काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलकुद विकासमा टेवा पुर्याउने उद्देश्यका साथ स्थापना भएको शीरिष फाउन्डेसनसँग ह्याम्स हस्पिटल प्रा.लीले खेलाडीको स्वास्थ्य उपचारमा सहकार्य गर्ने भएको छ । पहिलो चरणमा प्रतिभावान खेलाडीलाई छात्रबृति दिएर स्थापनाको पहिलो बर्षमै काम अघि बढाएको शीरिष फाउन्डेसनले छात्रबृति दिएका खेलाडीलाई ह्याम्सले निशुल्क स्वास्थ्य सेवा दिने सहमति भएको छ ।
शीरिष फाउन्डेसनका अध्यक्ष ओलम्पियन शीरिष गुरुङ र ह्याम्सका निर्देशक भक्त प्रल्हाद पाण्डेले सम्झौता पत्रमा बिहीबार हस्ताक्षर गरे । छात्रबृति दिएका खेलाडीलाई फाउन्डेसनको सिफारिसमा ह्याम्सले निशुल्क स्वास्थ्य परिक्षण र हस्पिटलमा रहेको सेवा प्रदान गर्नेछ । एक बर्षका लागि भएको सम्झौता आउने दिनमा पनि निरन्तरता पाउने आशा ह्याम्सका निर्देशक पाण्डेले आशा व्यक्त गरे । फाउन्डेसनले अहिले १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता निमा घर्ती मगरलाई छात्रबृति दिइरहेको छ ।
फाउन्डेसनका अध्यक्ष शीरिषले ह्याम्ससँगको सम्झौता फाउन्डेसनका लागि सुखद दिन बनेको बताए । आउने दिनमा ४ खेलाडीलाई छात्रबृति दिने लक्ष्य रहेको जनाउँदै शीरिषले भने,‘भविष्यमा यस्ता अन्य संस्थाहरु पनि फाउन्डेसनमा जोडिने हामीले विश्वास लिएका छौं ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सम्झौता नेपाली खेलकुदका लागि एतिहासिक कार्यक्रम भएको बताए । ‘खेलाडीहरुलाई यसले टेवा पुग्नेछ । स्वास्थ्य उपचारका लागि आर्थिक अभावका कारण हाम्रो पुस्ताले जुन पीडा भोग्यो यसले आउने पुस्तालाई त्यो समस्या नहुने भएको छ,’ उनले भने, ‘यो सम्झौताले खेलाडीमा म सुरक्षित छु भन्ने भावनाको विकास हुन्छ । खेलाडीको स्वास्थ्यका विषयमा हामीले सरकारसँग माग गरेका छौं, त्यो कार्यान्वय भइसकेको छैन । यो कामलाई हस्पिटलले निरन्तरता दियोस् ।’
नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यले फाउन्डेसको कामलाई सरकारले पनि सिक्नु पर्नेमा जोड दिए । उनले भने, ‘अब खेलाडीहरुले ढुक्क भएर खेल्ने वातावरण बनेको छ । ह्याम्सका निर्देशक पाण्डेले नेपाली खेलकुदसँग जोडिन पाउँदा गौरवान्वित भएको बताए ।
‘खेलाडी र कलाकारले सिंगै राष्ट्रको प्रतिनिधित्व गरेका हुन्छन् । खेलाडीहरु खेल्दा घाइते हुँदा आफै उपचार गर्नु परेको अवस्था छ ’ उनले थपे, ‘यस्तो अवस्थामा शीरिषले आफुले पाएको दुःख अन्य खेलाडीले भोग्नु नपरोस भन्नका लागि फाउन्डेसन स्थापना गरेका छन् । यो एकदमै राम्रो कदम हो । हामी अब फाउन्डेसनले सिफारिस गेरका खेलाडीको नियमित जाँच, थेरापी गर्छौ । फाउन्डेसनमार्फत हामी खेल क्षेत्रलाई सहयोग गर्न चाहन्छौं ।’