काठमाडौं (हाम्रो खेलकुद) – अरहन्तकेशर सिंह र भावना सुनुवारले शनिबार चौथो सिभिल बैंक खुल्ला स्क्वास प्रतियोगिताको उपाधि जितेका छन् । दुवैले उपाधि रक्षा गरेका हुन् ।
सातदोबाटोमा भएको पुरुष एकलको फाइनलमा अरहन्तले अमृत थापा मगरलाई ११–५, ११–५, ९–११ र ११–१ ले पराजित गरे । हिराबहादुर थापा र प्रवीणवीर सिंह कंसाकार संयुक्त रुपमा तेस्रो भए । अरहन्तले १५ र अमृतले ८ हजार रुपियाँ प्राप्त गरे । विश्व स्क्वास दिवसका अवसरमा नेपाल स्क्वास ¥याकेट्स संघद्वारा आयोजित प्रतियोगिताको महिला एकल फाइनलमा भावनाले विपना ब्लोनको चुनौतीलाई ८–११, ११–३, ११–८, ६–११ र ११–४ ले पन्छाइन् । सपना ब्लोन र स्वास्थानी श्रेष्ठ तेस्रो स्थानमा रहे ।
जुनियर ब्वाइज यु–१९ सिंगल्समा अमिर ब्लोनले च्याम्पियन बन्न दीपक थापालाई ११–४, ८–११, ११–४ र ११–७ ले हराए । विजय मगर र रोशन लामा तेस्रो बने । जुनियर ब्वाइज यु–१३ सिंगल्सको उपाधि भिडन्तमा गोपाल थापाले रञ्जित थापालाई १२–१०, ८–११, ११–९, ११–५ ले हराए ।
भेट्रान ५० वर्षमाथिको उपाधि सुदीपबहादुर सिंहले रक्षा गरे । उनले बेलायतबाट आएका ब्रिटिस गोर्खामा कार्यरत यम रानालाई ११–२, ११–९, ११–५ ले हराए । प्लेट च्याम्पियन्सीपमा विनोद रत्न शाक्लये ब्रिटिस गोर्खाकै धीर पुनलाई ७–११, ११–६, १३–११, ११–६ ले पराजित गरे ।
सिभिल बैंकको मुख्य प्रायोजनमा भएको पाँचदिने प्रतियोगितामा ८५ खेलाडीले ५ इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए । त्यसमा १० खेलाडी ब्रिटिस गोर्खामा कार्यरत हुन् । प्रतियोगितामा ६५ हजार रुपैयाँ पुरस्कार थियो ।