6 years ago
January 1, 2020
क्रियटिभ भ्वाइस
टीएस ठकुरी
मैले कतै पढें क्षेत्रफलका हिसाबले नेपालभन्दा करिब ५७ गुणा सानो युरोपेली देश लक्जम्बर्ग, जुन युरोपको आर्थिक हब हो । विश्व मानचित्रमा ४९ भूपरिवेष्टित राष्ट्रहरुमध्ये एक लक्जम्बर्ग आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिको पर्यायवाची रहेको पनि पढें ।

अधिकांश भूपरिवेष्टित देशलाई छिमेकीको टोकाई, गरिबी, पछौटेपन, राजनैतिक खिचातानी र अशान्तिले छाडेको हुँदैन । तर लक्जम्बर्ग भने अन्य भूपरिवेष्टित देशभन्दा बेग्लै शान्त र आर्थिक रुपमा सबल मुलुकका रुपमा सुचिकृत छ । फ्रान्स, जर्मनी र बेल्जियमले घेरिएको यो युरोपेली मुलुक भारत र चीनले चेपिएको दुई ढुंगाबीचको तरुल नेपाल जस्तो होइन । बरु, आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिको पर्याय हो ।
भूपरिवेष्टित, बहुभाषिक र बहुसांस्कृतिक मुलुक नेपालसँग लक्जम्बर्ग धेरै कुरामा मिल्दोजुल्दो छ । तर लक्जम्बर्गको बिशेषता भनेको भाषिक, सांस्कृतिक, स्वदेशी, विदेशी, धनी, गरिब, सानो जात, ठूलो जात, महिला, पुरुष, गाउँले, सहरिया, नेता, नागरिक, सभ्य, असभ्य कुनै बिषयमा विभेद नहुनु हो ।
जातीय, धार्मिक र साम्प्रदायिक विभेदले मुलुक कहिल्यै उँभो लाग्दैन । राज्यको विकास बजेट र अवसरको समान वितरणमुखी प्रणाली अवलम्बन नगर्ने हो भनेपनि देशले समृद्धिको बाटोमा पाइला अघि बढाउन मुस्किल नै हुन्छ । नेपालले सोच्नुपर्ने यहींनेर हो । किनकी नेपालले २०२० लाई भ्रमण बर्षका रुपमा मनाउँदैछ । जुन, आन दशरथ रंगशालामा भव्य कार्यक्रमका बीच उद्घोष हुँदैछ आरम्भको ।

यो त्यही रंगशाला हो, जहाँ यही मंसिर दोस्रो साता १३औं दक्षिण एसियाली खेलकुद(साग)को भव्य उद्घाटन एवं समापन समारोह भएको थियो । पहिलो र आठौं संस्करण पनि यसै रंगशालामा भएको थियो । यसले पनि हाम्रो विकासको गतिलाई देखाइरहेको छ । कम्तीमा यसपटक खेलकुद नेतृत्वले काठमाडौं बाहिर पोखरा र जनकपुरसम्म दक्षिण एसियाली मुलका नागरिकलाई पुर्याउन सफल देखियो ।
साग जस्तो बृहत खेलकुद महोत्सव आयोजनाको ठोस उद्देश्य मुलत खेलकुद स्पर्धा हो खेलकुद निकायका लागि, तर सरकारको स्वार्थ भनेको देश देखाउनु नै हो । आफ्नो विकास र समृद्धिको कथा सुनाउनु नै हो । तर १३औं सागमा नेपाल सरकारले राष्ट्रिय खेलकुद परिषदको टाउकोमा सबै थोपरिदियो ।
फेरि यतिबेला सरकार अर्को ठुलो महाअभियानमा छ । दुई तिहाइको सरकारले झण्डै २० लाख विदेशी पर्यटकलाई नेपाल देखाउने स्वर्णिम सपना देखेको छ । केपी ओली सरकारको नारा नै छ –‘समृद्ध नेपाल, सुखी नेपाली ।’

