म रोनाल्डोको खेल हेर्न थालेको सन् २००४ देखि हो । म सन् २०१३ देखि कतारमा छु । यहाँ विश्वकप हुन्छ भन्ने थाहा भएदेखि नै विश्वकप हेर्न आउँछु भन्ने थियो । कतार नै आएपछि फुटबल फ्यान भएको नाताले विश्वकपको लागि उत्साहित थिएँ । मैले प्रत्यक्ष मैदानमा उपस्थित भएर पहिलो पटक पोर्चुगलको खेल हेर्दैछु ।

यसअघि प्रत्यक्ष रुपमा कतारमै आएपछि सन् २०१४ उरुग्वे र स्पेनको खेल हेरेको थिएँ । त्यसपछि नेपालबाहेक अन्तर्राष्ट्रिय खेल अरु हेरेको छैन । टिभीमा भने नियमित दर्शक हुँ ।
रोनाल्डोको एकदम ठूलो समर्थक हुँ । आज पनि हामी साथीहरु सबै रोनाल्डोकै नाम अंकित पोर्चुगलको जर्सी लगाएर आएका छौं । हामी दश जना समूह नै आएका छौं । खेलको लागि एकदम उत्साहित छौं । रोनाल्डोले आज ह्याट्रिक हानेर जिताएको हेर्न मन छ ।
रोनाल्डोले अब आफ्नो करिअरमा विश्वकप मात्र जित्न बाँकी छ । यसपटक त्यो पूरा होस् भन्ने चाहना छ । मैले क्वाटरफाइनलको टिकट पनि काटेको छु । यदि पोर्चुगल र ब्राजिल जित्दै जाने हो भने क्वाटरफाइनलमा भेट हुन्छ ।
पोर्चुगल र उरुग्वेबीच खेल हुने लुसेल रंगशालाबाहिर मकवानपुरस्थित मनहरीका स्थायी बासिन्दा बसिर अहमदसँग कुराकानीका आधारमा । तपाईं पनि विश्वकप हेर्न कतारस्थित रंगशालामा हुनुहुन्छ भने आफ्नो टिकट गेट नम्बर हाम्रो खेलकुदको फेसबुक पेजमा मेसेज गर्नुहोला, हामी तपाईंलाई सम्पर्क गर्ने प्रयास गर्नेछौं ।
तपाईं पनि विश्वकप वा अन्य खेलसँग आफ्नो लेख रचना छ भने हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ ।