default_image

5 years ago

June 21, 2019

जसले नेपाली बास्केटबललाई ब्युँत्याए..

सुबास हुमागाईं, काठमाडौं पछिल्लो दुई वर्षमा नेपालको बास्केटबल क्षेत्रले नयाँ आयाम पाएको छ । एक संस्थाको सानो प्रयासले जिउँदो लासजस्तो अवस्थामा पुगेको नेपाली बास्केटबल ब्युँतिएको महसुस गर्न सकिन्छ । प्ले फर डिप्राइभ्ड चिल्ड्रेन (पीडीसीएन) नेपाल नामक सामाजिक संस्थाले आयोजना गरेको नेपाल बास्केटबल लिग (एनबीएल) ले नेपाली बास्केटबलको उत्थान नै गरेको छ भन्दा फरक नपर्ला । एक वर्ष […]

55 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

पछिल्लो दुई वर्षमा नेपालको बास्केटबल क्षेत्रले नयाँ आयाम पाएको छ । एक संस्थाको सानो प्रयासले जिउँदो लासजस्तो अवस्थामा पुगेको नेपाली बास्केटबल ब्युँतिएको महसुस गर्न सकिन्छ । प्ले फर डिप्राइभ्ड चिल्ड्रेन (पीडीसीएन) नेपाल नामक सामाजिक संस्थाले आयोजना गरेको नेपाल बास्केटबल लिग (एनबीएल) ले नेपाली बास्केटबलको उत्थान नै गरेको छ भन्दा फरक नपर्ला ।

एक वर्ष अघिसम्म नेपालको बास्केटबल कलेज र स्कुल स्तरीय प्रतियोगितामा सिमित थियो । राष्ट्रिय खेलाडीले पनि कलेज स्तरका प्रतियोगिता खेलेर चित्त बुझाउने अवस्था थियो । व्यक्तिगत चिनजानमा एक-अर्काको कलेज टोलीबाट खेल्दै खेलाडी धित मारिरहेका थिए । खेलेर पैसा कमाउने त परको कुरा चित्त बुझ्दो रुपमा खेल्न नपाएरै खेलाडी चिन्तित थिए । अझ महिलातर्फ त बिरलै हुने कलेजस्तरीय प्रतियोगितामा पनि राष्ट्रिय खेलाडीले खेल्न नपाउने नियम हुँदा समस्या झनै जटिल थियो ।

एनबीएलको अवधारणालाई मूर्तरुप दिन अग्रपंक्तिमा दुई यस्ता व्यक्ति छन् जसले आफैं विद्यालय स्तरसम्म मात्र खेले । अरुण कार्की र नमितबहादुर थापा आफैंले बास्केटबल खेलेको याद बिरानो भइसक्यो । उमेरले दुवै ३२ वर्ष र दुवै जनाका बाल्यकालका साथी राष्ट्रिय टोलीका कप्तान सदिश प्रधान । सदिश लगायत राष्ट्रिय टोलीबाट खेलेका अधिकांश खेलाडी सानो उमेरदेखि सँगै बास्केटबल खेलेर हुर्केका हुन् । राष्ट्रिय टोलीबाट खेलिरहेका आफ्ना साथीहरुको यस्तो अवस्था देखेर सबैले साथ मिलेर सन् २०१५ मा कागजी रुपमा योजना तयार भयो ।

त्यसो त यसबारे सन् २०१२ देखि नै अरुण, नमित लगायत साथीहरुबीच सल्लाह हुने गर्दथ्यो । तर अरुण आफैं विदेशमा रहने भएकाले यसलाई कार्यान्वयन गर्न निकै समस्या थियो । सन् २०१५ मा झन्डै एक दशक विदेश बसेर अध्ययन र कामको समेत अनुभव बोकेर अरुण नेपाल फर्किए । उनको लक्ष्य एक थियो, नेपाली खेलकुदको उत्थान गर्न निम्नस्तरबाट नै विकासका कार्यक्रम थाल्ने । भन्न जति सहज छ, गर्न उतिनै गाह्रो । अरुणले पीडीसीएन स्थापना गरेर बास्केटबल खेललाई केन्द्रित गर्दै कार्यक्रम अगाडी सारे ।

नमितबहादुर थापा र अरुण कार्की

सुरुवातमा काठमाडौं बाहिर रहेर ओखलढुंगामा केहि कार्यक्रम संचालन गरे । त्यसपछि केहि प्रशिक्षण क्याम लगायत कार्यक्रम पनि भयो । तर शीर्ष श्रेणीका खेलाडी नै खेल्न नपाएको अवस्थामा भविष्यमा आउने खेलाडीलाई खेलमा लाग्न हौसला बढाउन समेत नसक्ने अवस्थाले पिरोल्यो । प्रतियोगिता आयोजना शून्यको अवस्थामा पीडीसीएनले अन्तत: एनबीएल आयोजना गर्ने निर्णय गर्यो । पहिलो संस्करणको सानदार आयोजना भयो । आर्थिक पाटोमा आयोजकले कठिनाइ भोगेपनि प्रतियोगिता योजनाको स्तर र सफलताले यसको दिर्घकालिन भविष्य उज्ज्वल रहेको संकेत दियो ।

