default_image

2 years ago

January 8, 2022

नेपाली क्रिकेटमा पुबुदुका पाँच मुख्य चुनौती

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पुबुदु दासानायकेको प्रशिक्षकमा नेपालले विश्व क्रिकेटमा सन् २०११ देखि २०१५ सम्म क्रान्तिकारी परिवर्तन गरेको थियो । तिनै पुबुदु ६ वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुन: फर्किएका छन् । २०१४ मा नेपाललाई टि२० विश्वकप खेलाउँदै पुबुदुले सफल प्रशिक्षकको छाप छाडेर गएका थिए ।

पुबुदुबाट नेपालले यसपटक पनि उच्च आशा र अपेक्षा गरेको छ । तर पहिला र अहिलेको अपेक्षामा आकाश पातलको फरक छ । त्यो समय डिभिजनमा अड्किएको नेपाल अहिले ओडिआई स्तरको टोली हो । नेपालको अवको लक्ष्य टि२० र ओडिआई विश्वकप हुँदै टेस्ट खेल्ने सपनामा हिँडेको छ ।

नेपालले पहिलो विदेशी प्रशिक्षकको रुपमा सन् १९९६ मा फारुक जमाललाई पाएको थियो । जमाल, ब्रायन ब्रिगिन, हारुन रशिद हुँदै नेपालले सन् २००१ मा श्रीलंकन प्रशिक्षक रोय डायसलाई पायो । सन् २०१० सम्म नेपाली क्रिकेट हेरेका डायसले नेपाललाई डिभिजन ४ सम्म पुर्याए । डायसले झन्डै एक दशक नेपाली क्रिकेटको हेरदेख गरे । डायस नेपाली क्रिकेटमा सबैभन्दा लामो समय बिताउने प्रशिक्षक हुन् । एक दशकमा नेपाली क्रिकेटको जग राम्रो बनाएर छोडे ।

त्यहि राम्रो जगको कारण सन् २०११ मा पुबुदु दासानायके आएपछि नेपाली क्रिकेटले नयाँ फड्को मार्यो । डिभिजन ४, ३, २ को उपाधि जित्नुका साथै २०१४ मा बंलादेशमा भएको टि२० विश्वकप पहिलो पटक खेल्यो । जुन विश्वकपलाई नेपाली क्रिकेटकै इतिहासकै सर्वाधिक ठूलो सफलता मानिन्छ ।

तर क्यानको बारम्बार आन्तरिक किचलोको कारण पुवुदुले आफ्नो भविष्य नदेखेपछि सन् २०१५ मा अमेरिका लागे । दासानायकेले छोडे पछि २०१९ सम्म प्रशिक्षक जगत टमाटाले सम्हाले । टमाटाको प्रशिक्षकमा नेपालले ऐतिहासिक ओडिआई मान्यता प्राप्त गर्यो । ऐतिहासिक टि२० आई र ओडिआई सिरिज पनि जित्न सफल भयो ।

२०७६ जेठमा नेपालले भारतीय क्रिकेटका उमेश पटवाललाई स्थायी प्रशिक्षकको रुपमा नियुक्त गरेको थियो । तर उनको कार्यकाल नेपालमा धेरै रहेन । माघमा पटवालले आफ्नो पारिश्रमिकमा बढि कर लगाएको भन्दै राजिनामा दिए । पटवालको प्रशिक्षणमा नेपालको नजिता निराशजनक रह्यो । टि२० विश्वकपमा पुग्न असफल हुनुको साथै अन्य खेलमा पनि सन्तोषजनक प्रर्दशन गर्न सकेन । आलोचनामाथि आलोचना खेप्नुपर्यो ।

त्यसयता क्यानले विदेशी प्रशिक्षक नआउँदासम्म क्यानले टमाटालाई जिम्मेवारी दियो । उनको प्रशिक्षकमा नेपाल एसिसी टि२० इस्टर्न रिजनमा खराब प्रदर्शनका साथ बाहिरियो । गतवर्ष माघमा डेभ ह्वाटमोर आए । ह्वाटमोरले कोराना महामारीको कारण दुई मात्र अन्तर्राष्ट्रिय सिरिज हेर्न पाए

