default_image

3 years ago

July 16, 2021

नेपालको ओलम्पिक यात्रामा पदाधिकारीको जात्रा

सुबास हुमागाईं, काठमाडौं ओलम्पिकमा सफलता हरेक खेलाडीको लागि आफ्नो करिअरको उच्च विन्दुमा पुगेको पुष्टि गर्ने विश्वभर मान्यता प्राप्त माध्यम हो । व्यक्तिगत सफलतासँगै विश्वभर राष्ट्रको पहिचान बनाउन महाकुम्भमा सहभागी हुने हरेक खेलाडीको सपना हुन्छ । नेपालको हकमा भने हालसम्म ओलम्पिक यात्रा सहभागितामा नै सिमित भइरहेको छ । हामी सहभागितासँगै सफलताको स्वाद कहिले चाख्न पाउँछौं भन्न सकिने […]

143 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

ओलम्पिकमा सफलता हरेक खेलाडीको लागि आफ्नो करिअरको उच्च विन्दुमा पुगेको पुष्टि गर्ने विश्वभर मान्यता प्राप्त माध्यम हो । व्यक्तिगत सफलतासँगै विश्वभर राष्ट्रको पहिचान बनाउन महाकुम्भमा सहभागी हुने हरेक खेलाडीको सपना हुन्छ । नेपालको हकमा भने हालसम्म ओलम्पिक यात्रा सहभागितामा नै सिमित भइरहेको छ । हामी सहभागितासँगै सफलताको स्वाद कहिले चाख्न पाउँछौं भन्न सकिने अवस्था भने छैन ।

यहाँसम्म की ओलम्पिक इतिहासमा हालसम्म नेपालका सयभन्दा बढी खेलाडीले सहभागिता जनाउँदा दुई खेलाडीले मात्र छनोट भएर प्रतिस्पर्धा गरेका छन् । तेक्वान्दोका संगीना वैद्य र दीपक विष्ट बाहेक सबै खेलाडी या त वाइल्डकार्ड वा युनिभार्सालिटि प्लेसेसका आधारमा नै सहभागिता जनाउँदै आएका छन् । यसमा खेलाडीको मिहिनेतभन्दा भाग्य नै बढी भूमिका खेल्छ । कुनैपनि खेलमा उत्कृष्ट खेलाडी नभएर सिमित विधाको सिमित कोटामा परेपछि ओलम्पिक खेल्न पाउने हो । यसैकारण पनि नेपालमा भाग्यमानी ओलम्पियनको संख्या अत्याधिक छ ।

भाग्यमानी नै सहि, ओलम्पियन बन्ने खेलाडीले आफ्नो विधामा आफूलाई सिद्ध गरेर नै त्यहाँसम्म पुगेका हुन्छन् । ओलम्पिकमा विश्वका सबै देशको प्रतिनिधित्व होस् भन्ने हेतुले नै भाग्यमानी खेलाडी आफ्नो मिहिनेतको प्रतिफल पाउन सक्छन् । कमै खेलाडीले यो अवसर पाउँछन् ।

खेलाडीको सहभागिता त एक पाटो भइ नै हाल्यो, नेपालको हकमा लामो समयदेखि पदाधिकारीको सहभागितामा पनि विभिन्न प्रश्न उठ्ने गरेको छ । खेलाडीको कम सहभागिताका बाबजुद पनि सरकारी बजेटमा अनावश्यक रुपमा पदाधिकारीको ओलम्पिक सहभागिता रहने गरेको छ । खेल र खेलाडीलाई आवश्यक पर्ने टोली सदस्य नभएर संघका पदाधिकारीको सहभागितामा सरकारी बजेट खर्च भएको पाइन्छ । लामो समयदेखि चल्दै आएको परम्पराले यसपटक पनि निरन्तरता पाएको छ ।

एकातर्फ खेल र खेलाडीको विकासका लागि यो गर्छौं र त्यो गर्छौं भन्दै भाषण गर्ने यिनै पदाधिकारी सरकारी बजेटमा आफ्नो व्यक्तिगत इच्छा पूरा गर्छन् । खेलाडीको तयारीमा काम गर्ने प्रशिक्षक, व्यवस्थापक, मेडिकल टिमलाई बाहिर राख्दै यी पदाधिकारी ओलम्पिक यात्रामा निस्कने गर्दछन् । यो प्रवृति ओलम्पिक जस्तो महाकुम्भमा मात्र नभएर, दक्षिण एसियाली खेलकुद, विश्व च्याम्पियनसिप लगायत अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत रहँदै आएको छ ।