मेरा एक जना मित्र छन् नेपाल सरकारको अधिकृत । निकै बौद्धिक छन् । जो भर्खरै जापानमा दुई बर्ष पर्यटन सम्बन्धि पढेर फर्किएका छन् । एक दिन कफी पिउँदै गर्दा सिद्धार्थ ग्रुपको एस क्याफेमा उनलाई मैले सोधें –‘हाम्रो देश जापान जस्तै कहिले बन्छ? ‘नेभर(कहिल्यै बन्दैन)’– उनले एक चुस्की कफीमै जवाफ दिए ।
नेपाल सरकारको सोंच, योजना तर्जुमा र कार्यान्वयनको ढाँचातर्फ उनले संकेत गरेको म बुझ्न सक्दछु । पर्यटन सम्बन्धि पढेर फर्किएपछि सरकारले आयोजना गर्न लागेको भ्रमण बर्ष २०२० को सचिवालयमा काम गरेर आफ्नो प्रतिभा र क्षमता देखाउने उनको सोंच थियो, तर अन्तै जागिरको स्थानन्तरण अन्तै भएसँगै उनको जोेश हल्का घटेको छ । हाम्रो सरकारको चरित्रको यो एउटा सानो उदाहरण मात्र हो ।
हरेक देशले अरबौं रकम खर्चेर बृहत खेल महोत्सव गर्नुका पछाडि निश्चित उद्देश्य बोकेका हुन्छन् । चीनले २००८ मा बेइजिङ ओलम्पिक आयोजना गर्दा होस् या बेलायतले २०१२ मा लन्डन ओलम्पिक वा दक्षिण कोरियाले एसियाली खेलकुद आयोजना गर्दा खास उद्देश्य र स्वार्थ राखेका थिए । चीनले भौतिक विकासको चरमोत्कर्ष देखाउने उद्देश्य राखेको थियो भने बेलायतले नयाँ र सिर्जनशील सोचका लागि विश्वमा आफु नै अगाडि रहेको देखाउन लन्डन ओलम्पिकको ठूलो भारी बोकेको थियो ।
मिस वर्ल्ड आयोजनाका कारण चीनप्रति विश्व समुदायको दृष्टिकोण नै बदलियो । चीनले संसारलाई आफ्नो विकास, समृद्धि र वैचारिक तथा सांस्कृतिक सोंचमा आफुहरु अगाडि आइसकेको देखाउन पनि यस्ता ठुला इभेन्ट आयोजनाको आँट गर्छ । चीनसँग हरेक कामको सामथ्र्य पनि छ भन्ने देखाउन पनि उ चाहन्छ ।

निरंकुश राणा शासन, एक दलीय पञ्चायती व्यवस्था, संवैधानिक राजतन्त्रसहितको बहुदलीय प्रजातन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको नेपालले विश्व समुदायमा आफ्नो खास परिचय स्थापित गर्नुपर्ने चुनौति छ । सदियौंदेखि सबैले सुमधुर सम्बन्ध स्थापित गरेको मुलुक हो नेपाल । विविध कारणले अपेक्षित प्रगतिको बाटोमा नगएको पनि तितो सत्य हो ।
यसबिचमा नेपाललाई हामी स्वाधीन राष्ट्र हौं, संसारको सर्वोच्च शिखर हामीसँगै छ, गौतम बुद्ध हाम्रो देशमै जन्मिएका हुन् । हिमाल, पहाड र तराई जस्ता भौगोलिक विविधता, भाषिक, सांस्कृतिक विविधता भइकन पनि एकताको सुत्रमा गाँसिएको मुलुक नेपालको आफ्नै मौलिकता छ, आफ्नै सभ्यता छ भनेर विश्वलाई देखाउन केही त्यस्ता इभेन्ट आवश्यक पक्कै थिए । नेपाल भ्रमण बर्ष पनि विश्वलाई नेपाल देखाउने सरकारको लक्ष्य हो । १३औं साग आयोजना त्यसको रिहर्सल हुनसक्थ्यो । सरकार त्यसमा चुकेकै हो ।
सागमा झण्डै सात हजार खेलाडी र खेलकर्मीलाई निशुल्क नेपाली पर्यटनको सदभावना दुत बनाएर पठाउन सक्ने अवसर नेपालसँग थियो । यसैगरी सागको समाचार संकलन गर्न आएका दक्षिण एसियाका बिभिन्न देशबाट आएका झण्डै एक सय ५० पत्रकारलाई नेपालको सकारात्मक समाचार सम्प्रेषण गर्ने माहोल दिनुपर्थ्यो ।
साग देश जोड्ने अवसर पनि थियो । संघीय संरचनामा मुलुक गइसकेपछि विभाजित मनलाई एक ठाउँ ल्याउने सुवर्ण अवसर थियो साग । पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्मका युवाले केही नभएपनि स्वयंसेवक भएर सागको अपनत्व ग्रहण गर्न सक्थे । राज्यले हामीलाई समान व्यवहार गरेको छ भन्ने अनुभुति गर्न सक्थे । साग काठमाडौंमै सिमित भइदियो । नेपाल सरकार यसमा चुक्यो । भव्य र सभ्य भनिएको १३औं साग देशका लागि कति सार्थक बन्यो समिक्षाकै बिषय बनेको छ ।