ब्याटिङमा ठूलो आशा र अपेक्षा देखाउँदै असोजमा नेपाली क्रिकेट छाडेर गए । त्यसपछि नेपाली क्रिकेट सम्हाल्न पुबुदु आएका छन् । यसअघि नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल प्रशिक्षक मानिने पुबुदुका दोस्रो कार्यकालमा पाँच मुख्य चुनौती यस प्रकार छन् ।

५. अस्थिरता र गैरजिम्मेवारी पनको अन्त्य

पुबुदुले छाडेपछि नेपाली क्रिकेट टोली जगत टमाटा, उमेश पटवाल र देव ह्वाटमोरले सम्हाल्लेका थिए । विशेष गरि टमाटा र पटवालको प्रशिक्षकमा नेपालले टोलीमा अत्याधिक खेलाडी परिवर्तन गर्यो । ओपनर सर्वाधिक परिवर्तन भए । गत वर्ष ह्वाटमोरले कुशल भुर्तेल र आसिफ शेखलाई ओपनरमा प्रयोग गरेपछि सुखद संकेत दिएर छाडे ।

पछिल्लो समय खेलाडीमाथि धैर्यता र विश्वासको कमी देखिन्छ । राष्ट्रिय टोलीको जर्सीमा डेब्यू गराउन निकै हतार गर्दै आएको छ । घरेलु क्रिकेटमा एक वा दुई खेलमा राम्रो गरेको आधारमै पनि सिनियर टोलीमा परेका छन् । उनीहरुबाट प्रदर्शन सिनियर टोलीमा अपेक्षा अनुसार हुन सकेको छैन । त्यसैले ती खेलाडीलाई ड्रप गरेर हरेक भ्रमणमा नयाँ नयाँ खेलाडी परिवर्तन गर्यो । टिममा पार्न जसरी बाहिर राख्न पनि त्यतिनै हतार गर्दै आएको छ ।

लगातार परिवर्तन खेलाडीले टोलीमा कुनैपनि खेलाडीले आफ्नो भूमिका स्पष्ट रुपमा बुझ्न सकेका छैनन् । सिनियर टोलीमा केहि खेलाडीलाई छाड्ने हो भने अधिकांशलाई आफ्नो सटिक जिम्मेवारी थाहा छैन । खेलाडी एक खेलको प्रदर्शनको आधार मानेर टोलीमा राख्ने र बाहिरिने डर हुँदा टिम भन्दा पनि व्यक्तिगत प्रदर्शनमा ध्यान दिन सक्छन् । कुनैपनि खेलाडीले एकै खेलमा राम्रो प्रदर्शन गर्छ भन्ने हुँदैन । खेलाडीमाथि धैर्यता राख्न सक्नुपर्छ । पुबुदुलाई अव खेलाडीमाथि धैर्यता राख्नुपर्ने हुन्छ ।

अर्कोतर्फ नेपालले सिंगापुर, कतार, मलेसिया जस्ता देशसँग हार्नुको मुख्य कारण खेलाडीहरुको गैरजिम्मेवारी पन हो । गैरजिम्मेवारी सट छनोटले नेपालले जित्न सक्ने खेल पनि हार्दै आएको छ । यो अवस्थामा पुबुदुलाई खेलाडीलाई जिम्मेवारी बनाउन अबको चुनौती हुनेछ ।

४.ओडिआई मान्यतालाई निरन्तरता

एकदिवसिय शैलीमा नेपालको एक मात्र प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिता हुँदैछ । यहिँ एउटा प्रतियोगिताको भरमा ओडिआई मान्यतालाई जोगाई राख्नुपर्ने हुन्छ । तर त्यहिँ एउटा राष्ट्रिय प्रतियोगिता बल्लतल्ल दुई हप्ता चल्ने गर्दछ । एउटा राष्ट्रिय प्रतियोगितामा खेलाडीले चार खेल मात्र खेल्न पाउनछन् ।

जुन प्रतिभा पहिचानको लागि पर्याप्त हुँदैन । एउटा खेल नराम्रो गरेको खण्डमा करिअर नै धरापमा पर्नसक्छ । त्यसैपनि नेपाली क्रिकेटमा जिल्लादेखि प्रदेश छनोटसम्म राजनीतिक प्रभाववाट अछुतो छैन । क्षमता भएको पहिचान होईन प्रतियोगितामै उत्कृष्ट प्रदर्शन गरेका खेलाडी टोलीमा नपर्ने अवस्था पनि छ । सिनियर टोली मजबुत पार्न ग्रास रुट देखिनै ठूलो परिवर्तन ल्याउन आवश्यक छ ।