यसपटक नेपालको ओलम्पिक टोलीमा ५ खेलाडी, ४ प्रशिक्षक र १६ पदाधिकारी छन् । १६ पदाधिकारीमध्य एक जना डाक्टर हुन् भने अर्का एकजना स्वयंसेवक छन् । बाँकी सबै कुनै संघका पदाधिकारी हुन् र आफ्नो बाहेक अन्य कुनै खेलको व्यवस्थापकका भूमिकामा रहेर टोकियो प्रस्थान गर्दैछन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष तथा नेपाल फेन्सीङ संघका अध्यक्ष सुनिलकुमार श्रेष्ठ सुटिङ टोलीको व्यवस्थापकका रुपमा टोकियो ओलम्पिक जाँदैछन् । हाल अमेरिकामा रहेका एनओसीका उप महासचिव पिताम्बर तिम्सिना एथलेटिक्सको व्यवस्थापकको भूमिकामा टोकियो २०२० ओलम्पिकमा हुनेछन् । नेपालमा एथलेटिक्सको सहभागितालाई लिएर ओलम्पिक विवाद उत्कर्षमा रहँदा तिम्सिना अमेरिका नै थिए, र उनी त्यतैबाट टोकियो पुग्नेछन् । राखेप उपाध्यक्ष शिव कोइराला पनि एथलेटिक्सकै व्यवस्थापकको भूमिकामा टोकियो जानेछन् । उनी तेक्वान्दो युनियनको अध्यक्ष पनि हुन् । राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल सेफ द मिसनका रुपमा टोकियो ओलम्पिकमा सहभागी हुँदैछन् ।

संघिय सांसद समेत रहेकी कबड्डी संघकी अध्यक्ष कुमारी तुलसा थापा र तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणा जुडोको व्यवस्थापक बनेर टोकियोको टिकट काट्दैछन् । युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने एनओसी अट्याचीका रुपमा जापान जानेछन् । टोकियोस्थित नेपाली दुतावासका कर्मचारी प्रेम बराल पनि नेपालको ओलम्पिक टोलीमा समेटिएका छन् । एनओसी उपाध्यक्ष तेजबहादुर गुरुङले भने अन्तिम समयमा नाम फिर्ता लिएका छन् ।

राखेप सदस्यद्वय सुबाश श्रेष्ठ र सम्पन्न श्रेष्ठ प्रशासन सदस्यको भूमिकामा टोकियो जाने भएका छन् । श्रेष्ठद्वयको ओलम्पिक जाने पक्का हुनुभन्दा केहि दिन अघिमात्र सदस्य सचिव सिलवालसँग राखेपमै चर्काचर्की परेको खबर सार्वजनिक भएको थियो । त्यसबेलाको घटनालाई अहिले भने ओलम्पिक सहभागितासँग जोडेर हेरिएको छ ।

भारतबाट कुल २ सय २८ खेलाडी र अफिसियल टोकियोमा सहभागी हुँदैछन् । आश्चर्य लाग्न सक्छ भारतको २ सय २८ सदस्यीय टोलीमा १ सय १९ खेलाडी छन् । अफिसियल मध्य ५४ जना प्रशिक्षक, १७ जना फिजियो, ४ जना मसुअर, २ जना डाक्टर, १ मेडिकल स्टाफ, १ मनोवैज्ञानिक, २ वैज्ञानिक सल्लाहकार र २ भिडिओ एनालिस्ट रहेका छन् । यसबाहेक खेल अनुसार गल्फमा ३ क्याडी र इक्वेस्ट्रीएनमा १ भेट डाक्टर र १ हेरचाहकर्ता पनि छन् । बाँकी भने खेल अनुसारका व्यवस्थापक र अन्य अफिसियल गरेर २१ जना पदाधिकारी छन् ।