पहिलो संस्करणको सफल आयोजनापछि पीडीसीएनले दोस्रो संस्करणमा महिलाको पनि लिग गर्ने जमर्को गर्यो । आयोजना घोषणासँगै विदेशी खेलाडी पनि लिगमा संलग्न हुने भए । यसले लिगलाई अर्को स्तरमा पुर्याउने अपेक्षा थियो, र भयो पनि । महिला र पुरुष दुवै तर्फ केहि टोलीले विदेशी खेलाडीलाई टोलीमा समेटे । विदेशी खेलाडी संलग्न भएका टोलीले त्यसैअनुसार नतिजा पनि ल्याए ।

नेपाली घरेलु बास्केटबल खेल्ने हरेक खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्न पाउनु यसको अर्को राम्रो पक्ष थियो । फिलिपिन्स जस्तो बास्केटबलमा नाम चलेको देशका राष्ट्रिय महिला खेलाडी पनि नेपालमा खेल्न आइपुगे । पुरुषतर्फ ५५ दिन लामो लिग त्यो पनि होम एन्ड अवे पद्दतिमा, नेपाली खेलकुदको लागि नै यो नयाँ प्रयास थियो । महिलातर्फ पनि ४ टोलीको सहभागिता र पुरुषसमान पुरस्कार राशीले हौसला अझै बढेको छ ।

फिलिपिन्स र भुटानका खेलाडीहरु

पीडीसीएनका अध्यक्ष समेत रहेका अरुण यसपटक लिगले निकै उत्साह दिएको बताउँदै भविष्यमा अझै अगाडी बढ्नेमा आशावादी छन् । ‘यसपटक विदेशी खेलाडीको संलग्नताले लिगमा छुट्टै रोमान्च थियो । दक्षिण एसियामा यसले राम्रो प्रभाव पारेको छ । हामीले पूर्वाधारमा जोड दिएर आयोजनालाई यसै किसिमले सुधार गर्दै जाने हो भने एसियामा पनि हामीले राम्रो छाप बसाउने क्षमता राख्छौं,’ उनले भने । अरुणका अनुसार नेपालले एसियामा न्युट्रल भेन्युको रुपमा स्थापित गर्ने क्षमता राख्दछ तर पूर्वाधार विकास नहुँदा खेल नै समस्यामा रहेको छ ।

पीडीसीएनले आयोजना गरेको एनबीएलको पहिलो संस्करणदेखि नै खेलाडीहरुको तथ्यांकमा निकै मिहिनेत गरेको छ । यसबाहेक हरेक खेलको प्रत्यक्ष प्रसारण फेसबुकमार्फत गरिंदै आएको छ । नमितका अनुसार यसले खेलको प्रचारमा सहयोग त पुग्छ नै खेलाडीमा छुट्टै उत्साह र हौसला समेत थपेको छ ।

‘हामीले खेलाडीको तथ्यांक राखेपछि उनीहरुले आफ्नो कमजोर र बलियो पक्ष थाहा पाउँछन् । हरेक खेलपछि खेलाडीहरु आफ्नो प्रदर्शन हेरिरहेका छन् । विपक्षीलाई पनि त्यसै किसिमको सहयोग पुगेको छ । विदेशमा यो सामान्य होला तर हामीले यसमा निकै मिहिनेत गरेका छौं । हामीले केहि युवा खेलाडीलाई स्वयंसेवकका रुपमा राखेका छौं,’ नमितले थपे । प्रत्यक्ष प्रसारणले गर्दा नेपाली बास्केटबल पछ्याउने देश तथा विदेशमा रहेका समर्थकले खेल नियमित हेर्न पाएका छन् ।

सफल आयोजनाका बाबजुद आर्थिक पाटोमा भने लिगलाई चलाउन निकै कठिन अवस्था छ । पहिलो संस्करणको अपार सफलतापछि दोस्रो संस्करणमा अपेक्षा गरेअनुसार प्रायोजक जोड्न नसकेको नमित स्वीकार्छन् । तर उनलाई दोस्रो संस्करणको सफलताले झनै उत्साहित बनाएको छ । खेलको प्रत्यक्ष प्रसारणमा अधिकांश समय आफैं खटिने नमितका अनुसार अर्को सिजनका लागि अहिले नै दुई अमेरिकी खेलाडीले उनलाई सम्पर्क गरेका छन् ।