अहिले यू१६ र यू१९ मा हुँदै आएको छ । त्यो पनि वर्षमा एउटा प्रतियोगिता गर्न क्यानलाई मुश्किल पर्छ । नेपाल ए र बी टिम निर्माण गर्नु पर्ने चुनौती छ । नेशनल क्रिकेट एकेडेमी हुँदा प्रतिभा हुर्काउन पर्ने अर्को चुनौती छ । यू२३ हुँदै ए टिम निर्माण गर्न सके फरक आउन सक्छ । एउटा नभएर क्यानले कम्तिमा ५० ओभरका तीन वटा जति राष्ट्रिय स्तरका प्रतियोगिता गर्न सक्नुपर्छ ।

सिमित नभएर डे क्रिकेट गर्न सके खेलाडीमा सुधार आउन सक्छ । तर एउटा प्रतियोगिता र आइसिसीको तालिका अनुसारको प्रतियोगिताले मात्र ओडिआई मान्यता निरन्तरता दिन पुबुदुलाई सहज हुने छैन । किनभने क्यानडा, सिंगापुर, मलेसिया, हङकङ, कतार जस्ता एसोसियट देशले उच्च लगानीमा साथ ओडिआई मान्यता अवसरको पर्खाईमा छन् ।

३.थोरै लगानी र कमजोर संरचनाबाट उच्च नतिजा

नेपाली क्रिकेटमा निकै थोरै लगानी र सिमित संरचनाहरु छन् । त्यसबाट विश्व क्रिकेटमा उच्च नतिजा निकाल्नु पर्ने हुन्छ । एउटा राष्ट्रिय प्रतियोगिता भरमा वर्ष धान्नुपर्छ । टि२० प्रतियोगिताबाट ओडिआई र ओडिआईबाट टि२० आई खेलाडी छान्नुपर्ने बाध्यता छ ।

अर्कोतर्फ टियु मैदानलाई छाड्ने हो भने अन्य मैदान राष्ट्रिय प्रतियोगिताको लागि नै योग्य छैनन् । विश्व क्रिकेटमा नेपालको कमजोर ब्याटिङ हुनुमा तयारी नै मुख्य कारण हो । सुरुवात देखि युवा खेलाडीहरु स्तरिय पिच र मैदान नहुँदा ब्याटिङमा कमजोर भएको महसुस गर्दछन् ।

कम्तिमा सबै प्रदेशमा स्तरिय पिच मात्र हुने हो भने पनि नेपाली क्रिकेटमा धेरै परिवर्तन आउछ । अन्य कुरा छाडौं । राष्ट्रिय प्रतियोगिता भईराख्ने मुलपानी मैदान नै योग्य छैन । नेपाल, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका र युएई एसोासियटका शीर्ष टोली हुन् । लगानी र संरचनाको हिसाबमा नेपालको ती देशसँग धेरै अन्तरको फरक छ । नेपालमा प्रतिभा कुनै कमी छैन । ती प्रतिभालाई राम्रोसँग सदुपयोग गर्न सकेमात्र नेपाल अर्को स्तरमा पुग्नेछ ।

नेपालको संरचना, विकास र लगानी मलेसिया र कतार भन्दापनि कमजोर छ । नतिजा नआउँदा लगानी हेरिदैन । त्यसै पनि नेपालमा सधैं उच्च अपेक्षा राखिन्छ । थोरै लगानीमा उच्च नतिजा निकाल्न सहज हुने छैन । किनभने यो स्तरमा सामान्य प्रतिस्पर्धा हुँदैन । सवै शीर्ष एसोसियट टोलीलाई उत्कृष्ट प्रदर्शनका साथ टेस्टको सपना बाटो खुल्नु छ ।

टेस्ट सपना देखेको नेपालको अहिले सम्म एउटा डे क्रिकेट प्रतियोगिता छैन । यहाँबाट नेपाली क्रिकेटमा लगानी स्पष्ट हुन्छ । नतिजा खराब आएको खण्डमा आलोचना कप्तान र प्रशिक्षककै हुने गर्दछ । कमजोर संरचना र लगानीले गर्दा पुबुदलाई सहज हुने छैन ।