भारतको लगभग सबै खेलको टोलीमा कम्तिमा १ फिजियो छन् । कतिपय खेलमा फिजियो र व्यक्तिगत ट्रेनर नै टोलीमा समावेश छन् । टोली व्यवस्थापकका रुपमा पनि सम्बन्धित संघको जिम्मेवारीमा रहेका व्यक्तित्व नै टोलीमा सामेल छन् । नेपालको हकमा भने टोलीमा कुनैपनि फिजियो छैनन्, र आफ्नो खेल नभएर भागबन्डा मिलाउन अन्य खेलका पदाधिकारी टोलीमा छन् ।

नेपाली खेलकुद अझैपनि परापूर्वकालदेखि चलिआएको पद्दतिमा अघि बढेको छ । अघि बढेको छ भन्दापनि पछि सरेको छ भन्दा बढी सान्दर्भिक होला । विश्व बजारमा खेलकुदले एक पछि अर्को फड्को मारिरहेको अवस्थामा अन्य खेलाडी र टोली अघि बढेका छन् । तर जहाँको त्यहीं रहेको नेपाली खेलकुद तुलनात्मक प्रतिस्पर्धामा पछि परेको छ ।

नेपाली खेलकुदमा स्वास्थ्य टोली, वैज्ञानिक टोली, प्राविधिक टोलीको नाम प्राथमिकतामा नै पर्दैन । कतिपय खेलले त यसको नाम पनि सुन्न पाएका छैनन् । केहि ठूला खेलले आफ्नो टोलीमा फिजियोथेरापिस्ट राख्ने कार्य भर्खर सुरु गर्दैछन् । वैज्ञानीक तवरले खेल र खेलाडीको तयारीबारे त सोच पनि सुरु भएको छैन ।

नेपालमा नै केहि सिमित जनशक्ति उपलब्ध हुँदा त्यसको प्रयोग गर्न खेल संघ र समबन्धित निकाय चुकिरहेको अवस्था छ । केहि जनशक्ति खेलमा लागेपनि उचित स्थान पाउन सकिरहेका छैनन् । पदाधिकारीले खेल र खेलाडीभन्दा व्यक्तिगत स्वार्थलाई अघि राख्दा त्यसको ठूलो मूल्य समग्र खेलले चुकाउनु परेको अवस्था छ ।

यसपटक त अझ भागबन्डा मिलाउन छनोट भएका खेलका पदाधिकारी ओलम्पिक जाने छैनन् । बरु अन्य खेलका पदाधिकारी व्यवस्थापकको रुपमा जिम्मेवारीसहित ओलम्पिक जाँदैछन् । खेलको सामान्य प्राविधिक ज्ञान समेत नभएका पदाधिकारी अन्य खेलको जिम्मेवारी लिँदै यात्रा गर्दा त्यसको नतिजा विगतमा पनि नेपाली खेलकुदले देखेको छ । ट्रयाकमा पुगेर कुद्न नपाएको बिडम्बना पनि हामीले भोगेका छौं ।

यसपटक त एथलेटिक्समा गोपीचन्द्र पार्कीको छनोट प्रकरणले पनि एनओसी र संघको कमजोरी उदांगिएको छ । अझ त्यसका बाबजुद पनि व्यवस्थापकको भूमिकामा अन्य खेलको पदाधिकारी जानुले नेपाली खेलकुदकै धज्जी उडाएको भन्दा फरक नपर्ला । सुटिङ, जुडो र एथलेटिक्समा खेलाडीको सहभागितालाई लिएर व्यवस्थापन जानकार हुनुपर्छ । सुटिङमा त अझ बन्दुक खेलाडीले नै लग्नुपर्ने हुनाले नेपालदेखि यात्रा नै सहज हुँदैन । जुडो र एथलेटिक्समा पनि धेरै प्राविधिक पक्षबारे जानकार हुनुपर्छ ।

