3 years ago
September 20, 2022
भारत विश्व क्रिकेटको पावरहाउस टोली मानिन्छ । अन्तर्राष्ट्रिय स्तरमा भारतले तीनै शैलीमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । तर भारत पछिल्लो एक दशकयता टोली आइसिसी उपाधि विहीन छ । पछिल्लो पटक आइसिसी उपाधिको रुपमा भारतले महेन्द्रसिंह धोनीको कप्तानीमा सन् २०१३ मा च्याम्पियन्स ट्रफी जितेको थियो ।

भारतले विश्वकपको रुपमा पछिल्लो पटक सन् २०११ मा एकदिवसिय विश्वकप जितेको थियो । टि२० क्रिकेटमा पहिलो संस्करणको २००७ विश्वकप उपाधि जितेको भारतले त्यसपछि सफलता हात पार्न सकेको छैन । विश्वको सर्वाधिक लोकप्रिय टि२० फ्रेन्चाइज क्रिकेट इन्डियन प्रिमियर लिग (आइपिएल) भारतमा भएपनि विश्वकप जित्न नसक्दा दबाब बढ्दै गएको छ ।
भारतले सन् २०१४ को टि२० विश्वकप, २०१७ को च्याम्पियन्स ट्रफी र २०२१ को आइसिसी विश्वकप टेस्ट च्याम्पियनसिप फाइनल खेलेपनि उपाधि जित्न सकेन । २०१५ को एकदिवसिय, २०१६ को टि२० विश्वकप र २०१९ को एकदिवसिय विश्वकपमा सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो ।
गत वर्ष यूएईमा भएको टि२० विश्वकपमा भारतको प्रदर्शन सम्झन लायक रहेन । पाकिस्तानसँग कुनैपनि विश्वकप इतिहासकै पहिलो हार बेहोर्न पुग्यो । पाकिस्तानसँग १० विकेट र न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएपछि भारत सुपर १२ बाटै बाहिरिनु परेको थियो । त्यसपछि भारतको कप्तानी रोहित शर्माले गर्दै आएका छन् । आइपिएलमा सर्वाधिक पाँच पटक उपाधि जिताउने रोहितलाई विश्वकपको दबाब छ । भारतलाई विश्वकप उपाधि अव अनिवार्य जस्तै बनेको छ ।
तर यसै साता भारत टि२० एसिया कपमा सुपर फोरमा पाकिस्तान र श्रीलंकासँग पराजित हुँदै बाहिरियो । विश्वको शक्तिशाली देश भारतीय क्रिकेट टोलीमा थुप्रै समस्या र कमजोरीहरु छन् । जसको कारण भारतले ठूला उपाधि जित्न सकेको छैन । यी पाँच कमजोरी भारतले २०२२ को टि२० विश्वकप जित्न कठिन हुनसक्छ ।
५. ब्याटिङमा गहिराइ नहुनु

भारतको प्लेइङ–११ मा प्रमुख तीन तीव्र गतिका बलर खेल्ने निश्चित जस्तैछ । जस्प्रित बुमराह र हर्षल पटेलको स्थान पक्कापक्की जस्तै हुँदा थप एक बलरले मौका पाउनेछन् । भुनवेश्वर कुमार र अर्शदीप सिंहमध्य एकले मौका पाउनेछन् । डेथ ओभरमा बुमराह र हर्षल हुँदा भुवनेश्वर कुमारको सम्भावना उच्च छ ।
भुवनेश्वर कुमारले नयाँ बलका साथ पावर प्लेमा राम्रो बलिङ गर्ने गर्दछन् । स्पिनर युजभेन्द्र चहल र रविचन्द्रन आश्विन भारतको प्लेइङ–११ मा पर्ने देखिन्छ । आश्विनलाई छाड्दा अन्य चार बलर ब्याटिङका लागि चिनिदैनन् ।
आश्विनको पनि टि२० मा प्रदर्शन राम्रो छैन । त्यसैले भारत ६ ब्याटरका साथ मैदान उर्तनु पर्ने हुन्छ । तर सधैं शीर्ष र मध्यक्रमका ब्याटर चल्छन् भन्ने हुँदैन । कहिलेकाहिँ छिट्टै चार पाँच विकेट गुम्दा भारत ठूलै समस्यामा पर्नसक्छ । जुन समस्या विश्वकपमा पुन: घातक बन्न सक्छ ।
भारत अन्य टोली जस्तो बलरबाट ब्याटिङमा भने आशा गर्न सक्दैन । हार्दिक पान्ड्यालाई छाड्ने हो भने बलरलाई बलरको रुपमा मात्र खेलाउनु पर्ने हुन्छ ।
४. शीर्षक्रममा निर्भर

