default_image

4 years ago

February 13, 2022

सन्दीप आइपिएलमा नबिक्नुको प्रमुख पाँच कारण

309 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा बिकेनन् । थपिएका दुई टोली र मेगा अक्सनमा पूरा नयाँ टिम निर्माण गर्नुपर्ने हुँदा उनी बिक्न सक्ने सम्भावना देखिएको थियो । तर दुई दिनसम्म भारतको बेंगलोरमा चलेको अक्सनमा सन्दीपमाथि कुनैपनि फ्रेन्चाइज टोलीले न्यूनतम मूल्य ४० लाख भारुको बोली लगाएनन् ।

सन् २०१८ देखि २०२० सम्म दिल्ली क्यापिटल्समा रहँदै ९ खेलमा १३ विकेट लिएका सन्दीप पछिल्ला दुवै सिजनमा अनसोल्ड भएका हुन् । अक्सनमा भारतीय, तीव्र गति र बलिङ अलराउन्डरलाई फ्रेन्चाइज टोलीले बढी प्राथमिकतामा राखेपछि सन्दीप सहित थुप्रै नाम चलेका स्टार स्पिनर र विदेशी खेलाडी बिक्न सकेनन् । अक्सनमा सन्दीप सहित स्टिभ स्मिथ, सुरेश रैना, सकिब अल हसन, एडम जाम्पा र मुजिब उर रहमान लगायतका थुप्रै खेलाडी बिक्न सकेनन् ।

मेगा अक्सन २०२२ मा सर्वाधिक महँगो खेलाडी भारतीय विकेटकिपर ईशान किशन बने । उनलाई मुम्बईले १५ करोड २५ लाख भारु खर्चेको थियो । अक्सनमा आइपिएल इतिहासमा विकेटकिपरलाई खर्चिएको सर्वाधिक रकम हो । अक्सनमा ३ सय ७७ भारतीय र २ सय २३ विदेशी खेलाडी गरि कुल ६ सय जना सहभागी थिए । नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई कुनैपनि टोलीले नकिन्नुको पाँच कारण यस प्रकार छन् ।

५. भारतीय युवा खेलाडीलाई बढी प्राथमिकता

यस पटकको मेगा अक्सनमा फ्रेन्चाइज टोलीले भारतीय युवा खेलाडीलाई बढी प्राथमिकतामा राखेर खेलाडी अनुबन्ध गरेका छन् । त्यसैकोकारण थुप्रै नाम चलेका विदेशी खेलाडीहरु पनि यस पटक विक्न सकेनन् । सबै फ्रेन्चाइज टोलीले भारतीय युवा खेलाडीलाई महँगो मूल्य हालेका छन् ।

मेगा अक्सन भएकाले सबै टोलीले नयाँ टोली निर्माण गर्न पाउँथे । अहिले युवा खेलाडीमा लगानी गर्दा अर्को वर्षबाट टोली निर्माणमा सहज हुने कारण धेरैले ब्याकअप खेलाडीमा खर्च गरेका छैनन् । ईशान किशन, यू१९ विश्वकप विजेता यश धुल देखि राज बावा सम्मका युवा स्टारमाथि खुलेर खर्च गरेका छन् ।

४. पछिल्लो संस्करणको आइपिएल नखेल्नु

आइपिएल अक्सनमा पछिल्लो समयको प्रदर्शन निकै महत्वपूर्ण हुन्छ । आइपिएल नखेलेको खेलाडीहरुको हकमा राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय प्रदर्शन हेर्ने गरिन्छ । नेपालले पछिल्लो वर्ष बलिया टोलीसँग कुनैपनि खेल खेलेको छैन । मलेसिया र नेदरल्यान्डसँग गत वैशाखमा खेलेपनि ती देशसँगको प्रदर्शनले कुनै अर्थ हुँदैन । त्यो पनि झण्डै एक वर्षअघि थियो । अक्सनको मुखैमा उच्च प्रदर्शन गर्ने बढी खेलाडी प्रथमिकतामा पर्दछन् । यसपटक वेस्ट इन्डिजले भारतसँग खेलेको सिरिजलाई पनि उदाहरणको रुपमा लिन सकिन्छ । उक्त सिरिजमा उच्च प्रदर्शन गरेका खेलाडीले राम्रो रकम पाएका छन् ।

सन्दीप गत वर्ष आइपिएलमा बिकेनन् । पछिल्लो संस्करण खेल्दै राम्रो छाप छोड्न सकेको भए फ्रेन्चाइज टोलीले रुचि देखाउन सक्थे । अर्कोतर्फ यसपटक सन्दीपले यस वर्ष बिग ब्यास लिग बाहेक अन्य लिग खेल्न पाएनन् । बिग ब्यासमा अन्तर्राष्ट्रिय चर्चा पाउन सक्ने कुनै प्रदर्शन भएन । त्यसैले उनी प्रति कुनैपनि फ्रेन्चाइजको रुचि देखाएनन् । गतवर्ष आइपिएलमा उच्च प्रदर्शन गरेका हर्षल पटेल, आवेश खान, दीपक चाहर, चेतन सकारिया, राहुल टेवाटिया लगायतका खेलाडीमाथि महँगो मूल्यमा विकेका थिए ।