केहि दिन अघि खेलकुद सचिवले ओलम्पियनहरुलाई बिदाइ गर्न आयोजना गरिएको कार्यक्रममा भाषण दिँदा नेपालले ओलम्पिकमा पदक जित्ने लक्ष्यसहित तयारी गर्नुपर्ने अभिव्यक्ति दिए । खेलकुदमा सायदै देखिने अनुहारका यी अहिले नेपाली खेलकुदकै सर्वोच्च निकाय युवा तथा खेलकुद मन्त्रालयका सचिव छन् । तर सायद उनलाई नेपालबाट छनोट भएर ओलम्पिक खेल्ने हालसम्म मात्र २ जना खेलाडी छन् भन्ने तथ्यबारे पनि जानकारी नभएको उनको अभिव्यक्तीबाट अनुभूत हुन्थ्यो । उनले ओलम्पिकमा पदक जित्ने सपना देख्नुअघि छनोट हुने आधार कसरी तय गर्ने भन्ने नै देख्न सकेनन् ।

सचिव न्यौपाने आफैं ओलम्पिक यात्रा तय गर्दैछन् । एनओसी अट्याचीको भूमिकामा । उनले आफू ओलम्पिक गएर अर्को एक इभेन्ट र अर्को एक देश आफू भ्रमण गरेको सुचिमा थप्लान्, तर उनको स्थानमा पौडीमा एक विदेशी प्रशिक्षक वा फिजियो थपेको भए, टोलीको नतिजामा केहि प्रभाव पक्कै पर्ने थियो होला । त्यो नभए, प्राविधिक जनशक्तिले ओलम्पिकमा सिकेको जानकारी नेपाल फर्केर खेलमा लगाउने सम्भावना रहन्थ्यो ।

सचिव न्यौपाने जस्तै भ्रमणका लागि ओलम्पिक यात्रामा जाने धेरै यस्ता छन्, जसको व्यक्तिगत स्वार्थभन्दा बढी खेलकुदले केहि पाउने देखिदैन । न यी पदाधिकारीको ओलम्पिक अनुभवले नेपाली खेलकुदमा कुनै बदलाव नै आउँछ । नेपालमा खेल हुँदा बिरलै योगदान दिने यी पदाधिकारीले अब आउने दिनमा भाषण गर्नुअघि आफ्नो धरातल बुझे खेलकुदमा केहि परिवर्तन पक्कै आउला ।

बिदाइ कार्यक्रममा अन्य पदाधिकारीले दिएका केहि अभिव्यक्ति र देखाएका व्यवहारले पनि नेपाली खेलकुदको स्थान कहाँ छ भन्ने केहि संकेत पक्कै दिएको थियो । एनओसीले ओलम्पिक प्रवर्द्धकका रुपमा सम्झौता गरेको दराजले आयोजना गरेको उक्त कार्यक्रमलाई एनओसीका कार्यकारी निर्देशक राजवैद्यले आफ्नो जीवनकै उत्कृष्ट पत्रकार सम्मेलन रहेको भन्दै कार्यक्रममा नै बोले । विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गरिसकेको नेपाली खेलकुदका लागि त्यो अर्को सामान्य पत्रकार सम्मेलन थियो ।

कार्यक्रममा पत्रकारहरुलाई प्रश्न सोध्न आग्रह गरेलगत्तै एनओसी अध्यक्ष श्रेष्ठले फोन उठाएर झन्डै ५ मिनेट कुरा गरे । यसले कार्यक्रममा उपस्थित अन्यलाई चकित बनाएको थियो । जब पत्रकारको प्रश्न आउन थाल्यो, त्यसपछि एनओसी पदाधिकारीले स्पष्ट जवाफ दिएनन् र ‘टिमको तयारी र खेलाडीको मनोबल बढ्ने प्रश्न सोध्न’ उल्टै पत्रकारलाई सुझाव दिए । गोपीचन्द्र पार्कीबारे प्रश्न गर्दा कार्यक्रममा दर्शक दिर्घामा रहेका एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहलाई उत्तर दिन लगाइयो ।

अझ एनओसी महासचिव श्रेष्ठले कार्यक्रमकै दौरान एक मास्क कम्पनिले एनओसीलाई केहि थान मास्क उपलब्ध गराएको भन्दै प्रदर्शनी नै गरे । जबकी यसबारे कुनै अधिकारिक सम्झौता वा पूर्व जानकारी दिइएको थिएन । एकातर्फ दराज र ओलम्पिकको किट प्रायोजक केल्मीले निकै कम व्यावसायिक स्थान पाउँदा, मास्क कम्पनिलाई भने निकै राम्रो स्थान दिइएको थियो । अधिकारिक किट प्रायोजकको सामाग्री खेलाडी र प्रशिक्षकले नलगाएको अवस्थामा मास्क भने सबैले त्यहीं लगाउन निर्देशन दिइएको थियो ।