भारतको टोली विश्व स्टारले भरिएको छ । तर खेलमा भने शीर्षक्रममा निर्भर रहँदै आएको छ । भारतको ओपनिङ रोहित शर्मा र लोकेश राहुलले गर्नेछन् । त्यसपछि विराट कोहली, सूर्यकुमार यादव, हार्दिक पान्ड्या, ऋषभ पन्त र दीनेश कार्तिक छन् । कार्तिक र पन्त मध्य एक प्लेइङ–११ मा खेल्ने देखिन्छ ।
रोहित, राहुल र कोहलीमा भारत बढी निर्भर रहँदै आएको छ । पछिल्लो समय सूर्यकुमार यादवले पनि आशा जगाएका छन् । तर एसिया कपमा सूर्यको प्रदर्शन राम्रो हुन सकेन । भारत श्रीलंकासँग ६ विकेटले पराजित भयो ।
ओपनर रोहित शर्माले ४१ बलमा ७२ रन बनाएपनि अन्यको प्रदर्शन राम्रो हुन सकेन । रोहित आउट हुँदा भारत २ सयमाथिको योगफल बनाउने बलियो अवस्थामा रहेपनि ८ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो । उक्त लक्ष्य श्रीलंकाले एक बल अगाडि पूरा गरेको थियो ।

विराट कोहली डक, सूर्य २९ मा ३४, हार्दि र पन्त १७–१७ रनमा आउट भएका थिए । पाकिस्तानसँग पनि भारतले सानदार सुरुवात गर्न पावर प्लेमा ६२ रन बनाएको थियो । जुन सुरुवात अनुसार २ सय रन सजिलै बनाउन सक्थ्यो । तर १ सय ८१ रनमै रोकियो ।
उक्त खेलमा भारतका शीर्ष तीन ब्याटर विराट कोहली ६०, रोहित शर्मा र लोकेश राहुल २८–२८ रनमा आउट भएका थिए । अफगानिस्तानविरुद्ध भारतले २ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो । जसमा ओपनर कोहलीले १ सय २२ र कप्तान लोकेश राहुलले ६२ रन बनाएका थिए ।
यी समस्या हालचालका राम्रा उदाहारण मात्रै हुन् । २०१७ देखि भारतको नतिजा शीर्षक्रमका ब्याटरमा निर्भर हुँदै आएको छ । तर सधैं शीर्षक्रमका ब्याटर चल्छन् भन्ने हुँदैन । खराब कन्डिसन वा दबाबको खेलमा सुरुवातमै दुई तीन विकेट गुम्दा भारत समस्यामा पर्ने देखिन्छ । २०१९ को विश्वकपमा न्युजिल्यान्ड र २०२१ मा पाकिस्तानसँग हार्नुको मुख्य कारण यो पनि हो ।
३. खेलाडी प्रयोगमा अस्थीरता

भारतले लगातार खेलाडी प्रयोग गर्दै आएको छ । यस वर्षमात्र भारतले टि२० आईमा २७ खेलाडी प्रयोग गरेर हेरेको छ । कुलदीप यादव, रवि विश्रोई, आवेश खान, वेंकटेश ऐर, ऋतुराज गायकवाड, सञ्जु स्यामसन, ईशान किशन, श्रेयस ऐर, उमरान मलिक, शार्दुल ठाकुर, मोहम्मद शिराज लगायतका खेलाडी प्रयोग गरेको थियो ।
भारतले विश्वकपलाई लक्षित गरि निश्चित खेलाडीलाई तयार पारेको छैन । त्यसले अस्थिरता बनाएको छ । लगातार खेलाडी परिवर्तनले रणनीति र प्रदर्शन दुवैमा असर पार्छ । अन्य उपाधि दाबेदार इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका र न्युजिल्यान्डले भने एकै खेलाडीलाई निरन्तर अन्तराष्ट्रिय खेल खेलाएका छन् ।

जसले खेलाडीको प्रदर्शनमा अझ निखारता ल्याउँछ । लगातार खेलाडी परिवर्तन त्यो टिमले गर्छ जसले आफ्नो समस्या समाधान गर्न विकल्प खोजेको हुन्छ । खेलाडी प्रयोगमा अस्थिर हुँदा भारतलाई विश्वकपमा कठिन पर्नसक्छ ।
२. ठूला प्रतियोगिता र दबाबमा खेल्न नसक्नु