२. टि२० विश्वकप

नेपालको मुख्य लक्ष्य अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप २०२२ खेल्नु हो । नेपालले एक महिनापछि ओमानमा आइसिसी टि२० ग्लोबल विश्वकप छनोट ए खेल्नेछ । नेपाल शीर्ष दुईमा रहन सकेमात्र विश्वकपमा स्थान बनाउने छ । नेपालले त्यसको लागि आयरल्यान्ड, ओमान र युएई मध्य दुई टोलीलाई पछि पार्नुपर्ने हुन्छ । तर नेपालको तयारी र लगानी निकै कमजोर छ । विश्वकप छनोट खेल्न डेढ महिना मात्र बाँकी रहँदा नेपालले बन्द प्रशिक्षण थालेको छ ।

टि२० आई राष्ट्रिय प्रतियोगिता पनि समूहमा खेलाएर चार खेलबाट खेलाडी छनोट गर्दैछ । चार खेलले मात्र खेलाडी पहिचान हुने छैन । डेढ महिना अवधिमा नेपालले टिम छनोट देखि खेलाडीको भूमिका सम्म निर्धारण गर्नुपर्ने हुन्छ । तयारी हेर्दा विश्वकप यात्रा सहज छैन । प्रतिस्पर्धी टोली उच्च स्तरिय हुँदा नेपाललाई सहज हुने छैन ।

१. टिममा एकता

टोलीमा एकता कायम राख्नु नै पुबुदुको मुख्य चुनौती हो । गुटले नेपाली क्रिकेट भित्रभित्र सम्बन्ध निकै बिग्रिएको छ । पछिल्लो समय खेलाडी विवादले गुट कुन स्तरसम्म छ प्रष्ट हुन्छ । प्रमुख सिनियर खेलाडीबीच नै एकता छैन । एकता विना क्रिकेटमा राम्रो नतिजा सम्भव हुँदैन । विश्वका व्यक्तिगत प्रर्दशन क्षणिक हुन्छ । एकता नहुँदा एकले अर्कालाई साथ नदिन सक्छन् ।

नेपालले प्रशिक्षकमा पुबुदुलाई ल्याउनुको मुख्य कारण पनि गुटअन्त्य गर्दै टिममा एकता ल्याउनु हो । पुबुदुलाई नेपाली क्रिकेटबारे राम्रोसँग थाहा छ । क्यान पुबुदु भन्दा उच्च स्तरिय प्रशिक्षक ल्याउन खोजेपनि अहिलेको अवस्थामा अन्यले सम्हाल्न नसक्ने भन्दै उनलाई ल्याएको हो ।

पुबुदु एक सफल प्रशिक्षक हुन् । पुबुदु आफैंलाई यो पटक सहज छैन । किनभने त्यो समय टिममा एकता थियो । अहिले छैन । उनको मुख्य चुनौती गुट अन्त्य हो । पुबुदुले खेलाडी विवाद अन्त्य गर्न खेलेको भूमिका हेर्दा यो पक्षमा सफल हुने संकेत दिएका छन् ।

यो पनि पढ्नुहोस् :

नेपाली क्रिकेटमा हराएको ‘रातो बल र सेतो जर्सी’

यस्तो चाहेको छ नेपाली क्रिकेटले प्रशिक्षक

May 19, 2024

एनसीसीएस भ्याली कप क्रिकेट यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर जिल्ला क्रिकेट संघले एनसीसी आमन्त्रित उपत्यकाव्यापी टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । महिला र पुरुषको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । शैक्षिक संस्था एनसीसीएस समूहसँग मिलेर भक्तपुरले जेठ १२ देखि १९ गते सम्म आयोजना गर्ने प्रतियोगितामा पुरुषतर्फ ६ एकेडेमी र महिलातर्फ ३ जिल्लाले सहभागिता रहने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी […]

May 19, 2024

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

एजेन्सी – लिग चरणको आफ्नो अन्तिम खेलमा जित दर्ता गर्दै सनराईजर्स हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) को तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पञ्जाब विरुद्ध ४ विकेटको जित दर्ता गर्दै हैदराबाद दोस्रो स्थानमा उक्लिएको हो । पञ्जाबले दिएको २१५ रनको विशाल लक्ष्य हैदराबादले ५ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । हैदराबादका लागि अभिषेक […]

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

Success

Thank you for your time.