पछिल्ला संस्करणको तुलनामा यसपटक ओलम्पिक सहभागिता आर्थिक रुपमा पनि निकै चुनौतीपूर्ण रहेको छ । कोरोना संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न स्वास्थ्य नियमवालीमा थप कडाइ गरिएको छ । यसपटक ओलम्पिक सहभागितामा सामान्य अवस्थामा भन्दा तीन गुणा खर्च हुने आँकलन रहेको छ । तर त्यसका बाबजुद नेपालको जम्बो अफिसियल टोलीलाई कुनै असर गरेको छैन । अझ कोरोनालाई मध्यनजर गर्दै टोलीमा मेडिकल वा मनोवैज्ञानिक जनशक्ति थप्नु पर्नेमा त्यता ध्यान गएको छैन ।

त्यसो त पदाधिकारी ओलम्पिक र अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा जानु नै हुन्न भन्ने होइन । तर प्राथमिकतामा कसलाई राख्ने भन्ने पक्षमा नेपाली खेलकुद चुकिरहेको छ । उपलब्ध हुने सरकारी खर्चमा कम्तिमा टोलीमा आवश्यक पर्ने जनशक्तिलाई प्राथमिकतामा राखे मात्र पनि केहि प्रतिफलको आशा गर्न सकिन्छ ।

पदाधिकारीको भ्रमण मोह मात्र होइन, बजेट व्यवस्थापनमा पनि ध्यान पुर्याए नेपालले अहिलेको भन्दा राम्रो प्रदर्शन र प्रतिफल ल्याउनेमा दुइमत रहन्न । ओलम्पिक त एक प्रतिनिधि पात्र मात्र हो । जबसम्म खेल र खेलाडीसँगै खेलकुदमा चाहिने जनशक्तिलाई उचित स्थान दिन सकिदैन खेलकुदबाट सफलताको कल्पना गर्न कठिन छ ।

पदाधिकारी वा सदस्यका रुपमा एनओसीमा प्रवेश गर्नका लागि केहि वर्ष यता तीब्र प्रतिस्पर्धा हुने गरेको छ । त्यसको एउटा मुख्य आकर्षण भनेको ठूलो खेल मेलामा देशको प्रतिनिधित्व गर्ने अवसर नै हो भन्ने आरोप लाग्ने गरेको थियो । कुनै बेला कोठे निर्वाचनबाट एनओसी कार्यसमिति निर्वाचन हुने परम्परा तोडिएको डेढ दशक नाघेको छ । सन् २००८ को बेजिङ ओलम्पिकमा धेरै र अनावश्यक पदाधिकारी ओलम्पिकमा भाग लिन जान लागेको भन्दै त्रिभुवन विमानस्थलमै प्रदर्शन भएको पनि तितो यथार्थ हाम्रो सामू छँदैछ ।

त्यहाँबाट हेर्दा अहिले पदाधिकारीको लर्कोमा धेरैको अवरोध देखिन्न । केहि दिनअघि टोकियो ओलम्पिक यात्राका बारेमा जानकारी दिन आयोजना गरिएको कार्यक्रममा संघिय सांसद समेत रहेका जीवनराम श्रेष्ठले विगतमा ओलम्पिकको सहभागिता जात्रा जस्तो हुन्थ्यो यसपटक यात्रा जस्तो हुँदैछ भनेबाट पनि धेरै विषय प्रष्ट हुन्छ । यात्रा सहज भएपनि त्यसबाट नेपाली खेलकुदमा कस्तो प्रभाव पर्छ भन्ने जवाफ दिनबाट भने एनओसी चुकिरहेको छ ।

ओलम्पिकमा सहभागी हुने पदाधिकारी :

जीवनराम श्रेष्ठ – अध्यक्ष, एनओसी (अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको आमन्त्रण)