राजनीतिक अस्थिरताका कारण केही महिनाको अन्तरमा सरकार बदलिरहने नियतिबाट आम नेपाली अघाइसकेका छन् । नेकपाको दुई तिहाइको सरकारले स्थायित्वको वचन दिंदै देशकै मुहार फेर्ने प्रतिबद्धता समेत जनाएकै हो । विकास र समृद्धि सबैका मुखमा झुन्डिएका हुन् । सागलाई खेलकुदको कार्यक्रममा मात्र सिमित गरिदा जातीय, धार्मिक, भाषिक र सांस्कृतिक विभेदभन्दा माथि रहेको खेलकुदले अपेक्षा गरेभन्दा बढी सन्देश सम्प्रेषण गर्न सकेन । यो सत्य हो । व्यवस्थापनको बिषयमा यो सागलाई सफल मान्ने सुचक पनि अत्यन्त कम छ । पदक संख्याले नै सबैलाई खुसी दिलाएको पक्कै हो । पदक कसरी धेरै आए? यो पनि अर्को समिक्षाको बिषय हो ।
यसअघि सन् १९९९ मा दोस्रोपटक साफ आयोजना गर्दा पनि नेपालले आफ्नो इतिहासमा सबैभन्दा बढी ३१ स्वर्ण जितेर पदक तालिकामा दोस्रो स्थान हासिल गरेको थियो । यसपटक पनि त्यो कीर्तिमानलाई निरन्तरता दिन सफल भयो । यसरी नेपाल प्रगतिको बाटोमा अघि बढेको भन्ने ठाउँ पनि अवश्य छ ।
२०७२ को महाभुकम्पपछि केही सुस्ताएको पर्यटन व्यवसाय एक साता सागमा आएका खेलाडी र पदाधिकारीको जमघटले तरंगित बनाइदियो । यिनै विदेशी खेलाडी र खेल पदाधिकारीकै कारण सन् २०२० मा ती मुलकबाट अरु थप पाहुना नेपाल घुम्न आउनेमा आशा गर्न सकिन्छ । सबै स्कुले विद्यार्थीहरुलाई प्रशिक्षित गराएर तयारी अवस्थामा राख्न सकिन्थ्यो । हरेक गल्ली र सडकमा अल्मलिएका पर्यटकलाई मिठो वचनका साथ व्यवहार गर्ने र सहयोग गरिदिने स्वभावको विकास नागरिकमा आवश्यक छ ।

सरकारले यस्ता अभियान कतै चालेको छैन । फगत कार्यक्रमका नाममा कार्यक्रम मात्र भइरहेका छन् । जम्बो टोली निम्ता बाँड्न हिंडेको हिंड्यै छ । फेरि दशरथ रंगशाला भव्य साउन्ड सिस्टमको गर्जनले गुञ्जिनेछ । तर खास पर्यटक कसरी टिकाउने भन्ने तरिका कतै सिकाइएको छैन । सरकारले एक तिरबाट दुई शिकार गर्न सक्थ्यो । भ्रमण बर्षको पूर्वसन्ध्यामा आयोजित सागमा खर्चेको रकमले नै भ्रमण बर्षको प्रचार प्रसार पर्याप्त हुन सक्ने ठाउँ थियो । त्यसलाई भव्यता दिनबाट नेतृत्व चुकेकै हो ।
तैपनि साग खेल्न र खेलाउन आएका खेल पदाधिकारीकै प्रचारप्रसारले आगामी बर्ष नेपालमा दक्षिण एसियाली मुलुकका पाहुना बढ्ने निश्चित छ । नेपाल पर्यटन बोर्डका अनुसार नेपालको पर्यटन क्षेत्रमा दक्षिण एसियाली मुलुकका पाहुनाको हिस्सा २५ प्रतिशतभन्दा बढी छ । सागको अहिलेको प्रचारप्रसारले आगामी बर्ष ती मुलुकका पाहुनाको हिस्सा अझ बढ्ने प्रक्षेपण गर्न सकिन्छ । दक्षिण एसियाली मुलुकमा सबैभन्दा बढी पाहुना भारतबाट आउँछन् । हवाई मार्गबाट आएका पाहुनाको तथ्यांकअनुसार सन् २०१८ मा भारतका पाहुनाको हिस्सा झण्डै १७ प्रतिशत थियो । त्यसबाहेक स्थल मार्गबाट आएका भारतीय पाहुनाको तथ्यांक कतै राखिएको हुँदैन । स्थलमार्गको आगमन पनि पर्याप्त हुने आँकडा छ ।
सार्क मुलुकमध्ये धेरै पर्यटक नेपाल आउनेको दोस्रो सूचिमा श्रीलंका पर्छ । सन् २०१८ मा श्रीलंकाले नेपालको पर्यटन बजारको करिब ६ प्रतिशत हिस्सा ओगटेको थियो । तेस्रो सुचीमा बंगलादेश पर्छ । अघिल्लो बर्ष बंगलादेशले नेपाली पर्यटन बजारको दुई प्रतिशतभन्दा बढी हिस्सा ओगटेको थियो । ती बाहेक भुटान, पाकिस्तान, मालदिभ्सबाट पनि आउने पाहुना हुन्छन् । ती मुलुकबाट निकै नै कम संख्यामा पाहुना नेपाल आउँछन् ।