३. फ्रेन्चाइज लिगमा म्याच विनर बलर बन्न नसक्नु

आइपिएलमा पर्न सन्दीपले अन्य विदेशी लिगमा सानदार प्रदर्शन गर्नुपर्ने हुन्थ्यो । सन्दीपले पछिल्लो एक वर्षमा एक महिना अघि बिग ब्यास लिग खेले । आइपिएल अक्सनको मुखमै बिग ब्यासमा प्रदर्शन औसत रह्यो । सन्दीप बिग ब्यासका १४ मध्य ६ खेलमा विकेट विहीन थिए । अन्य फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रदर्शनका साथ आइपिएल टोलीको मन आर्कषित गर्न सक्नुपर्ने थियो । तर अक्सनको मुखमै खराब प्रदर्शन गरे ।

अर्कोतर्फ फ्रेन्चाइज टोलीले ८ मात्र विदेशी खेलाडी राख्न पाउँछन् । सबैले म्याच विनर विदेशी खेलाडीले चाहन्छन् । सन्दीपले २०१८ देखि लगातार विदेशी फ्रेन्चाइज लिग खेलेपनि प्रदर्शन औसत मात्र छ । म्याच विनर खेलाडीलाई करोडको वर्षा गराउँछन् । सन्दीपले खेलेका विदेशी फ्रेन्चाइज लिगमा एक दुई खेलमा मात्र प्लेयर अफ द म्याच चुनिएका छन् ।

सबै फ्रेन्चाइजमा म्याच विनर विदेशी खेलाडी छन् । सन्दीपलाई लिँदा एक राम्रो विदेशी खेलाडीको कोटा गुमाउनु पर्ने हुन्छ । सन्दीप प्लेईङ ११ मा निरन्तर खेल्ने सम्भावना पनि निकै कम हुन्छ । विदेशी कोटामा सबै फ्रेन्चाइज लिगमा नाम चलेका विश्व स्टारलाई अनुबन्ध गरेका छन् । अन्य फ्रेन्चाइज लिगमा म्याच विनिङ प्रदर्शन गर्न नसक्नुनै सन्दीप नबिक्नुको एक कारण हो ।

२. लेगस्पिनर आवश्यक नपर्नु

आइपिएलको सुरुवाती खेलहरु मुम्बई र प्लेअफका अहमदाबादमा हुने सम्भावना उच्च छ । मुम्बईको पिच स्पिनर सहयोगी मानिदैन । मुम्बईको ‘फ्ल्याट’ पिचमा तीव्र गतिका बलरले मात्र रनको गति रोक्न सक्छन् । अक्सनमा फ्रेन्चाइज टोलीले सन्दीप मात्र होईन नाम चलेका थुप्रै लेग स्पिनरलाई महत्त्व दिएनन् । सबै फ्रेन्चाइज टोलीले तीव्र गतिका बलिङ अलराउन्डमा बढी केन्द्रित थिए ।

महँगा विकेका सबै तीव्र गतिका बलिङ अलराउन्डर छन् । सबै फ्रेन्चाइजलाई तीव्र गतिका बलिङ अलराउन्डर आवश्यक थियो । मुजिब उर रहमान, इमरान ताहिर, तबरेज शाम्सी, आदिल राशिद र एडम जाम्पा जस्ता स्पिनर नबिकेपछि सन्दीपको सम्भावना कमजोर बनेको थियो ।

१. अलराउन्डरको उच्च आवश्यकता

आइपिएल अक्सनमा महँगो मूल्यमा लगभग सबै विदेशी र भारतीयमा अलराउन्डर छन् । आधुनिक टि२० क्रिकेटमा एक मात्र नभएर तीनै भूमिका उतिकै उत्कृष्ट रुपमा निभाउन सक्ने खेलाडी खोज्ने गर्दछन् । स्पिनरमात्र खेलाउँदा अर्को ब्याटर खेलाउनु पर्छ । एक खेलाडीको कारण दुई आवश्यकता पर्छ । तर स्पिन अलराउन्डर खेलाउँदा अर्को अवसर हुन्छ ।

दीपक चाहरलाई चेन्नईले १४ करोडमा किन्यो । किनभने उनले तीव्र गति र तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । पन्जाब किंग्सले इंग्ल्यान्डका विष्फोटक ब्याटर लियाम लिभिङस्टोनलाई ११ करोड ७५ लाख भारुमा किन्यो । लिभिङस्टोन हार्ट हिटर सँगै लेगस्पिन र अफ अस्पिन बलिङ गर्ने गर्दछन् । बेंगलोरले वानिन्दु हसरंगालाई १० करोड ७५ लाखमा किन्यो । उनी पनि लेगस्पिनसँगै राम्रो ब्याटिङको क्षमत राख्छन् ।

महँगो मूल्यमा विकेका प्राय सबै अलराउन्डर छन् । तीन पटकका ओरेन्ज क्याप विजेता डेविड वार्नर ६ करोड २५ लाखले मात्र बिक्नुले आधुनिक क्रिकेटमा अलराउन्डरको महत्त्व स्पष्ट गराउँछ ।

सन्दीप स्पिनको लागि मात्र चिनिन्छन् । ब्याटिङ र फिल्डिङमा तुलनात्मक रुपमा विदेशी स्तरभन्दा कमजोर छन् । अष्ट्रेलिया एडम जाम्पा, दक्षिण अफ्रिका तबरेज शाम्सी, अफगानिस्तानका मुजिब उर रहमान, कैस अहमद, इंग्ल्यान्डका आदिल राशिद यी सबै स्पिनर नबिक्नुको प्रमुख कारण कमजोर ब्याटिङ हो ।

यो पनि : एकै रातमा ३१ करोडको मालिक बने चाहर दाजुभाइ

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.