निलेन्द्रराज श्रेष्ठ – महासचिव, एनओसी (अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको आमन्त्रण)

चतुरानन्द राजवैध – उपाध्यक्ष तथा कार्यकरी निर्देशक, एनओसी (ओलम्पिकमा कोभिड लाइसेन्स अफिसरको भूमिकामा)

सुनिलकुमार श्रेष्ठ – उपाध्यक्ष, एनओसी तथा अध्यक्ष फेन्सीङ (ओलम्पिकमा सुटिङ व्यवस्थापक)

पिताम्बर तिम्सिना – सहमहासचिव, एनओसी (ओलम्पिकमा एथलेटिक्स व्यवस्थापक)

कुमारी तुलसी थापा – सचिव, एनओसी तथा कबड्डी अध्यक्ष (ओलम्पिकमा जुडो व्यवस्थापक)

प्रकाश शमशेर राणा – सदस्य, एनओसी तथा तेक्वान्दो संघ अध्यक्ष (ओलम्पिकमा जुडो व्यवस्थापक)

राम अवाले – सदस्य, एनओसी तथा बक्सिङ अध्यक्ष (ओलम्पिकमा पौडी व्यवस्थापक)

केदार न्यौपाने – सचिव, युवा तथा खेलकुद मन्त्रालय (ओलम्पिकमा एनओसी अट्याची)

शिव कोइराला – उपाध्यक्ष, राखेप तथा तेक्वान्दो युनियन अध्यक्ष (ओलम्पिकमा एथलेटिक्स व्यवस्थापक)

रमेशकुमार सिलवाल – सदस्यसचिव, राखेप (ओलम्पिकमा सेफ द मिसन)

सुभाष श्रेष्ठ – सदस्य, राखेप (ओलम्पिकमा प्रशासन सदस्य)

सम्पन्न श्रेष्ठ – सदस्य, राखेप (ओलम्पिकमा प्रशासन सदस्य)

नविशमान सिंह प्रधान – मेडिकल

प्रेम बराल – कर्मचारी, टोकियो नेपाली दुतावास

रुपेश डंगोल – स्वयंसेवक, टोकियो स्थित नेपाली स्वंयसेवक

April 11, 2024

धावक गोपीलाई केएल दुगडले १ लाख दिने

काठमाडौं (हाम्रो खेलकुद)– लन्डन म्याराथनमा भाग लिने तयारीमा रहेका धावक गोपीचन्द्र पार्कीलाई केएल दुगडले १ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । गापीको विदाईमा बिहीबार नेपाल ओलम्पिक कमिटी (एनओसी) मा राखिएको विदाईमा केएल दुगडका प्रबन्ध निर्देशक कुमुद दुगडले उनको तयारीका लागि १ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । प्रबन्ध निर्देशक दुगड, एनओसीका जीवनराम श्रेष्ठ, […]

April 10, 2024

पलेशाको तयारीका लागि २ लाख बढी हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)– पेरिस पारालिम्पिक गेम्सको तयारीका लागि पलेशा गोबद्र्धन अर्को साता स्वदेश फर्कने भएकी छिन् । अध्ययनको सिलसिलामा चीनमा रहेकी पलेशा आइतबार स्वदेश आइपुग्ने उनका प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए । सन् २०२४ अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म हुने पारालिम्पिकका लागि पलेशाले छनोट चरण पार गरिसकेकी छिन् । पलेशाको तयारीका लागि नेसनल […]

April 10, 2024

फाल्डो जुनियर टुर – सदभाव, इदान्त र अवानी अगाडि

काठमाडौं (हाम्रो खेलकुद)- फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको पहिलो दिन बुधबार सदभाव आचार्य, ईदान्त सिंह साउद र अवानी राई आ-आफ्नो उमेर समूहको शीर्षस्थानमा रहेन सफल भएका छन्। नेपाल गल्फ संघको आयोजनामा रोयल नेपाल गल्फ क्लबमा सुरु भएको च्याम्पियनसिप अन्तर्गत पुरूष १७ देखि २१ वर्ष उमेर समुहमा राष्ट्रिय टिमका सदस्य सदभाव ५-अन्डर ६३ को उत्कृष्ट स्कोर […]

Success

Thank you for your time.