । पेनाल्टी क्षेत्रको बाहिरबाट पोग्बाले गरेको प्रहार टप कर्नरमा गोल भएको थियो । गोलरक्षक यान सोमरले डाइभ दिएपनि उक्त बलसम्म पुग्न सकेनन् ।

८१ औं मिनेटमा सेफेरोभिचले व्यक्तिगत दोस्रो गोल गर्दै स्विस टोली खेलमा फर्कने संकेत दिए । केभिन एम्बाबुको क्रसमा सेफेरोभिचले हेडरमार्फत गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याएका थिए । त्यसको २ मिनेटमा नै मारियो गाभ्रनोभिचले गोल गरेपनि रेफ्रीले उनी अफसाइड पोजिसनमा रहेका कारण त्यसलाई मान्यता दिएनन् ।
तर निर्धारित समयको अन्तिम मिनेटमा स्विट्जरल्यान्डले गाभ्रनोभिचको गोलमा खेल बराबर गर्न सफल रहयो । ग्रानिट झाकाको पासमा उनले प्रेस्नेल किम्पेम्बेलाई छक्याउँदै गरेको प्रहारलाई लोरिसले डाइभ दिएपनि बचाउन सकेनन् । अर्को तर्फ इन्ज्युरी समयको चौथो मिनेटमा कोमानले गरेको प्रहार क्रसबारमा लागेर फर्कंदा फ्रान्स जितबाट बन्चित भएको थियो ।

९५ औं मिनेटमा पाभार्डको प्रहारलाई गोलरक्षक सोमरले विफल पार्दै खेल बराबरीमा कायम राखे । ९८ औं मिनेटमा कोमनको प्रहार पोस्टको बाहिरि भागमा लाग्दा फ्रान्स अघि बढ्न सकेन । १ सय ९ औं मिनेटमा एमबाप्पेले अवसर सदुपयोग गर्न सकेनन् । पोग्बाको पासबाट वन भर्सेस वनको स्थितिमा उनको खराब प्रहारले गोलरक्षकलाई कुनै समस्या दिन सकेन ।
१ सय १३ औं मिनेटमा पोग्बाको पासमा मार्कस थुरामले दिएको क्रसलाई जिरुडले पोस्टतर्फ प्रहार गरेपनि एमबाप्पेलाई लाग्दै बल बाहिरिएको थियो । १ सय १९ औं मिनेटमा जिरुडको हेडरलाई सोम्मरले बचाउँदै खेल बराबरीमा नै राखे । त्यसपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
दिनकै अर्को खेलमा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा पराजित गरेको थियो । कोपनहेगनस्थित पार्केन रंगशालामा स्पेनले ५- ३ को जित दर्ता गर्दै राउन्ड अफ १६ पार गरेको हो ।

पहिलो हाफमा क्रोएसियाले अग्रता लिनुअघि स्पेनले एकतर्फी आक्रमण गर्दै क्रोएसियालाई दबाबमा राखेको थियो । क्रोएसियाले बिरलै स्पेनको हाफमा बल लगेको खेलमा आत्मघाती गोलले नै खेलको रुप परिवर्तन भएको थियो । तर अन्त्यतिर गोल गर्दै स्पेन पहिलो हाफमा नै खेलमा फर्कन सफल भयो ।
दोस्रो हाफमा स्पेनले आफ्नो आक्रमणलाई जारी राख्दै अग्रता लिन सफल भयो । अग्रता लिएपछि क्रोएसियाले केहि अवसर सिर्जना गरेपनि स्पेनको डिफेन्सले बलियो प्रदर्शनका साथ खेलमा अग्रता कायम राख्यो । स्पेनले दोस्रो हाफमा २ गोल गर्दै सहज जिततर्फ उन्मुख देखिएपनि क्रोएसियाले अन्त्यतिर दुई गोल गर्दै खेल अतिरिक्त समयमा पुर्याएको थियो । अतिरिक्त समयको पहिलो हाफमा स्पेनले दुई गोल गर्दै जित पक्का गरेको थियो ।
स्पेन युरो २०१२ को उपाधि जितेपछि पहिलो पटक कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्न सफल रहयो । यसअघि विश्वकपको दुई संस्करण र युरो २०१६ मा स्पेनले अन्तिम ८ को यात्रा गर्न सकेको थिएन ।