भारत ठूला प्रतियोगिताको जित्नै पर्ने खेलमा असफल हुँदै आएको छ । एसिया कपमा भारत पाकिस्तानसँग पराजित भएपछि श्रीलंकालाई हराउनै पर्ने थियो । तर श्रीलंकासँग ६ विकेटले पराजित हुँदै बाहिरियो । २०२१ को टेस्ट च्याम्पियन्ससिप ट्रफीको फाइनलमा न्युजिल्यान्डसँग पराजित भयो ।
२०१९ को विश्वकपको सेमिफाइनल, २०२१ को टि२० विश्वकपमा न्युजिल्यान्ड र पाकिस्तानसँगको हार राम्रो उदाहरण हुन् । दबाबमा खेलमा भारतका प्रमुख ब्याटरको प्रदर्शन राम्रो छैन । २०१७ को च्याम्पियन्स ट्रफीमा रोहित शर्मा शून्य, विराट कोहली ५, शिखर धवन २१, युभराजसिंह २२ र धोनी ५ रनमा आउट भएका थिए ।

२०१९ को सेमिफाइनलमा न्युजिल्यान्डले दिएको २ सय ४० रनको विजयी लक्ष्य पछ्उयादा कोहली, रोहित र राहुल १–१ रनमा आउट भएका थिए । २०२१ मा पाकिस्तानविरुद्ध राहुल ३, रोहित डक र सूर्यकुमार यादव ११ रनमा आउट भएका थिए ।
भारतका प्रमुख खेलाडी जित्नै पर्ने खेलमा लगातार असफल हुँदै आएका छन् । खेल जित्नको लागि मैदानमा प्रदर्शन हुनुपर्छ । तर भारतीय खेलाडीको नाम कागजी रुपमा ठूला भएपनि दबाबको खेलमा प्रदर्शन सधैं खराब रहने गर्दछ । जुन पुन घातक बन्नसक्छ ।
१. बायाँ हाते बलर सामू निरीह
भारतीय क्रिकेटको वर्तमान समयको सबैभन्दा ठूलो समस्या बायाँ हाते बलरको सामना गर्न नसक्नु हो । भारतले पछिल्लो समय गुमाएका लगभग सबै ठूला प्रतियोगिता विपक्षी बायाँ हाते बलर नायक बनेका छन् । भारतीय ब्याटरको लागि बायाँ हाते बलर सधैं भिलेन बनेका छन् ।

शीर्ष तीन ब्याटर रोहित, राहुल र कोहलीको लागि बायाँ हाते बलरको इनिङ स्वीङबल मुख्य कमजोरी हो । २०१७ को च्याम्पियन्स ट्रफीको फाइनलमा मोहम्मद आमिर, २०१९ को विश्वकपको सेमिफाइनलमा ट्रेन्ट बोल्ट, २०२१ को विश्वकपमा पाकिस्तानका शाहिन शाह अफ्रिदी नै नायक बनेका थिए ।
गत जुलाईमा इंग्ल्यान्डका बायाँ हाते बलर रिस टोप्लीले भारतविरुद्ध दोस्रो ओडिआईमा ९.५ ओभरमा २ मेडनसहित २४ रन खर्चेर ६ विकेट लिएका थिए । २ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको भारत १ सय ४६ रनमा अल आउट भएको थियो ।
गत अगष्टमा वेस्टइन्डिजका तीव्र गतिका बायाँ हाते बलर ओबेद म्याकोयले भारतलाई १ सय ३८ रनमा अल आउट गर्न दोस्रो टि२० आई खेलमा ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर ६ विकेट लिएका थिए ।

यसै एसिया कपमा पनि भारतलाई हराउन श्रीलंका बायाँ हाते तीव्र गतिका बलर दिलशान मदुशनकाले ४ ओभरमा ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिएका थिए । यो समस्या भारतलाई लगातार भारी पर्दै आएका छन् ।
अष्ट्रेलियामा मिचेल स्टार्क, इंग्ल्यान्डमा रिस टोप्ली, पाकिस्तानमा शाहिन अफ्रिदी, न्युजिल्यान्डमा ट्रेन्ट बोल्ट, दक्षिण अफ्रिका वेन पार्नेल र बंगलादेशका मुश्ताफिजुर रहमान जस्ता हरेक टोलीका बायाँ हाते बलर पुन: घातक बन्न सक्छन् । भारतको शीर्षक्रम ब्याटिङमा बायाँ हाते खेलाडी नहुँदा टोली अझ समस्यामा पर्न सक्छ ।
एजेन्सीको सहयोगमा भुपेन्द्र जिसीको प्रस्तुति
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]