राष्ट्रिय पुरुष टोलीका कप्तान सदिश र महिला टोलीकी कप्तान सदिना श्रेष्ठले पनि लिग आयोजनासँगै नेपाली बास्केटबल ब्युँतिएको आभास भएको बताउँदै आएका छन् । घरेलु बास्केटबल कलेज र स्कुलमा अड्किएको अवस्थामा व्यावसायिक सम्भावना अगाडी सारेर आएको यस लिगले दीर्घकालीन रुपमा राम्रो प्रभाव पार्ने कप्तान सदिशको बुझाइ छ । यता महिला खेलाडीले खेल्न नै नपाएको बेलामा यस्तो लिग आउनुले प्रतिभा देखाउने स्थान पाएको सदिनाले बताइन् ।

‘ लिग आयोजना गरेपछि देशभित्र मात्र नभएर देशबाहिरबाट पनि उत्तिकै उत्साहजनक सहभागिता पाएका छौं । सामाजिक संजालमा हामीलाई विभिन्न देशबाट खेलाडीले सम्पर्क गर्छन् । हामी आर्थिक रुपमा सबल नभएपनि एक माध्यम भने बन्न सफल भएका छौं । बास्केटबल मन पराउने विदेशी खेलाडी यहाँ नि:शुल्क खेल्न पनि तयार छन् । तर यहाँको पूर्वाधारको अवस्थाले भने हामी हच्किनुपर्ने अवस्था छ,’ उनले थपे । आर्थिक रुपमा पनि अबको केहि वर्षभित्र लिग आफैंले कम्तिमा आयोजना खर्च उठाउन सक्नुपर्ने उनको बुझाइ छ । उनी आगामी वर्ष व्यापारिक घरानाहरुको सहयोगले लिगलाई थप सहयोग पुग्नेमा आशावादी छन् ।

यता अरुण भने अबको ५-१० वर्षमा लिगलाई दक्षिण एसिया मात्र नभएर एसियाकै गन्तव्य बनाउन सकिने संभवाना देख्छन् । एसएलसी दिएपछि बेलायत पुगेर उच्चशिक्षा हासिल गरेका अरुणले त्यहीं रहेर विभिन्न कम्पनिमा काम पनि गरे । पछिल्लो ४ वर्ष नेपालमै रहेका उनले आर्थिक रुपमा लिगलाई सबल बनाउनु अबको मुख्य चुनौतीको रुपमा लिएका छन् । यसबाहेक सम्बन्धित निकायले पूर्वाधार निर्माणका कार्यमा सहयोग गर्ने हो भने एसियाली बास्केटबलका लागि नेपाल गन्तव्य बन्ने उनी बताउँछन् ।

नेपाली बास्केटबलको उत्थानमा महत्त्वपूर्ण भूमिका खेलेको यस प्रतियोगिताको स्तर बढ्दो छ । खेलाडीको सहभागिता र समर्थकको उत्साहले पनि यसलाई पुष्टि गर्छ । आयोजकको अथक मिहिनेतमा अब प्रायोजकको साथ रहने हो भने आयोजकको लक्ष्यअनुसार नै प्रतियोगिताको दयारा बढ्नेछ । पूर्वाधार विकास र आर्थिक रुपमा सबल हुने हो भने लिगले आशा देखाएका युवा खेलाडीले यसै लिग खेलेर जीविकोपार्जन गर्ने सम्मको वातावरण सिर्जना गर्न सम्भव देखिन्छ ।

April 24, 2024

थ्री बाइ बास्केटबल टोली चीन जाने

काठमाडौं (हाम्रो खेलकुद) – बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय टोली बिहीबार चीनको युन नान प्रस्थान गर्ने भएको छ । विजय बुर्जा कप्तान रहेको टोलीको अन्य खेलाडीमा निकेश मगर, मनीष केसी र निश्चल महर्जन रहेका छन् । प्रशिक्षकमा सुशिल गुरुङ छन् । बुधबारदेखि सुरु भइसकेको […]

April 20, 2024

ह्विलचियर स्पोर्टस र सशस्त्रलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम प्रधान सेनापति ह्विलचियर बास्केटल प्रतियोगिताको उपाधि महिलामा ह्विलचियर स्पोर्टस एसोसिएसन र पुरुषमा सशस्त्र प्रहरी बलले जितेको छ । नेपाली सेनाको आयोजना भएको प्रतियोगिताको महिलातर्फको फाइनलमा ह्विचियर स्पोर्टसले स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपाललाई हराउँदै उपाधि जितेको थियो । जावलाखेल ह्विलचियर स्पोर्टस क्लब तेस्रो भयो । श्री सैनिक पुनर्स्थापना केन्द्र, भण्डारखालमा भएको प्रतियोगिताको […]

April 10, 2024

ह्विलचियर बास्केटबल – जावलाखेल र आर्मीलाई उपाधि

काठमाडौ (हाम्रो खेलकुद) – दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि महिलातर्फ जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्लुएससी) र पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससीआईएसए)को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको फाइनलमा जेडब्लुएससीले एससिआईएनएनलाई १८–७ ले हराउँदै महिलातर्फको उपाधि जितेको हो । पुरुषतर्फकाके […]

Success

Thank you for your time.