नवौं मिनेटमा कोकेको फ्रिकिकमा सेजार एज्पिलीक्वेटाको हेडरलाई गोलरक्षक लिभाकोभिचले सहजै बचाए । १३ औं मिनेटमा अल्भारो मोराटाको पासमा पाब्लो सराबियाको प्रहार बाहिरिंदा स्पेन अग्रता लिनबाट चुकेको थियो ।
खेलको २० औं मिनेटमा क्रोएसियाले अप्रत्याशित रुपमा अग्रता लियो । स्पेनका मिडफिल्डर पेड्रीले मैदानको बीच भागबाट आफ्नो गोलरक्षक उनाइ सिमोनलाई दिएको पास गोल भएको थियो । बुस्केट्सको लामो पास गोलरक्षक सिमोनको ठिक अगाडी झर्दा उनको बल रोक्ने प्रयास खुट्टालाई छुँदै पोस्टमा छिरेको थियो । युरोको यस संस्करणमा यो नवौं आत्मघाती गोल थियो ।

आत्मघाती गोलभन्दा केहि मिनेट अघि मात्र स्पेनले गोल गर्ने सुवर्ण अवसरको सदुपयोग गर्न सकेको थिएन । मिडफिल्डर पेड्रीले दिएको पासमा कोकेको पेनाल्टी क्षेत्र भित्रको प्रहारलाई गोलरक्षक लिभाकोभिचले खुट्टाले सुन्दर बचाउ गरेका थिए ।
अग्रता लिएपछि उच्च मनोबलमा देखिएको क्रोएसियाले थप दुई अवसर सिर्जना गरेको थियो । २५ औं मिनेटमा निकोला भ्लासिचले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार बाहिरिएको थियो । त्यसको एक मिनेटपछि नै माटियो कोभाचिचले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई पोस्टको दिशा दिन सकेनन् ।

३८ औं मिनेटमा पाब्लो सराबियाले गोल गर्दै स्पेनलाई बराबरीमा ल्याए । जोसे गायाको सुरुवाती प्रहारलाई गोलरक्षक लिभाकोभिचले विफल पारेपनि रिबाउन्डमा सराबीयाको प्रहार भने गोल भएको थियो । इन्ज्युरी समयमा अल्भारो मोराटाले पोस्टमा प्रहार गर्न सकेनन् ।
दोस्रो हाफमा स्पेनले आफ्नो स्वभाविक खेल पस्कदै क्रोएसियालाई दबाबमा राखेको थियो । ५७ औं मिनेटमा सेजार एज्पिलीक्वेटाले गोल गर्दै स्पेनलाई खेलमा पहिलो पटक अग्रता दिलाए । फेरान टोरेसको क्रसमा एज्पिलीक्वेटाले हेडरमार्फत गोल गर्दै आफ्नो करिअरको पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए ।
६६ औं मिनेटमा आन्टे रेबिचको प्रहारलाई गोलरक्षक सिमोनले सानदार बचाउ गरे । पेनाल्टी क्षेत्रको ठिक भित्रबाट उनले गरेको शक्तिशाली प्रहारलाई सिमोनले आफ्नो बायाँतर्फ डाइभ गर्दै बचाएका थिए । ७२ औं मिनेटमा स्पेनले अग्रता दोब्बर पारेपनि भीएआरले गोललाई मान्यता दिएन । मोराटाले सहज गोल गरेपनि उनी बल आउनुअघि नै गोललाइन नजिक रहेकाले भीएआरले अफसाइडको निर्णय दिएको थियो ।