नेपाल भ्रमण बर्ष २०२० को पुर्वसन्ध्यामा पोखरा, काठमाडौं र जनकपुरले सागको खेल खेलाउँदा सहभागी मुलुकका खेलाडी तीनवटै पर्यटकीय क्षेत्रमा बाँडिए । ती खेलाडी र खेल पदाधिकारीबाटै अहिले पर्यटकीय क्षेत्रले प्रचारप्रसार गरिरहेको छ । नेपालगन्ज सागको चौथो गन्तब्य हुनसक्थ्यो, नेतृत्व यसमा चुक्यो । नेतृत्व भन्नुको अर्थ यस क्षेत्रबाट चुनिएका हरेक जनप्रतिनिधि यसमा चुकेकै हुन् । अन्यथा भारोत्तोलन, महिला क्रिकेट र महिला फुटबल नेपालगन्ज र कोहलपुरमा आयोजना गराउन सकिन्थ्यो ।
नेपालमा खेल्न आएका ती खेलाडी सम्बन्धित मुलुकका सेलिब्रिटी पनि भएकाले उनीहरुले खेल्न पुगेका सहरको प्रचारप्रसार खुलस्त गर्ने भएकाले पनि २०२० को भ्रमण बर्षलाई यसले फाइदा दिलाउन सक्छ । त्यसबाहेक सहभागी मुलुकका सञ्चारमाध्यमले आफ्ना खेलाडीको खेल प्रगति र यहाँको सौन्दर्यताबारे प्रचारप्रसार गरेकाले पनि सागबाट पर्यटनले फाइदा लिन सकिने आँकलन गर्न सकिन्छ ।

दक्षिण एसियाली मुलुकमा व्यवसायीले बेलाबेला गर्ने गरेको प्रवर्द्धनात्मक कार्यक्रमभन्दा पनि सागले गरेको प्रचारले बढी व्यापकता पाउने निश्चित छ । नेपालमा खेल्न आएका खेलाडीको प्रदर्शनबारे ती मुलुकका सञ्चारमाध्यमले गर्ने समाचार सम्प्रेषणले पनि नेपालले प्रचारप्रसार पाउने नै हो । साग सकिएपछि स्वदेश फर्केका खेलाडीबाट पनि थप प्रचारप्रसारको अपेक्षा गर्न सकिन्छ ।
काठमाडौं, पोखरा र जनकपुर मात्र नभई सिंगो नेपाल घुम्न कुनै असुरक्षा छैन भनेर खेलाडी र खेल पदाधिकारीबाट उनीहरुको मुलुकमा सन्देश फैलिनेछ । पर्यटनमा सुरक्षाको निश्चितता चाहिन्छ । नेपालमा कुनै असुरक्षा नभएकाले घुम्न जाँदा ढुक्क हुन सकिन्छ भन्ने सन्देश पनि सम्प्रेषण भएको छ । जुन सिंगो नेपालको पर्यटन क्षेत्रका लागि सकारात्मक हो ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]