default_image

3 years ago

September 12, 2022

मधेशलाई हराउँदै आर्मीको पहिलो जित

214 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा मधेश प्रदेशमाथि ६ विकेटको जित हात पारेको छ । यसअघि वर्षाको कारण आर्मीले दुई खेलमा अंक बाँडेको थियो ।

जितको लागि १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले १८.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका कप्तान विनोद भण्डारी ३३ बलमा ४ चौकासहित ३४ रनमा अविजित रहँदै जित दिलाए । राजेश पुलामी ११ बलमा १ चौका र १ छक्कासहित १६ रनमा अविजित रहे ।

आर्मीले पहिलो १० ओभरमा ३ विकेट गुमाउँदै ३९ रन जोडेपछि दवावमा परेको थियो । तीव्र गतिका बलर आदिल अन्सारीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर हरि चौहानलाई ४ रनमा बोल्ड आउट गरे । हरि शंकर शाहले भीम सार्कीलाई छैटौं ओभरको पाँचौं बलमा ४ रनमै बोल्ड गरे ।

तीव्र गतिका बलर रुपेशसिंहको नवौं ओभरको चौथो बलमा ठूलो सट खेलेका अर्जुन साउद लङअनमा १७ रनमा क्याच आउट भए । उनले २२ बलमा १ चौका हाने । रोहित पौडेल २५ बलमा ३ चौकासहित २५ रनमा रन आउट भए । त्यो समय आर्मी १३.१ ओभरमा ६९–४ को अवस्थामा पुगेको थियो । त्यसपछि विनोद भण्डारी र राजेश पुलामीले पाँचौं विकेटका लागि ३७ रनको अविजित साझेदारी गर्दै जित दिलाए ।

मधेश प्रदेशका रुपेश सिंहले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर १ विकेट लिए । हरि शंकर शाहले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । आदिल अन्सारीले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निम्तो पाएको मधेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४ रन बनाएको थियो । औसत सुरुवात गरेको मधेशले पाँचौ ओभरमा २६ रन जोड्दा पहिलो विकेट गुमाएको थियो । १७ बलमा ३ चौकाको सहयोगमा २१ रन जोड्दै सन्तोष कार्की आउट हुन पुगे । सुशन भारीको बलमा मिड अनको माथिबाट सट प्रहार गर्न खोजेको उनलाई साहब आलमले उत्कृष्ट क्याच गर्दै पेभेलियन फर्काएका थिए ।

त्यसपछि लगातार विकेट खस्दा कुनै समय मधेशको इनिङ सम्हलिएन । पहिलो विकेट गुमेको दुई बल पछि नै अर्का ओपनर हरिशंकर शाह १३ बलमा ३ रन जोड्दै रनआउट भए । सातौं ओभरमा अरनिको यादव २ रन जोड्दै सुशनकै बलमा मिड अनमा क्याच आउट भए ।

विशाल सुस्लिङ र कप्तान हसिम अन्सारीले इनिङ सम्हाल्ने प्रयास गरेपनि रन लिने क्रममा समन्वय नहुँदा विशाल रनआउटको शिकार बने । दोस्रो रन कुद्ने प्रयासमा विशाल १० रनमै पेभेलियन फर्किए । १४ औं ओभरमा मोहमद आदील आलम आउट भए । सोमपाल कामीलाई चौका प्रहार गरेपछि अर्को बलमा लामो सट प्रहार गर्ने धुनमा उनी डिप मिडविकेटमा समातिए ।

कप्तान हसिम अन्सारी ३४ बलमा २० रन जोड्दै हरि चौहानको बलमा आउट भए । डिप कभरमा कुशल मल्लले बाउन्ड्रीमा उत्कृष्ट क्याच गरेका थिए । उनले बाउन्ड्रीको ठिक अघि उफ्रेर समाएको बलमा शरीर नियन्त्रण गर्न नसक्दा पुन बललाई हावामा फाले । त्यसपछि आफू बाउन्ड्रीबाहिर पुगेर पुनस् भित्र पस्दै बल समाएका थिए ।

नसरुद्दीन अन्सारी १६ बलमा १२ रन जोड्दै सोमपालको बलमा मिड अफमा समातिए । रोहन विक १४ बलमा २ चौकासहित १७ रनमा नट आउट रहे । रुपेश सिंहले आफूले सामना गरेको एकमात्र तथा इनिङको अन्तिम बलमा छक्का प्रहार गरे ।

आर्मीका लागि सुशन भारी र सोमपाल कामीले २-२ तथा हरि चौहानले १ विकेट लिए । मधेशले २ विकेट रनआउटमा गुमाएको थियो । स्पिनरमा सुशनले ४ ओभरमा ११ रन तथा साहब आलमले ४ ओभरमा मात्र १५ रन खर्चेका थिए ।

आर्मीले यसअघि वर्षाको कारण कर्णाली र गण्डकी प्रदेशसँग अंक बाँडेको थियो । मधेश प्रदेशले गण्डकी, नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशसँग वर्षाको कारण अंक बाँडेको थियो । आर्मी र मधेशले खेलेको भने यो पहिलो खेल हो ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.