७७ औं मिनेटमा स्पेनले अग्रता दोब्बर पार्यो । फेरान टोरेसले गोल गर्दै स्पेनलाई क्वाटरफाइनल स्थाननजिक पुर्याएका थिए । उनले पाउ टोरेसको लामो पासलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट ढंगले नियन्त्रणमा लिँदै गोलरक्षक लिभाकोभिचलाई बिट गरेका थिए । ८४ औं मिनेटमा वैकल्पिक खेलाडी ड्यानी ओल्मोको प्रहारलाई भने गोलरक्षकले बचाएका थिए ।
८५ औं मिनेटमा क्रोएसियाले गोल गर्दै खेलमा फर्कने संकेत दियो । ६ यार्ड बक्सभित्र लगातार एकपछि अर्को प्रहार गरेको क्रोएसियाको प्रहार स्पेनिस डिफेन्सले क्लिअर गर्न सफल रहेको थियो । तर भिडियो असिस्टेन्ट रेफ्रीले मिस्लाभ ओर्सिचको प्रहारलाई एज्पिलीक्वेटाले पोस्टभित्र छिरेर रोकेपछि गोलको मान्यता दिएका थिए ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा मारिओ पासलीचले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले मिस्लाभ ओर्सिचको क्रसलाई हेडरमार्फत गोल गर्दै स्पेनी समर्थकलाई निराश बनाएका थिए । पासलीचको हेडरलाई गोलरक्षक सिमोनले बचाउने कुनै अवसर नै पाएका थिएनन् । निर्धारित ९० मिनेटमा ३-३ को बराबरीसँगै खेल अतिरिक्त समयमा लम्बिएको थियो ।
अतिरिक्त समयको दोस्रो मिनेटमा ओर्सिचले क्रोएसियालाई अघि बढाउने अवसर गुमाए । उनले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा गरेको प्रहार पोस्टभन्दा थोरैले माथि गएको थियो । ९६ औं मिनेटमा सिमोनले उत्कृष्ट बचाउ गर्दै खेललाई बराबरीमा कायम राखे । आन्द्रे क्रामारीचको प्रहारमा उनको डाइभिङ बचाउले क्रोएसिया अग्रता लिनबाट बन्चित भएको थियो ।

खेलको १ सयौं मिनेटमा मोराटाले सुन्दर गोल गर्दै स्पेनलाई पुन: अग्रता दिलाए । ड्यानी ओल्मोले दायाँ विंगबाट दिएको क्रस डिफेन्डरले भेट्न नसक्दा मोराटाले पहिलो टचमा बललाई नियन्त्रणमा राख्दै हाफ भलीमा सुन्दर गोल गरे । उनको शक्तिशाली प्रहारलाई लिभाकोभिचले जोगाउने कुनै अवसर नै पाएनन् ।
अग्रता लिएको तीन मिनेटपछि नै स्पेनले अग्रता दोब्बर पार्यो । मिकेल ओयाराज्बालले पेनाल्टी क्षेत्रभित्र संयमित रहेर फिनिस गर्दै ५-३ ले अघि बढाएका थिए । अफसाइड ट्रयाप बिट गर्दै अघि बढेका ओल्मोले दिएको लो क्रसलाई ओयाराज्बालले राम्रो फिनिस गरेका थिए । त्यसको एक मिनेटपछि नै मोराटाले डिफेन्सबाट खोसेको बल अघि बढाएपनि प्रहार गर्न भने असफल रहे ।

१ सय १५ औं मिनेटमा मोराटाले अग्रता बढाउने अवसर पाएका थिए । उनले वन भर्सेस वनको स्थितिमा गरेको प्रहारलाई गोलरक्षक लिभाकोभिचले बचाएका थिए । अन्तिम मिनेटमा ओल्मोको प्रहार पोस्टमा लागेर फर्कंदा स्पेन अग्रता बढाउनबाट चुकेको थियो ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]